काठमाडौं । नेपालमा आधारभूत स्वास्थ्य सेवा संवैधानिक अधिकार हो र यो मुख्यतया ७५३ वटा स्थानीय तहमार्फत दिइन्छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले तयार पारेको बेसिक हेल्थ सर्भिसेज इन नेपाल (नेपालमा आधारभूत स्वास्थ्य सेवा) नामक प्रतिवेदनमा उल्लेखित सन् २०२१ को स्वास्थ्य संस्था सर्वेक्षण अनुसार, मूल्याङ्कन गरिएका ४१ वटै आधारभूत सेवा दिने सरकारी स्वास्थ्य संस्था १ प्रतिशतभन्दा कम छन्। जम्मा ११ प्रतिशत संस्थामा मात्र ६ वटै आधारभूत पूर्वाधार पुगेका छन् भने स्थानीय तहका ९१ प्रतिशत संस्थामा कम्तीमा एउटा आधारभूत सुविधाको अभाव छ ।
प्रतिवेदनको अग्रपृष्ठमा समावेश गरिएको मन्त्री निशा मेहताको सन्देशमा हरेक पालिकामा आधारभूत स्वास्थ्य सेवाको अधिकार व्यवहारमै लागू भइसकेको दाबी गरिएको छ। तर प्रतिवेदनकै तथ्याङ्कले यो अधिकार स्वास्थ्य चौकी वा अस्पतालको ढोकामा भन्दा कागजमै बढी सीमित रहेको देखाउँछ। अर्कोतर्फ, यो सर्वेक्षण सन् २०२१ कै हो,जसको अर्थ ५ वर्ष पुरानो अवस्थाको तथ्याङ्कमा टेकेर सन् २०२६ को प्याकेज बनाइँदै छ।
यस प्याकेजलाई सबैका लागि निःशुल्क आधारभूत स्वास्थ्य सेवा भनिए पनि अधिकांश संस्थासँग ती सबै सेवा दिने क्षमता नै नभएको तथ्याङ्कले स्पष्ट पार्छ। त्यसमाथि, गत भदाै १० गते भोटेकोशीमा आएको बाढीले स्वास्थ्य संस्थाहरूमा क्षति पुर्याउनुका साथै थप उपचारका लागि रेफर(प्रेषण) गर्ने बाटोसमेत अवरुद्ध पारेकाले सेवाको पहुँचमा थप समस्या थपिएको छ ।
मन्त्रालयले स्वास्थ्य संस्थाको अवस्था मूल्याङ्कन गर्ने, दुर्गम क्षेत्रलाई प्राथमिकतामा राखेर चरणबद्ध रूपमा स्तरोन्नति गर्ने, टेलिमेडिसिन चलाउने र एम्बुलेन्ससहितको रेफरल प्रणाली बनाउने प्रस्ताव अघि सारेको छ। तर, यी सबै कुरा अझै प्रस्तावमै सीमित छन्।











