IME Life New
GBIME

कहाँ पुग्यो नेपालमा बीमांकी उत्पादन कार्यक्रम ?

SPIL
Global College
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमांकी अभाव नेपाली बीमा क्षेत्रको नौलो समस्या होइन। नेपाली बीमा क्षेत्रले आधा शताब्दी बढी उमेर पार गरे पनि अझै पनि दक्ष बीमांकीको खोजीमा बर्सेनि बीमा कम्पनीहरु भौँतारिरहेका हुन्छन्। वार्षिक साधारणसभा समयमै गर्न नसक्नुको स्थायी बहाना नै बीमांकीको अभाव हुने गरेको छ। त्यसो त हालसम्म नेपालमा एकजना पनि बीमांकी नहुनु र यस जनशक्तिका लागि विदेशीकै भर पर्नुपर्ने भएकाले यो समस्या सधैँ बलझिरहेको हो।

बीमा क्षेत्रको यो दीर्घकालीन समस्या बुझेर त्रिभुवन विश्वविधालयले २०७३ सालमा गणित विज्ञान स्कुलको स्थापना गरी बीमांकी विज्ञान विषयको अध्यापनको सुरुआत गरेको थियो।

Crest

कसरी प्राप्त हुन्छ बीमांकीको उपाधि ?

बीमांकी अभावको कुरा गरिरहँदा यो उपाधि कसरी प्राप्त हुन्छ अर्थात् कोही कसरी बीमांकी बन्छ भन्ने कुरा बुझ्न जरुरी छ। ‘बीमांकी’ विश्वविद्यालयबाट प्रदान गरिने उपाधि होइन। यो चार्टर्ड एकाउन्टेन्टजस्तै एक व्यावसायिक योग्यता हो। जुन मान्यता प्राप्त व्यावसायिक संस्थाहरुले प्रदान गर्दाछन्। त्यसैले विश्वविद्यालयबाट स्नातक वा स्नातकोत्तर उपाधि हासिल गर्नुले मात्र व्यक्तिलाई बीमांकी बनाउँदैन। बरु मान्यता प्राप्त व्यावसायिक संस्थाहरुले सञ्चालन गर्ने सम्पूर्ण व्यावसायिक परीक्षाहरु उत्तीर्ण गरेपछि मात्र कुनै व्यक्तिलाई बीमांकीको उपाधि दिइन्छ। जसलाई फेलो बीमांकी भनिन्छ।

विकसित देशहरुको आफ्नै व्यावसायिक बीमांकी संस्थाहरु हुन्छन्। जसमध्ये बेलायतको इन्स्टिच्युट अफ फ्याकल्टी अफ एक्चुअरिज र संयुक्त राज्य अमेरिकाको सोसाइटी अफ एक्चुअरिज (एसओए) विश्वप्रसिद्ध संस्थाहरु हुन्। बीमांकीको उपाधि हासिल गर्ने दिनुपर्ने परीक्षा र अरु मापदण्ड यी संस्थापिच्छे फरक हुन जान्छ। जस्तै– बेलायतको संस्थाबाट बीमांकी बन्न जम्मा १३ वटा परीक्षा उत्तीर्ण गरी ३ वर्षको कार्यानुभव हुनुपर्छ। त्यस्तै अमेरिकाको संस्थाबाट भने १० वटा मुख्य परीक्षा र अन्य केही सहायक परीक्षा उत्तीर्ण गर्नुपर्ने हुन्छ।

