IME Life New

बीमा प्राधिकरणका अध्यक्ष बने राष्ट्र बैंकको आइटी विभाग प्रमुख, दोहोरो संलग्नताले सुशासनमा चुनौती

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषद् बैठकबाट कात्तिक १८ गते नेपाल बीमा प्राधिकरणको अध्यक्षमा नियुक्त भएका राजनविक्रम थापाले नेपाल राष्ट्र बैंकमा सूचना प्रविधि (आईटी) विभागको समेत जिम्मेवारी पाएका छन्।

राष्ट्र बैंकको बहालवाला कार्यकारी निर्देशक पदमा रहँदै कात्तिक १९ गते अर्थमन्त्री डा. स्वर्णिम वाग्लेबाट शपथ लिएर काजमा प्राधिकरणको नेतृत्व सम्हाल्न पुगेका थापालाई गभर्नर डा. विश्वनाथ पौडेलले राष्ट्र बैंकको आईटी विभाग प्रमुखको जिम्मेवारी तोकेका हुन्।

Esewa
Crest

यसअघि थापा राष्ट्र बैंकको लघुवित्त सुपरीवेक्षण विभाग प्रमुख थिए। उनको स्थानमा यसअघि आईटी विभागको नेतृत्व गरिरहेका कार्यकारी निर्देशक डा. रामशरण खरेललाई लघुवित्त सुपरीवेक्षण विभागमा पठाइएको छ।

केन्द्रीय बैंक तथा समग्र बैंक तथा वित्तीय संस्थाहरूको डिजिटल प्रणालीमाथि सुरक्षा चुनौती बढिरहेका बेला काजमा बाहिर रहेका थापालाई संवेदनशील आईटी विभागको प्रमुख सुम्पिनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ। यद्यपि, थापा काजमा बीमा प्राधिकरणमा कार्यरत रहेकाले राष्ट्र बैंकको आईटी विभागको दैनिक कार्यसञ्चालन तथा नेतृत्व भने वरिष्ठ निर्देशक इन्जिनियर शौरभ दासले सम्हाल्नेछन्।

राष्ट्र बैंकको बहालवाला कार्यकारी निर्देशक पद नत्यागी अर्को स्वायत्त नियामक निकायको कार्यकारी प्रमुख (अध्यक्ष) बन्नु र पुनः राष्ट्र बैंककै विभागको प्रमुखको जिम्मेवारी लिनुले संस्थागत सुशासनको प्रश्न उठाएको छ।

नेपाल राष्ट्र बैंक ऐन, २०५८ मा गभर्नर, डेपुटी गभर्नर र सञ्चालकहरूको नियुक्ति, राजीनामा तथा अयोग्यतासम्बन्धी स्पष्ट व्यवस्था (जस्तै: दफा १९(३) मा कार्यकारी निर्देशक डेपुटी गभर्नर बनेमा बैंकको सेवाबाट स्वतः निवृत्त हुने व्यवस्था) रहे पनि कार्यकारी निर्देशक वा अन्य कर्मचारीलाई अन्य सरकारी वा नियामक निकायमा पठाउने विषयमा ऐनले स्पष्ट बन्देज लगाएको छैन। ऐनको दफा ११० ले कर्मचारीको सेवा, शर्त, सरुवा तथा आचरणसम्बन्धी नियम बनाउने अधिकार बैंकको सञ्चालक समितिलाई दिएको छ।

नेपाल राष्ट्र बैंक कर्मचारी सेवा विनियमावली, २०६८ अन्तर्गत बैंकको हित वा नेपाल सरकारको अनुरोधमा आफ्ना कर्मचारीलाई अन्य सरकारी निकाय, संवैधानिक आयोग (जस्तै: अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय योजना आयोग) वा सार्वजनिक संस्थानहरूमा काजमा खटाउन सकिने प्रावधान छ। यही काजसम्बन्धी कानुनी छिद्र र अभ्यासको लाभ उठाउँदै थापाले राष्ट्र बैंकको पदाधिकार सुरक्षित राखेरै बीमा प्राधिकरणको अध्यक्ष पद स्वीकार गरेका हुन्।

कर्मचारी सेवा विनियमावली, २०६८ को नियम (४३) मा  बेतलबी काज सम्बन्धी प्रावधान छ। यसको उपनियम (२) मा नेपाल सरकारबाट नियूक्त हूने वा राष्ट्र बैंकबाट राष्ट्रिय अन्तर्राष्ट्रिय संघ संस्थामा मनोनित हुने कर्मचारीलाई गभर्नरले अतिरिक्त दरबन्दीमा राख्न सक्नेछ व्यवस्था छ । त्यस्ता कर्मचारीले तलब, भत्ता सुविधा नियुक्ति हुने संस्थाबाट लिनुपर्ने भएपनि तलब, भत्ता, सुविधा सुविधा राष्ट्र बैंकबाट पाउने तलब, भत्ता, सुविधा भन्दा कम भएमा फरक रकम राष्ट्र बैंकबाट  उपलब्ध गराइने व्यवस्था समेत छ। यसले गर्दा राष्ट्र बैंकभन्दा नेपाल बीमा प्राधिकरणमा तलब, भत्ता सुविधा थोरै भएकाले राष्ट्र बैंकको तुलनामा अपुग रकम थापाले राष्ट्र बैंकबाटै भुक्तानी लिने कानूनी छिद्र कायम छ ।

राष्ट्र बैंकमा केही महिना मात्रै सेवा अवधि बाँकी रहेका थापा त्यहाँबाट अवकाश भएपछि बीमा प्राधिकरणको नियमित अध्यक्षका रूपमा निरन्तर रहनेछन्।

विनियमावलीले अन्यत्र काजमा जान नरोके पनि वित्तीय क्षेत्रका दुई प्रमुख नियामक निकाय (बैंकिङ र बीमा) बीच ‘क्रस-होल्डिङ’ र नीतिगत अन्तरसम्बन्ध हुने भएकाले एकै व्यक्ति दुबै निकायको जिम्मेवारीमा रहँदा स्वार्थको द्वन्द्व र संस्थागत सुशासनमा गम्भीर चुनौती पैदा हुने देखिन्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS