काठमाडौं । सम्पत्ती शुद्धिकरण, बीमा ऐन र धितोपत्र सम्बन्धी कसूर लगायत मुद्दामा फरार अभियुक्त उपासना पाैडेललाई प्रहरीले बिहीबार पक्राउ गरेको छ। हिमालयन रिइन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत रहेकी पाैडेललाई बबरमहलबाट पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।
पाैडेलविरूद्ध विभिन्न फाैजदारी कसूरमा नेपाल सरकारले गत जेठ २८ गते विशेष अदालत र काठमाडाैं जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो। अनुसन्धानका क्रममा बयानका लागि डाँकेपनि उपस्थित नभएपछि उनलाई प्रहरी प्रतिवेदनमा फरार अभियुक्त उल्लेख गरिएको थियो। हिमालयन रिइन्स्योरेन्सको लगानी अपचलनको विषयसँग जोडिएको मुद्दामा प्रहरीले अनुसन्धानका लागि धरपकड शुरू गर्नु अघि नै पाैडेल उपचारका लागि भारत पुगेकी थिइन् ।
प्रहरी कार्यालयका अनुसार, नेपाल बीमा प्राधिकरण, कुपण्डोल, ललितपुरको पत्रद्वारा ट्रष्ट इन्स्योरेन्स ब्रोकर प्रा.लि. मा गरिएको निरीक्षण प्रतिवेदन अनुसार बीमा ऐन, २०७९ को दफा १४० उपदफा (१) को खण्ड (छ) र (झ) बमोजिमको कसूर सम्बन्धमा अनुसन्धानको क्रममा उक्त कसूरमा संलग्न काठमाडौँ जिल्ला दक्षिणकाली नगरपालिका वडा नं ३ निवासी ३९ वर्षीया पौडेललाई बबरमहलबाट पक्राउ गरिएको हो ।
उनको पक्राउ काठमाडाैं जिल्ला अदालतको अनुमति लिएर उनलाइ पक्राउ गरिएको प्रहरी कार्यालयले जानकारी दिएको छ।












