काठमाडौं । नेपाल बीमा प्राधिकरणले काठमाडाैं उपत्यकाभित्र प्रधान कार्यालय सञ्चालन गरिरहेका सातवटै लघु बीमा कम्पनीहरूलाई १५ दिनभित्र काठमाडाैं उपत्यका बाहिर प्रधान कार्यालय लैजान निर्देशन जारी गरेको छ।
लघु बीमा कम्पनीका प्रतिनिधिहरूसँगको छलफलका क्रममा माैखिकरूपमा अनुरोध गरेको प्राधिकरणले निर्देशनात्मक आदेश जारी गर्दै औपचारिकरूपमा नै यस्तो निर्देशन दिएको हो।
इजाजत पत्र प्रदान गर्दा प्रधान कार्यालय काठमाडाैं उपत्यका बाहिर रहनुपर्ने अनिवार्य शर्त विपरित लघु बीमकले काठमाडाैं उपत्यकाभित्रै प्रधान कार्यालय सञ्चालन गरिरहेको गुनासो प्राप्त भएको जनाउँदै प्राधिकरणले तोकिएको स्थानबाटै कार्यकारी काम कारवाही गर्न निर्देशन दिएको हो । प्राधिकरणले १५ दिनभित्र उपत्यका बाहिर प्रधान कार्यालय सञ्चालन गरी सोको लिखित जानकारी पेश गर्न भनेको छ।
विपन्न तथा पिछडिएका वर्गसम्म बीमाको सहज पहुँच विस्तार र लघु बीमाको माध्यमबाट बीमा सुरक्षाको विस्तार गर्ने उद्देश्यले प्राधिकरणले सातवटै प्रदेशमा एक एक वटा लघु बीमकलाइ इजाजत पत्र दिएको थियो। ती लघु बीमकलाइ काठमाडाैं उपत्यका बाहिर सम्बन्धित प्रदेश राजधानी वा तोकिएको अन्य कुनै जिल्लामा प्रधान कार्यालय रहने गरी इजाजत पत्र प्रदान गरेको थियो । इजाजत पत्रको शर्त विपरित सातवटै लघु बीमकले काठमाडाैं उपत्यकाभित्रै मुख्यालय सञ्चालन गरिरहेका छन् ।











