IME Life New

सामाजिक सञ्जालको हल्ला र जीवन बीमाको वास्तविकता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

  • सौरभ ढकाल

बाढीले घर बगाएपछि उठेको एउटा प्रश्न– ‘बीमा साँच्चै आवश्यक रहेछ तर हामीले यसको अर्थ कहिले बुझ्ने ?’ हल्ला, आरोप र सनसनीभन्दा माथि उठेर नेपालको बीमा प्रणालीलाई तथ्यको ऐनामा महसुस गर्ने बेला भइसकेको छ ।

बिहानसम्म उसको घर थियो। साँझ पर्दासम्म केही बाँकी रहेन। बाढीले घरमात्र बगाएन। वर्षौँको कमाइ, छोराछोरीका किताब, भान्साका सामान र भविष्यका योजनासमेत पानीसँगै बगाएर लग्यो। तर, धन्न बाँकी थियो, उसको परिवार।

Esewa
Crest

त्यो रात छोराछोरी डरले रोइरहेका थिए। श्रीमतीको आँसु रोकिएको थिएन। ऊ भने मौन भएर बगेको घरतिर हेरिरहेको थियो।

अचानक मनमा एउटा प्रश्न आयो। घरको बीमा गरेको भए, आजको यो क्षति केही कम हुन्थ्यो कि ? अनि अर्को प्रश्नले उसलाई झन् गहिरो गरी छोयो। यदि म नै यो बाढीमा बाँचेको थिइनँ भने यी छोराछोरीको भोलि के हुन्थ्यो ? त्यो रात उसले पहिलोपटक बुझेछ कि बीमा विपत्ति रोक्ने साधनमात्र होइन विपत्तिपछि फेरि उभ्याउने बलियो साहारा रहेछ।

तर, प्रश्न अझै बाँकी छ । हामीले बीमाको अर्थ विपत्ति आएपछि मात्र बुझ्ने हो कि विपत्ति आउनुअघि नै ?

विपत्ति आउनुअघि बीमा खर्चजस्तो देखिन सक्छ; विपत्ति आएपछि त्यही बीमा आर्थिक सुरक्षाको आधार बन्न सक्छ।

आज यहीँबाट नेपालको बीमाबारे हाम्रो बहस सुरु गरौँ ।

नेपालको बीमा बजार वास्तवमा कति ठूलो छ ? यहाँ भावना होइन, तथ्य हेरौँ।

नेपाल बीमा प्राधिकरणका अनुसार आर्थिक वर्ष २०८०।८१ मा जीवन बीमा व्यवसायको कुल बीमाशुल्क संकलन रु. १५८.११ अर्ब थियो। आर्थिक वर्ष २०८१।८२ मा यो बढेर रु. १८२.२७ अर्ब पुगेको छ। अर्थात् एक वर्षमै जीवन बीमाको कुल बीमाशुल्क संकलन १५.२८ प्रतिशतले बढेको देखिन्छ। त्यही अवधिमा जीवन र निर्जीवन दुवै समेट्दा कुल बीमाशुल्क संकलन रु. १९८.०५ अर्बबाट रु. २२७.१८ अर्ब पुगेको छ।
अब प्रश्न गरौँ ।

नेपालको वित्तीय प्रणालीमा बीमाको भूमिका अब सानो विषय रहेन। अझ रोचक तथ्य, बीमा भनेको पोलिसी बेचेर पैसा थन्क्याउने व्यवसाय मात्र होइन । जीवन बीमा दीर्घकालीन वित्तीय व्यवसाय हो । बीमितहरुबाट संकलित रकमको ठूलो हिस्सा दीर्घकालीन दायित्वसँग सम्बन्धित हुन्छ र नियामकीय लगानी व्यवस्थाभित्र रहेर मात्रै परिचालन हुन्छ ।

बीमा कम्पनीको वित्तीय स्वास्थ्यको अर्थ केवल आज कति पोलिसी बिक्री भयो ? भन्ने मात्र होइन। हेर्नुपर्ने कुराहरु धेरै छन् । कम्पनीको दायित्व कति छ ? लगानी कति छ ? दाबीको अवस्था कस्तो छ ? पुँजी पर्याप्तता कस्तो छ ? सोल्भेन्सी रेसियो कस्तो छ ? व्यवस्थापन कस्तो छ ? आम्दानी र खर्चको संरचना कस्तो छ ? तसर्थ कुनैपनी बीमा कम्पनीको मूल्यांकन सामाजीक सञ्जालको एउटा पोस्ट वा एउटा सनसनीपूर्ण समाचारबाट होइन, वित्तीय विवरण र नियामकीय सूचकबाट गर्नुपर्छ ।

नेपाल बीमा प्राधिकरणले बीमा क्षेत्रका वित्तीय विवरण सार्वजनिक गर्दै आएको छ। आर्थिक वर्ष २०८२।८३ को जीवन बीमा क्षेत्रको वित्तीय विवरणसमेत अब सार्वजनिक हुन लागेको छ। अब आउँछ बीमा क्षेत्रको सबैभन्दा महत्वपूर्ण संस्थाको कुरा ‘नेपाल बीमा प्राधिकरण ।’

कुनै पनि वित्तीय क्षेत्र बलियो हुन कम्पनीहरू मात्र बलिया भएर पुग्दैन। नियमन बलियो हुनुपर्छ। नेपालको बीमा क्षेत्रमा यही भूमिका नेपाल बीमा प्राधिकरणले निर्वाह गर्दछ। बीमा ऐन २०७९ अन्तर्गत प्राधिकरणलाई बीमा व्यवसायलाई व्यवस्थित, नियमित र विकास गर्ने, बीमा व्यवसायका लागि आवश्यक नीति, विनियम तथा निर्देशन निर्माण गर्ने, बीमा कम्पनीको स्थापना तथा इजाजतसम्बन्धी काम गर्ने, निरीक्षण तथा सुपरिवेक्षण गर्ने र बीमितको हित संरक्षणसँग सम्बन्धित महत्वपूर्ण जिम्मेवारी दिइएको छ। अब यसलाई यसरी बुझौँ। बीमा कम्पनी बजारको खेलाडी हो; भने नेपाल बीमा प्राधिकरण खेलको नियम बनाउने र नियम पालना भए÷नभएको हेर्ने नियामक हो। त्यसैले बीमा कम्पनीप्रति प्रश्न उठाउनु जायज छ। तर, नियामकप्रति पनि प्रश्न उठ्नुपर्छ। नियम पर्याप्त छन् ? नियम कार्यान्वयन प्रभावकारी छ? दाबी विवादमा बीमितले न्याय पाउने बाटो सहज छ ? जोखिम बढ्दै जाँदा नियमन पनि त्यही गतिमा बदलिएको छ ? यिनै प्रश्नहरुले नियामक प्रणालीलाई स्वस्थ बनाउने छन्।
बीमा प्राधिकरणको इतिहास पनि एउटा विकासक्रम हो । आजको नेपाल बीमा प्राधिकरण एकै दिन बनेको संस्था होइन। नेपालमा बीमा क्षेत्र बढ्दै जाँदा त्यसलाई नियमन गर्ने आवश्यकता पनि बढ्दै गयो। तत्कालीन बीमा समितिबाट सुरु भएको नियामकीय यात्रा बीमा ऐन, २०७९ पछि नेपाल बीमा प्राधिकरणका रुपमा विकसित भयो। यसको अर्थ केवल संस्थाको नाम परिवर्तन होइन। यो नेपालको बीमा बजार बढ्दै जाँदा नियमनलाई पनि आधुनिक बनाउने प्रयास हो। आज प्राधिकरणले वार्षिक प्रतिवेदन, क्षेत्रगत वित्तीय विवरण, बीमा तथ्यांक, बोनस दर तथा विभिन्न निर्देशिका सार्वजनिक गर्दै आएको छ। पछिल्लो समय जोखिममा आधारित पूँजी तथा सोल्भेन्सीसम्बन्धी व्यवस्था पनि अगाडि बढाइएको छ। यसले बीमा कम्पनीको जोखिम वहन गर्ने क्षमतालाई केवल परम्परागत हिसाबले होइन, जोखिमको प्रकृतिसँग जोडेर हेर्ने दिशातर्फ नेपालको नियमन अघि बढिरहेको संकेत गर्छ। त्यसपछि पनि किन बीमाप्रति अविश्वास? किनकि हामीमध्ये धेरैले बीमाको वास्तविक संरचना बुझ्नुभन्दा बीमासम्बन्धी अवास्तविक घटना सुन्ने गरेका छौँ।

कसैले भन्यो– क्लेम पाइन्न। त्यसकै आधारमा हामीले निष्कर्ष निकाल्यौँ, बीमा कम्पनीले पैसा दिँदैन। कसैले भन्यो– कम्पनीको नाफा घट्यो। हामीले भन्यौँ– कम्पनी डुब्न लाग्यो। कसैले एउटा वित्तीय सूचक गलत बुझेर सामाजिक सञ्जालमा लेख्यो, हजारौँ मानिसले तथ्य नहेरी नबुझी शेयर गरे।

यहीँ समस्या छ। वित्तीय क्षेत्रलाई भावनाले होइन, वित्तीय साक्षरताले बुझ्नुपर्छ। नाफा घट्नु र कम्पनी कमजोर हुनु एउटै कुरा होइन। खर्च बढ्नु र कम्पनी संकटमा पर्नु एउटै कुरा होइन। दाबी अस्वीकार हुनु र कम्पनीले सबै दाबी अस्वीकार गर्नु एउटै कुरा होइन। एउटा घटना हुनु र सम्पूर्ण प्रणाली असफल हुनु एउटै कुरा होइन। वित्तीय विवरण पढ्ने संस्कार नबढेसम्म यस्तो भ्रम भइरहन्छ। तर, आलोचना गर्ने अधिकार कसैले खोस्न सक्दैन।

बीमा कम्पनीको आलोचना गर्नुपर्छ। किनकि बीमितको पैसा र विश्वास दुवै महत्वपूर्ण छन्। दाबी प्रक्रियामा समस्या छ भने प्रश्न उठ्नुपर्छ। बीमालेख बिक्री गर्दा गलत जानकारी दिइएको छ भने कारबाही हुनुपर्छ। बीमितले पाउनुपर्ने सुविधा नपाएको छ भने उसले आवाज उठाउनुपर्छ। कम्पनीले नियामकीय मापदण्ड पालना गरेको छैन भने नियामकले हस्तक्षेप गर्नुपर्छ। तर, आलोचना र दिग्भ्रमबीच एउटा ठूलो गाढा रेखा हुन्छ। त्यो रेखा हो तथ्य। तथ्यसहित गरिएको आलोचना सुधारको माध्यम बन्छ। अधुरो तथ्यमा लगाईएको आरोप बीमक र बीमीत बिचमा अविश्वासको माध्यम बन्न सक्छ।

त्यसैले बीमा क्षेत्रबारे समाचार लेख्दा, भिडियो बनाउँदा वा सामाजिक सञ्जालमा टिप्पणी गर्दा एउटा प्रश्न आफैँलाई सोधौँ, ‘मैले लेखेको कुराले जनतालाई सचेत बनाउँदैछ कि अनावश्यक रुपमा त्रास फैल्याँउँदैछ?’