त्रिभुवन विश्वविध्यालयले स्नातक तहमा बेलायतको इन्स्टिच्युट अफ फ्याकल्टी एक्चुअरिजअन्तर्गतको पाठ्यक्रम अध्यापन गराउँदछ। जसमा जम्मा १३ वटा विषयमध्ये सुरुआती ७–८ वटा विषयको अध्यापन गराइन्छ। विश्वविध्यालयले पाठ्यक्रम अध्यापन गराए पनि व्यवसायक परीक्षामा विद्यार्थीहरु स्वयंले आफूलाई पायक पर्ने विषय छानेर सहभागी हुनुपर्ने हुन्छ। विश्वविद्यालयले प्रादन गर्ने स्नातकको उपाधिसँग व्यावसायिक परीक्षाको सरोकार हुँदैन। कोही स्नातक पार गर्दा ६–७ वटासम्म परीक्षा उत्तीर्ण गर्छन् भने कोहीले एउटा पनि व्यावसायिक परीक्षामा सामेल नभई स्नातकमात्र पनि पार गर्न सक्छन्। स्नातक तह उत्तीर्ण गर्दा विद्यार्थीले औसतमा ४–५ वटा परीक्षा उत्तीर्ण गरिसकेका हुन्छन्।

साधारणतया सुरुआती केही परीक्षा उत्तीर्ण गरी बीमांकी विषयको विद्यार्थीले आफ्नो करिअर सुरु गर्दछन्। जसअन्तर्गत बीमा कम्पनी वा बीमांकीय फर्ममा आबद्ध भएर काम गर्दै बाँकी परीक्षामा पनि सामेल हुने गर्दछन्।

नेपालमा अहिलेको अवस्था

एक त निकै कठिन विषय, त्यसमा पनि धेरै तहको परीक्षा उत्तीर्ण गर्नुपर्ने अनि जागिर गर्न थालेपछि पढ़ाइ र जागिर सँग–सँगै लानुपर्ने। बीमांकी विषयको यही जटिल बाटोले गर्दा बीमांकीको उपाधि हासिल गर्न वर्षौं लाग्छ। गणित विज्ञान स्कुलकै कुरा गर्ने हो भने पनि पहिलो ब्याचले अध्ययन गर्न सुरु गरेको झन्डै ९ वर्ष पूरा हुन लाग्यो तर अहिलेसम्म पनि कोहीले फेलो बीमांकीको उपाधि हासिल गरेका छैनन्। औँलामा गन्न सक्ने विद्यार्थी उपाधिको नजिक छन्।

स्मरण रहोस् नेपाल बीमा प्राधिकरणको निर्देशनअनुसार नेपाली बीमा कम्पनीको बीमांकीय मूल्यांकन गर्न होस् या बीमा योजना तयार गर्न फेलो एक्चुअरी भइसकेपछि पनि २ वर्षको कार्यानुभव आवश्यक पर्दछ। त्यसैले नेपाली बीमांकीले नेपाली बीमा बजारमा फेलो एक्चुअरीका रुपमा काम गर्न अझ धेरै समय प्रतीक्षा गर्नुपर्ने देखिन्छ। फेलो बीमांकीलाई अझ समय लागे पनि नेपाली बीमा क्षेत्रमा विद्यार्थी बीमांकी अर्थात् बीमांकीय विश्लेषकले भने ठूलो टेवा दिएका छन्।

बीमांकीय विश्लेषक

नेपाल बीमा प्राधिकरणले कम्तीमा गणित विज्ञान विषयमा स्नातक उत्तीर्ण गरेको र ३ वटा व्यावसायिक परीक्षा उत्तीर्ण गरेको व्यक्तिलाई बीमांकीय विश्लेषकको दर्जा दिएको छ र सबै जीवन बीमा, निर्जीवन बीमा, पुनर्बीमा साथै लघु बीमा कम्पनीमा कम्तीमा एकजना हुनैपर्ने प्रावधान राखेको छ।

विशेषगरी जीवन बीमा क्षेत्रमा बीमांकीय विश्लेषकहरुले ठूलो भूमिका निर्वाह गरिरहेका छन्। बीमा कम्पनीमा बीमांकीय विश्लेषक नहुँदा र हुँदामा धेरै नै फरक आएको बीमा क्षेत्रका जानकारहरु र बीमा कम्पनीका उच्च पदस्थ व्यक्तिहरु स्वयं बताउँछन्। बीमा योजना तयार गर्ने, बीमांकीय मूल्यांकन गर्ने र नियमकले माग्ने अन्य आवश्यक प्रतिवेदन तयार पार्न नियमक निकायको स्वीकृतिमा कम्पनीले अनिवार्य रुपमा एकजना फेलो बीमांकी नियुक्त गर्नुपर्ने हुन्छ, जसलाई नियुक्त बीमांकी भन्ने गरिन्छ। नेपालमा हाल कोही पनि फेलो बीमांकी नभएको अवस्थामा विदेशी फेलो बीमांकीहरुलाई बीमा कम्पनीले आफ्नो नियुक्त बीमांकी बनाउँछन्। जो विदेशमा नै रहेर नेपाली कम्पनीका लागि काम गर्दछन्।

पहिले बीमांकीय विश्लेषक नहुँदा बीमा कम्पनीहरु पूर्णतः नियुक्त बीमांकीको भरमा पर्नुपर्ने हुन्थ्यो र सामान्य कुरामा समेत नियुक्त बीमांकीलाई गुहार्नुपर्ने हुन्थ्यो। अझ कम्पनीको व्यवस्थापन तहमा नै बीमांकीय विषयको आधारभूत ज्ञान नहुँदा नियुक्त बीमांकीले भनेका कतिपय कुरा बीमा कम्पनीले नबुझ्ने र कतिपय अवस्थामा बीमा कम्पनीले बीमांकीलाई स्पष्ट निर्देशन दिन नसक्ने वातावरण थियो। यस्तो अवस्थामा सामान्य कार्य सम्पन्न गर्न पनि धेरै समय खर्चिनुपर्ने स्थिति त थियो नै बीमांकीयले भूलवश केही गल्ती गरे पनि प्रतिवेदन हेर्ने सामान्य ज्ञानसमेत नहुँदा बीमांकीको वाक्य ब्राह्म वाक्य हो भने जसरी जे लेखे पनि ग्रहण गर्नुपर्ने स्थिति थियो। यसलाई अर्को तरीकाले भन्न पर्दा बीमा कम्पनी र बीमांकीको ज्ञान तथा सहकार्यमा ठूलो खाड़ल थियो। त्यही खाड़लमा पुल बन्ने काम बीमांकीय विश्लेषकहरुले गरे। जसले गर्दा समग्र कम्पनीको बीमांकीय कार्य प्रभावकारी त बनेको छ नै बीमा कम्पनीका व्यवस्थापकहरुले पनि बीमांकीको आधारभूत ज्ञान प्राप्त गरेका छन्।

अहिले जीवन बीमा कम्पनीमा बीमांकीय विश्लेषकहरुले ठूला प्रोजेक्टको नेतृत्व गरिरहेका छ। आरबीसीमा आधारित बीमांकीय मूल्यांकन यसको पछिल्लो उदाहरण हो। नियुक्त बीमांकीसँग सहकार्य गर्ने, नियामक निकायले माग्ने प्रतिवेदन तयार गर्न सघाउने, नियुक्त बीमांकीले भनेका कुराहरु उच्च व्यवस्थापनलाई सरल ढंगबाट बुझाउने र कम्पनीले लिने ठूला निर्णयमा सहभागी हुने बीमांकीय विश्लेषकहरुको नियमित कार्यजस्तै हुने गरेको छ।

नेपाली विश्वविद्यालयको अन्य पाठ्यक्रममा बीमा विषय नै नहुने हुँदा अरु व्यवस्थापन विषय पढेर बीमा क्षेत्र प्रवेश गर्नेलाई बीमासम्बन्धी केही पनि प्रारम्भिक ज्ञान नहुने र सबै कुरा जागिरको अनुभवबाट मात्र सिक्ने अवस्था हुन्छ। तर, बीमांकीय विषय पढेर आएका विद्यार्थीमा बीमासम्बन्धी पूर्वजानकारी त हुन्छ नै बीमा योजनाको प्राइसिङदेखि बीमांकीय मूल्यांकनसम्मको आधारभूत ज्ञान हुन्छन्। जसले गर्दा प्राविधिक कुरामा त अघि हुन्छन् नै छोटो समयमै कम्पनीको समग्र विषयको जानकार भई कम्पनीको रफ्तार पक्रिन्छन्।

अहिले बीमा क्षेत्रमा बीमा योजनासम्बन्धी गोष्ठी होस् या बीमांकीय मूल्यांकनसम्बन्धी तालिम अधिकांश बीमांकीय नै भेटिन्छ। प्रायः यस्ता कार्यक्रम बीमा कम्पनीहरुको भेलाभन्दा पनि गणित विज्ञान स्कुल पढ्ने सहपाठीहरुको जमघटजस्तो देखिन्छ। बीमा क्षत्रको टेक्निकल कुरा आउनेबित्तिकै कम्पनीले बीमांकीय विश्लेषककै मुख ताक्छन्। बीमांकीय विश्लेषकहरु नियुक्त हुन थालेदेखि बीमा कम्पनीका उच्च व्यवस्थापनमा बस्नेहरुमा पनि बीमांकी विषयको आधारभूत ज्ञान बढेको पाइन्छ। जसले गर्दा गरेक कम्पनीले निर्णय लिँदा बीमांकी दृष्टिकोणबाट हेर्ने गरेका छन्, जुन अवस्था पहिला कहिले पनि थिएन। यसरी अहिलेको अवस्थामा बीमांकीय विश्लेषकहरु विशेषगरी जीवन बीमा कम्पनीको एउटा दरिलो खम्बा बनेर उभिएका छन्।

प्रायः बीमांकीय विश्लेषक असन्तुष्ट

केही समयअघि नेपाल बीमा प्राधिकरणले बीमांकीय विश्लेषक र उनीहरुको विभाग प्रमुखको सर्भे गरी यसको प्रतिवेदन आईएफओएका अध्यक्षको नेपाल भ्रमणको मौका पारी एक कार्यक्रम आयोजना गर्दै प्रस्तुत गरेको थियो। जसमा धेरै विद्यार्थीहरु आफूले काम गर्ने कम्पनीको वातावरणबाट असन्तुष्ट रहेको प्रतिवेदनले देखाएको थियो। बीमांकीय विद्यार्थीहरुलाई जागिरमा राखिसकेपछि उनीहरुको पढ़ाइलाई सघाउने अन्तर्राष्ट्रिय अभ्यास नै हो। जसअन्तर्गत विद्यार्थीलाई परीक्षा तयारीका लागि बिदाको व्यवस्था र परीक्षा खर्चको भरणपोषण त सामान्य सुविधा नै हो। तर, अधिकांश नेपाली बीमा कम्पनीले यो सुविधा प्रदान गर्दैनन्, अझ परीक्षाको बेला पर्याप्त बिदा दिनसमेत हिच्किचाउँछन्।

अर्को असन्तुष्टि पद र तलबसँग रहेको उक्त प्रतिवेदनले देखाएको थियो। कम्पनीको निकै संवेदनशील कार्य गर्नेदेखि व्यवस्थापकीय निर्णयमा समेत ठूलो भूमिका निर्वाह गरे पनि उनीहरुलाई सहायक सरहको पदमा नै राखेर कम्पनीहरुले फाइदा उठाइरहेका छन्। निकै काममात्र बीमांकीय विषयलेश्क अधिकृतसरहको पदमा रहेका छन्। बीमांकीय विषयलेश्कको योगदान, सीप, अनुभव, उत्तीर्ण परीक्षा संख्या हेरेर पद तथा सेवासुविधा दिनुपर्नेमा अनेक बहाना बनाउँदै कम्पनीले बढुवा नगर्ने र आवश्यक सेवासुविधा प्रदान नगर्ने गरेको उनीहरुको गुनासो छ। एकातर्फ निकै महँगो परीक्षा शुल्क आफैँले तिर्नुपर्ने अर्कोतर्फ कामको तुलनामा कम सेवासुविधा प्राप्त हुने हुँदा उनीहरुको असन्तुष्टि बढेको हो।

यता बीमा कम्पनीले भने बीमांकीय विश्लेषकहरुले लामो समय उक्त कम्पनीमा काम गर्छु भनेर प्रतिबद्धता नगर्ने र छोटो समय काम गरेर विदेश जाने प्रवृत्ति रहेको हुने हुँदा चाहेर पनि बीमांकीय विश्लेषकहरुमाथि लगानी गर्न नसकेको बताउँछन्। अझ कति कम्पनीले त बीमांकीय विश्लेषकहरुले कम्पनीले दिन सक्नेभन्दा बढी सेवासुविधा माग्ने गरेको आरोप पनि लगाउँदै आएका छन्।

डर लाग्दो पलायन

नेपालमा हरेक क्षेत्रबाट पलायन बढ्नु अब नौलो कुरा रहेन। खेलाडी हुन् या डाक्टर, इन्जिनियरलगायत राम्रो मानिएका पेसाकर्मी देश छोड्ने लहड उच्च छ। उनीहरुको मुख्य गुनासो पर्याप्त अवसर नभएको भन्ने हुन्छ। बीमांकीय क्षेत्रमा अहिलेसम्म कोही बीमांकी नभएको र अवसर नै अवसर रहेको जस्तो देखए पनि हालको स्थितिले भने ठीक उल्टो संकेत गर्दछ। देशमा बीमांकी नभएको अवस्थामा दक्ष जनशक्ति उत्पादन गर्ने भन्दै थालिएको यो कार्यक्रमले दक्ष जन शक्ति त उत्पादन गर्यो तर विडम्बना अर्काकै देशको लागि। हालसम्म बीमांकीय क्षेत्रमा जति पनि राम्रो गर्ने विद्यार्थी छन्, अधिकांश बहिरिसकेका छन् भने बाँकी रहेका केही पनि बाहिरिने तर्खरमै छन्। नेपाली बीमा कम्पनीमा उनीहरुलाई २ वर्ष टिक्न पनि मुश्किल छ। अझ भन्ने हो भने नेपाली कम्पनी त उनीहरुका लागि विदेशको तयारी गर्ने थालोजस्तो बनेको छ। कम्पनीमा केही अनुभव हासिल गरिसकेका विदेशिन छन् र नयाँ विद्यार्थी आएर सुरुबाट सिक्न थाल्छन् र उनीहरु पनि केही समयपछि विदेशिने छन्। अहिले बीमा क्षेत्रमा यही चक्र चलिरहेको छ। केही आफ्नै रहरले उच्च शिक्षा हासिल गरी विदेश बस्ने सोचले पलायन हुँदैछन् भने कोही देशमै बस्न रहर हुँदाहुँदै पनि बीमा कम्पनीले बेवास्ता गरेकै कारण पलायन हुन बाध्य छन्। यस पेसाको विश्वभर नै अत्याधिक माग भएको हुँदा यहाँ उत्पादन जनशक्ति जहाँ पनि सजिलै बिक्छन्। अझ अमेरिकालगायत विकसित देशहरुले पनि अन्य विषयको विद्यार्थीभन्दा यस विषयलाई मान्यता दिने हुँदा भिसा लाग्न पनि केही सहज छ। जसले यसको पलायनमा झन बल थपिरहेको छ।

हालको अवस्थामा नेपाली कम्पनीहरुले यस पेसालाई उचित कदर नगर्दा देशमै बस्छु भन्नेहरु पनि पलायन हुन बाध्य त छन् नै बीमा कम्पनी आफैँले पनि दीर्घकालीन रुपमा कम्पनीलाई सेवा दिने जनशक्ति तयार गर्न सकिरहेको छैन। तसर्थ, देशमा बीमांकीजस्तो दक्ष जनशक्ति उत्पादन गर्ने हो भने बीमा कम्पनीहरुले बीमांकीय विश्लेषकहरुलाई सेवासुविधामा कन्जुस्याइँ नगरी आफ्नो भविष्यको नियुक्ति बीमांकीका रुपमा ग्रुम गर्न जरुरी छ भने बीमांकीय विश्लेषकहरुले पनि बीमा कम्पनीमा लामो सेवाको प्रतिबद्धता गरी दीर्घकालीन सोच लिएर अघि बढ़्न जरुरी छ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS