काठमाडौं । रसुवाको विनाशकारी बाढीलाई ध्यानमा राखेर नेपाल बीमा प्राधिकरणले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ।
प्राधिकरणले आज एक विज्ञप्ति जारी गर्दैै बाढी प्रभावित क्षेत्रमा उद्धार र राहतका लागि उक्त रकम सहयोग गर्ने निर्णय गरेको हो। ‘बाढी प्रभावित क्षेत्रका नागरिकलाई राहत प्रदान गर्न र आपतकालीन आवश्यकता पूरा गर्न बीमा प्राधिकरणले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ’, विज्ञप्तिमा भनिएको छ, ‘विपद्को यस समयमा सरकारको राहत तथा पुनस्र्थापनाको प्रयासमा टेवा पुर््याउने र पीडितलाई सामान्य अवस्थामा फर्काउन सहयोग गर्ने उद्देश्यले उक्त रकम उपलब्ध गराइएको हो।’
प्राधिकरण नियमनकारी निकायका रुपमा मात्र नभई सामाजिक उत्तरदायित्वप्रति पनि सधैँ प्रतिबद्ध रहेको विज्ञप्तिमा जनाइएको छ। ‘बाढीका कारण मानविय तथा भौतिक पुर्वधारमा भएको क्षतिको विवरण संकलन गर्न र बीमा दाबी भुक्तानीलाई छिटो, छरितो र सहज बनाउन प्राधिकरणले हातेमालो गर्ने प्रतिबद्धता जाहेर गरेको छ’, विज्ञप्तिमा भनिएको छ, ‘संकटको घडीमा बाढी प्रभावित क्षेत्रका आमसर्वसाधारणको जीवनलाई सहज तुल्याउन र पीडित परिवारलाई राहतको महसुस गराउन सम्पूर्ण बीमाका सरोकारवालाहरुलाई आ–आफ्नो ठाउँबाट योगदान पुर्याउनका लागि नेपाल बीमा प्राधिकरण हार्दिक अनुरोध गर्दछ । बाढीबाट प्रभावित सम्पूर्ण क्षेत्रमा छिटोभन्दा छिटो शान्ति, सुरक्षा र पुनर्निर्माणको कार्य तीव्र गतिमा अघि बढ्ने अपेक्षा गरिएको छ।’
भदौ १० गते रसुवा नुवाकोट भागमा गएको बाढीका कारण जनधनको अपूरणीय क्षति भएको छ । विशेषगरी रसुवा र त्रिशूली क्षेत्रमा बाढीले पुर्याएको विनाशकारी क्षतिप्रति बीमा प्राधिकरणले गहिरो दुःख व्यक्त गरेको छ। यस विपद्को घडीमा पीडित परिवारप्रति गहिरो समवेदना प्रकट गर्दै प्राधिकरणले उनीहरुको तत्काल उद्धार, राहत र पुनस्र्थापना कार्यमा हातेमालो गर्ने उद्देश्यले यो निर्णय गरेको हो।