दाबी नपाए के गर्ने? यहाँ पनि एउटा महत्वपूर्ण कुरा बुझ्न आवश्यक छ। बीमा कम्पनी र बीमितबीच विवाद भयो भन्दैमा अन्तिम विकल्प सामाजिक सञ्जाल होइन। नेपाल बीमा प्राधिकरणले बीमा दाबी भुक्तानीमा समस्या भएमा प्राधिकरणलाई जानकारी गराउन सार्वजनिक रुपमा आह्वान गर्दै आएको छ। प्राधिकरणले बीमासम्बन्धी जिज्ञासा, गुनासो वा समस्या भएमा केन्द्र तथा प्रदेशस्थित कार्यालयमा सम्पर्क गर्न सकिने व्यवस्था पनि उल्लेख गरेको छ।

यसको अर्थ बीमितसँग आवाज उठाउने संस्थागत बाटो छ। त्यसैले प्रमाण राखौँ। बीमालेख बुझौँ। कम्पनीसँग औपचारिक रुपमा कुरा गरौँ। आवश्यक परे नियामकसम्म पुगौँ। तर, सामाजिक सञ्जालमा आएको एउटा अधुरो कथालाई नै अन्तिम सत्य नबुझौँ। अर्को पक्ष पनि उत्तिकै महत्वपूर्ण छ, बीमा उद्योगले आफूलाई बदल्नुपर्छ।

बीमा क्षेत्रको समर्थन गर्नु भनेको बीमा कम्पनीका सबै काम सही छन् भन्ने पनि होइन। बरु जिम्मेवार समर्थनको अर्थ हो, जहाँ कमजोरी छ त्यहाँ सुधार गर्न लगाउनु। कम्पनीहरुले बीमालेखलाई अझ सरल भाषामा बुझाउनुपर्छ। दाबी प्रक्रिया अझ छिटो र पारदर्शी बनाउनुपर्छ।

अभिकर्तालाई केवल बिक्री लक्ष्य होइन, बीमा साक्षरता र सही सूचना दिने जिम्मेवारी पनि दिनुपर्छ। बीमितले आफुले हस्ताक्षर गरेको कागजको अर्थ बुझ्न पाउनुपर्छ। कम्पनीहरूले आफ्ना वित्तीय तथ्यांक सार्वजनिक गर्नुलाई औपचारिकता होइन, विश्वास निर्माणको माध्यम मान्नुपर्छ। र नियामकले पनि बदलिँदो जोखिम, प्रविधि र वित्तीय संरचनाअनुसार नियमन निरन्तर अद्यावधिक गर्नुपर्छ।

अब एउटा असहज प्रश्न– यदि बीमा यति महत्वपूर्ण छ भने नेपालमा अझै किन ठूलो जनसंख्या बीमाको पूर्ण पहुँचमा पुगेको छैन ?

नेपाल बीमा प्राधिकरणको पछिल्लो तथ्यांकअनुसार आर्थिक वर्ष २०८१।८२ मा conventional, term / foreign employment term life insurance policies समेत समेट्दा जीवन बीमाको coverage ५१.०२ प्रतिशत पुगेको छ; conventional र term life insurance मात्र हेर्दा ४३.३१ प्रतिशत र conventional life insurance मात्र हेर्दा १८.६० प्रतिशत छ।

यो तथ्यांकले एउटा महत्वपूर्ण कुरा के देखाउँछ भने, बीमा क्षेत्रको विस्तार भए पनि नेपालको ठूलो जनसंख्या अझै पर्याप्त बीमा पहुँच भन्दा बाहिर छ। अर्थात् प्रश्न केवल बीमा कम्पनीले कति कमाए? भन्ने होइन। ठूलो प्रश्न त, कति नेपाली परिवार आर्थिक जोखिमविरुद्ध पर्याप्त रुपमा सुरक्षित छन भन्ने हो? यहीँ बीमाको सामाजिक अर्थ भेटिन्छ ।

