काठमाडौं । हरिप्रसाद खरेल हाल सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीमा एजेन्सी म्यानेजरका रुपमा कार्यरत छन्। उनी सिटिजन लाइफको टोखा शाखा कार्यालयमा कम्पनीका प्रतिनिधि भएर अभिकर्ताका रुपमा काम गर्दै आइरहेका छन्। फाइनान्समा स्नाकोत्तर गरेका हरि कुनै संकोचबिना नै अभिकर्ता पेसालाई अँगालेर बीमा व्यवसायमा जमेका छन्।
बीमाका फाइदा र लाभका बारेमा जनतालाई बुझाएर बीमा बजारमा छुट्टै छाप बनाएका हरि बीमा शिक्षा र सचेतना लिएर साथीभाइ तथा इष्टमित्रसम्म पुग्छन्। यतिमात्रै नभएर हरिले बीमा बुझाउनकै लागि साथीभाइसँग भेट हुँदा क्याम्पेनसमेत सञ्चालन गर्छन्। चिया पसलमा होस् वा बाटोमा हिँडिरहेको अवस्थामा होस् बीमाबारेमा हरेक मानिसलाई ज्ञान दिन उनी कुनै कसर बाँकी राख्दैनन्।
हरेक काम र पेसालाई सम्मान गर्ने हरि बीमामा मात्रै आबद्ध नभई विभिन्न सामाजिक संघसंस्था र सहरकारीमा समेत जोडिएका छन्। उनी रोयल उमंग ग्रुप अफ इन्भेस्टमेन्ट कम्पनीका चियरम्यान, लायन्स क्लब र विभिन्न सामाजिक संस्थामा जोडिएका छन्। यतिमात्रै नभएर हरिले आफ्नै अनलाइन व्यवसाय (कोजी अनलाइन गिफ्ट) पनि सञ्चालन गर्दै आइरहेका छन्।
२०४९ सालमा गुल्मीको मुसीकोट नगरपालिका–१ मा जन्मिएका हरिको बाल्यकाल सामान्य बित्यो। सामान्य किसानी परिवारमा हुर्किएका हरिले घाँस, दाउरा, मेलापातमा बुवा–आमालाई सघाउँदै स्कुले जीवन बिताए। हरिले एसएलसीसम्मको अध्ययन मुसीकोटबाटै पूरा गरे। प्सलसटुको अध्ययन गर्न भने उनी सदरमुकाम तमघास झरे।
पढाइसँगै केही काम पनि गर्छु भन्ने उद्देश्यले सदरमुकाममा झरेका हरिको सपना भने १ वर्ष नहुँदै सेलाए। सदरमुकाममा सानो बजार, स्रोत र साधानको कमी न केही जागिर पाउने आश न केही व्यवसाय गर्छु भन्ने नै आँट। त्यसैले अब हरिलाई राजधानी पस्नुका कुनै विकल्प थिएन। त्यही माथि घरको जिम्मेवारी र भविष्यको चिन्ता।
यसबीच हरि कक्षा ११ अध्ययन गर्दागर्दै सपनाको सहर काठमाडौंतिर होमिए। त्यसपछि हरिले जसोतसो दुःख गरेर प्लसटुसम्मको अध्ययन काठमाडौंबाट पूरा गरे।

प्लसटुसम्मको अध्ययन पूरा गरेपछि हरिले स्नातक पहिलो वर्ष अध्ययन गर्दै न्युरोडको जुत्ता पसलमा काम गर्ने अवसर पाए। उनले त्यो काम ६ महिनामात्रै गरे। त्यसपछि ब्याचलर पढ्दा–पढ्दै सरकारी जागिरको भोकले उनी पुलिसमा जागिर खाने तयारीमा लागे। अनि त्यहाँ पनि अन्तिममा लिखितमा गएर फ्याँकिए।
त्यसपछि हरि २०७२ सालबाट सहकारी संस्थामा जोडिए। सहकारीमा जागिर गर्दै पढाइलाई निरन्तरता दिए। सुरुआती समयमा काम गरेको सहकारी संस्थामा बजार प्रतिनिधि भएर उनले २ वर्ष काम गरे। राम्रो कार्य प्रदर्शन गरेपछि उनले सोही सहकारीमै ब्रान्च सहायक इन्चार्ज भएर काम गर्ने अवसर पाए।
जहाँ राम्रो अवसर–अवसर पाइन्छ, मानिसहरु त्यहीँ जाने गर्दछन्। त्यस्तै हरिले पनि २०७५ सालमा अर्को सहकारी चम्पादेवी बचत तथा ऋण सहकारी संस्थामा कर्जा अधिकृत भएर काम गर्ने मौका पाए। त्यसपछि यसै सहकारीमा सहायक व्यवस्थापक र व्यवस्थापक हुँदै अहिले यसै सहकारीमा सचिवको जिम्मेवारीमा रहेर काम गर्दै आइरहेका छन्।
यसरी जोडिए बीमामा
सहकारी संस्थामा काम गर्ने दौरानमै हरिसँग चिनजान भएको सहकारी संस्थामै काम गर्ने रमा पन्तको गाइडले बीमा क्षेत्रमा प्रवेश गरे। ‘रमा पन्त म्यामले बीमामा जोडिएर काम गर्नुस्, हजुरलाई राम्रो हुन्छ। सहकारीमा काम गर्ने मान्छेले बजारलाई पनि बुझेको हुन्छन्, समाजसँग प्रत्यक्ष जोडिएका कारण तपाइँलाई बीमा गराउन पनि सहज हुन्छ। अभिकर्ता पेसा धेरै राम्रो छ। समय मिलाएर फुर्सदको समयमा गर्नुस् सामाजिक हितमा जोडिएको पेसा भएकाले राम्रो छ’ भनेपछि बीमा नबुझेका हरिलाई ‘कस्तो रहेछ गर्छु’ भन्ने उत्सुकता भयो। उनले २०७५ सालमा सिटिजन लाइफको कान्तीपथ शाखाबाट लाइसेन्स लिएर काम गर्न थाले।
लाइसेन्स लिएपछि हरिले अभिकर्ताको क्षमता अभिवृद्धि तालिम पनि लिए। तालिम लिएपछि उनलाई काम गर्न सक्छु कि भन्ने आँट जाग्यो। काम गर्दै जाने सिलसिलामा हरिलाई केही निराशपन पनि उत्पन्न भयो। गाइड गर्ने मान्छेको कमी भएर पनि होला हरिले ‘गर्न सक्दिनँ’ भनेर पछि हटे।
त्यसपछि हरि सरकारीमै काम गर्ने क्रममा २०७७ सालमा आफ्ना साथीको प्रिमियम तिर्न गएको समयमा हाल सिटिजन लाइफका टोखा शाखाका ब्रान्च म्यानेजर राजकुमार न्यौपानेसँग भेट भयो। त्यो भेट नै हरिको सफलताको टर्निङ प्वइन्ट बन्यो। त्यसपछि हरि र शाखा प्रबन्धकको निरन्तर संवाद र फलोअप हुँदै गयो। शाखा प्रमुखले काम गर्न सकिन्छ भन्ने आँट र भरोसा दिए। अनि २०७७ सालबाट हरिले फेरि सिटिजन लाइफमै ब्याक भएर आज यसै पेसाबाट उन्नति र प्रगति गर्दै आएका छन्।

हरिले बीमा गराउन जाँदा बजार नियाल्ने क्रमका अनुभव सँगाल्दै भने, ‘अझै पनि मानिसहरुमा बीमा बुझाइ र बीमा साक्षरता कम नै छ। बीमा बुझोहरुले पनि बीमा गर्न मान्दैनन्। त्यो भनेको बीमालाई राम्रोसँग नबुझ्नु नै हो। बीमाको पहुँच विस्तारका लागि सरकारीस्तरबाटै कदम चाल्नुपर्छ। बीमा सचेतना फैलाउनका लागि बीमा कम्पनी, बीमा प्राधिकरण र अभिकर्ताहरुले आ–आफ्नो ठाउँबाट सक्दो काम गरिरहेका छन्। तर, अझै पनि सोचेजस्तो नजिता बीमा क्षेत्रले पाउन सकेको छैन।’
‘बीमा प्राधिकरणले अभिकर्ता लाइसेन्सका लागि प्लसटु अनिवार्य हुनुपर्ने व्यवस्था गरेको छ, यो बीमा क्षेत्रका लागि राम्रो कदम हो। किनकि बीमाप्रति साक्षर नभएका, बीमा नबुझेका र पढ्न नै नआउने मानिसलाई हचुवाको भरमा अभिकर्ता लाइसेन्स दिएर पनि बीमा क्षेत्रमा हुनुपर्ने सुधार भइरहेको थिएन। बीमाप्रति मानिसहरु भ्रममा थिए’, हरिले थपे, ‘अहिले बीमा बुझेर, पढ्न सक्ने, बुझ्न सक्ने योग्यता भएकालाई लाइसेन्स वितरण गर्ने प्रक्रियाले पनि बीमा क्षेत्रमा राम्रो जमात बन्छ कि भन्ने लाग्छ।’
‘बीमा अभिकर्ता पेसाप्रति म धेरै सन्तुष्ट छु, हरिले भने, ‘यो पेसा बुझेकाहरुका लागि धेरै राम्रो छ। आफूलाई पनि राम्रो र अरुलाई पनि सुरक्षाका लागि सचेतना दिनु नराम्रो काम होइन। म आफू पनि समाजसेवाका कामहरु गर्न रुचाउने व्यक्ति हुँ। त्यही भएर पनि अभिकर्ता सामाजिक हितमा जोडिएको पेसा भएकाले म धेरै खुसी छु।’

यस पेसामा प्रवेश गरेपछि आफूमा धेरै कुरा परिवर्तन भएको हरिले महसुस गरेका छन्। ‘यस पेसामा लागेपछि आर्थिक रुपमा झनै अब्बल भएको छु। सामाजिक व्यक्तित्वमा विकास भएको छ’, उनले भने, ‘विभिन्न ठाउँ र समाजका मानिसलाई बुझ्ने मौका पाएको छु। हरेक तहका मानिसलाई प्रत्यक्ष भेट्ने मौका पाएको छु। साँच्चै भन्दा बीमा अभिकर्ता पेसाले मलाई नसोचेको खुसी दिएको छ। यसका लागि म कम्पनीप्रति सधैँ कृतज्ञ छु।’
हरिको विचारमा बीमा भनेको बचत र सुरक्षा दुवै हो। ‘बीमा सबैका लागि आवश्यक कुरा हो तर धेरै पैसा हुनेहरुका लागिभन्दा पनि थोरै आम्दानी हुनेहरुका लागि धेरै महत्वपूर्ण छ’, हरि भन्छन्, ‘धौधौ गरेर आफ्नो जीविकोपार्जन गरिरहेकाहरुलाई अप्ठायारो परेको समयमा कोही हुँदैनन्। त्यो कोही नहुने अवस्थामा त बीमाले राहात प्रदान गर्छ। त्यसैले टन्न पैसा हुनेका लागिभन्दा पनि थोरै आम्दानी भएका सामान्य व्यक्तिका लागि बीमा धेरै आवश्य छ।’
यस पेसामा आउने नयाँ अभिकर्ताहरुलाई सुझाव दिँदै हरिले भने, ‘बीमा भनेको के हो ? बीमाले के काम गर्छ ? बीमाका बारेमा सामान्य ज्ञान र विवेक लिएर आउनुहोस्। कम्पनी र कम्पनीका पोलिसीका बारेमा थाहा पाएर बजारमा जानुहोस्। भ्रममा नबिकेर सत्यको बाटोमा हिँड्नुहोस्। यस क्षेत्रमा राम्रो मेहनत गर्न सक्यो भने विदेशी भूमिमा जानुपर्दैन।’
कम्पनीले दिने हरेक लक्ष्यलाई पूरा गर्न सधैँ तयार रहने गरेको हरिको भनाइ छ। उनले गोल्ड क्लब, सिल्भर क्लब, हिरो अफ द मन्थ, हिरो अफ द डेलागयतका धेरै लक्ष्य पूरा गरी अवार्डहरु पाइसकेका छन्। यतिमात्रै नभएर हरिले २०२६ का लागि एमडीआरटीको लक्ष्य समेत हासिल गरेका छन्। कम्पनीका विभिन्न स्किम पूरा गरी उनी २ वटा देश घुम्ने मौका पाएको बताउँछन्। उनले थपे, ‘नेपालका त कयौँ ठाउँ घुम्ने अवसर प्राप्त गरेँ।’