एउटा मानिसले बीमा गर्छ। उसले आफ्नो भविष्यको केही हिस्सा सुरक्षित गर्छ। उसको परिवार सुरक्षित हुन्छ। त्यस्तै लाखौँ मानिसले बीमा गर्छन्। समाजको आर्थिक जोखिम व्यवस्थापन गर्ने क्षमता बढ्छ। कम्पनीहरुले दीर्घकालीन कोष निर्माण गर्छन्। त्यो पूँजी वित्तीय प्रणालीमा परिचालित हुन्छ। यसरी बीमा व्यक्तिगत सुरक्षाबाट सुरु भएर समग्र अर्थतन्त्रसँग जोडिन्छ। त्यसैले बीमालाई केवल “पोलिसी बेच्ने व्यवसाय” भनेर बुझ्नु अधुरो बुझाइ हो।

अब हामीले के गर्ने? न कम्पनीको अन्धो समर्थन। न बीमाको अन्धो विरोध। न सामाजिक सञ्जालमा आएको प्रत्येक आरोपलाई सत्य ठान्ने। न त नियामकलाई नै अन्धविश्वास गर्ने ।

बीमा क्षेत्रलाई चाहिएको छ– सचेत बीमित, जिम्मेवार अभिकर्ता, पारदर्शी बीमा कम्पनी, प्रभावकारी नियामक, तथ्यपरक पत्रकारिता, र सबैभन्दा माथि वित्तीय रुपमा साक्षर समाज।

अन्तिम दृश्यमा फेरि त्यही मानिसकहाँ फर्कौं । बाढीले उसको घर बगायो। उसले त्यस दिन बीमाको अर्थ बुझ्यो। तर, उसको कथा पढ्ने हामीले के सिक्ने?के हामी पनि विपत्ति आउन पर्खने ? कि आजै आफ्नो परिवारको जोखिमको हिसाब गर्ने ? उसले घर गुमाएपछि बुझ्यो, मैले पहिले नै बीमा गरेको भए ? हामीले त्यो प्रश्न आफैँलाई विपत्ति आउनुअघि सोध्न सक्यौँ भने, सायद यही नै बीमा साक्षरताको पहिलो सफलता हुनेछ।

किनकि ‘बीमा’ विपत्ति रोक्ने वाचा होइन। विपत्तिपछि परिवारलाई आर्थिक रुपमा फेरि उभिनका लागी आधार निर्माण गर्ने व्यवस्था हो। र बीम।ा कम्पनीमाथि प्रश्न गर्नु गलत होइन। तर, प्रश्न तथ्यसहित गरौँ। नियामकलाई प्रश्न गर्नु पनी गलत होइन। तर, प्रश्न जबाफदेहीताका लागि गरौँ। मिडियाले खोजी गर्नु गलत होइन। तर खोजी सनसनीका लागि होइन, सत्यका लागि गरौँ। बीमाको समर्थन गर्नु पनि गलत होइन। तर समर्थन अन्धो होइन, विवेकपूर्ण गरौँ।

अन्तमाः समाचारको सनसनीभन्दा महत्वपुर्ण, नागरीकको सही सूचनाको हक हो। र कुनै संस्थाको आलोचनाभन्दा ठूलो, एउटा सुरक्षित समाज निर्माण गर्ने जिम्मेवारी हो। हामीले अब बीमालाई हल्लाबाट होइन, तथ्यबाट हेर्नुपर्छ। बीमा कम्पनीलाई भावनाबाट होइन, वित्तीय विवरणबाट मूल्यांकन गर्नुपर्छ र बीमा विज्ञानलाई शंकाको होइन,समझदारीको विषय बनाउनुपर्छ। किनकि विभिन्न प्राकृतीक जोखीमले जेल्लीएको हाम्रो असुरक्षित समाजलाई सुरक्षित समाजमा रुपान्तरण गर्नका लागि जोखिम आउनुअघि नै आर्थिक सुरक्षा निर्माण गर्नुपर्ने हुन्छ। अनिमात्रै बीमाको वास्तविक जिम्मेवारी पनि पूर्ण हुन्छ।

(लेखक ढकाल नेपाल लाइफ इन्स्योरेन्सको  टोखा शाखा प्रमुख हुन्।)

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS