काठमाडौं । जीवन भनेको दुःख र सुखको समिश्रण हो। जीवनमा सधैँ सुखै–सुख हुन्छ भन्ने पनि हुँदैन। जीवनमा आउने हरेक बाधा र चुनौतीलाई सँगाल्दै अगाडि बढ्न सक्ने मान्छेले नै एक दिन सफलता पाउँछ। सफल हुने सपना देखेको मानिसले हार नखाई जीवनमा आउने हरेक परिस्थितिलाई सामना गर्दै अगाडि बढ्नुपर्छ। हो, यस्तै सकारात्मक भाव र ऊर्जा बोकेका व्यक्ति हुन्, हरिबहादुर थापा।
२०४६ सालमा काभ्रेको मण्डनदेउपुर नगरपालिका–१ मा जन्मिएका हरिले प्लसटुसम्मको अध्ययन पूरा गरेका छन्। आफ्नो बाल्यकाल गरिब परिवारमा बिताउन परेको दुःखेसो गर्दै हरिले भने, ‘मेरो बाल्यकाल एकदमै दुःखद् रुपमा बिताएँ। घरको एक्लो अनि त्यही माथि जेठो सन्तान। बुवा माओवादीको द्वन्द्वकालमा होमिएका घरमा एक्ली आमा। त्यसैमाथि निम्न वर्गीय परिवार। खान र लगाउनका लागि धौधौ थियो। आमा बिहान–बेलुका मेलापात गर्थिनँ। अनि म चाहिँ गाउँमा हुने–खानेको जे काम पाउँछ। त्यही गर्थे (जस्तो हलो जात्ने) त्यही काम गरेर परिवारका अत्यावश्यक भएका आवश्यक्ताहरु पूरा गर्थौं। काम गरेर घरमा आमालाई सहयोग गरेर पढ्न जान्थे। बहिनीहरु सानै थिए। सबै जिम्मेवारी आमा र मेरो काँधमा थियो। जेनतेन दुःख गर्दै एसएसलीसम्मको अध्ययन पूरा गरे।’
हरि हाल सिटिजन लाइफको कोटेश्वर शाखा कार्यालयमा एजेन्सी म्यानेजरका रुपमा काम गर्दै आइरहेका छन्। हरि पेसाले बीमा अभिकर्तामात्रै होइनन्, उनी होटल्स क्षेत्रमा पनि आबद्ध भएका व्यक्ति हुन्। उनले पार्टटाइमका रुपमा अभिकर्ता पेसालाई अँगालेर आज बीमा बजारमा नाम, दाम र इज्जत कमाएका छन्। अभिकर्ता बनेर काम गर्न पाउँदा निकै गर्विलो महसुस गरेको हरि बताउँछन्।
हरि होटलमा आफ्नो जिम्मेवारी निभाएर बीमा बजारमा पनि उत्तिकै सक्रिय छन्। बीमामा सबैको पहुँच विस्तारका लागि हरिले अहम् भूमिका खेलेका छन्। उनले आफ्नो गाउँ, छरछिमेकी, साथीभाइ तथा नजिकका आफ्न्तदेखि अन्जान व्यक्तिसम्म बीमाको सचेतना फैलाएर हिँड्ने गरेका छन्। फोर्सफुल्ली बीमा गराउनभन्दा पनि बीमा बुझाएर बीमा ज्ञान फैलाएर पोलिसी बेच्न उनी उत्तम ठान्छन्।

आफ्नै गाउँमा मेहनत गरेर केही गर्छु भन्ने हेतुले २०७० सालमा हरिले कृषि तालिम लिएर कृषि फर्म सञ्चालन गरे। विडम्बना कृषिबाट उत्पादन गरेका वस्तुलाई बिक्री गर्नका लागि यातायात, बाटो, बिक्रीका लागि बजारलगायतका धेरै कुराको असुविधा खड्कियो। त्यसपछि हरिले उक्त फर्म पनि दीर्घकालीन रुपमा अगाडि बढाउन सकेनन्। अन्तिममा केही उपाय नभएपछि हरिले सञ्चालन गरेका सबै व्यवसाय छाडेर परदेशिनुबाहेक विकल्प रहेन। त्यसपछि उनी २०७२ सालमा साउदी अरब हानिए।
साउदीको भन्दा केही राम्रो हुन्छ कि भन्ने सोचले फेरि हरि ३ वर्षपछि मलेसिया पुगे। त्यहाँ पनि भनेजस्तो आम्दानी गर्न सकेनन्। मलेसियामा पनि २ वर्षको बसाइपछि उनी नेपाल नै फर्किए।
हरि यसरी जोडिए बीमा पेसामा
पाँच वर्षको लामो विदेश बसाइपछि नेपाल फर्किएका हरिलाई आफ्ना साथी टीकाबहादुर ढकाल (सञ्जय ठकाल) सिटिजन लाइफका सिनियर एजेन्सी म्यानेजरले ‘भेटघाट गरौँ, चिया खाऊ’ भनेर बोलाए। धेरै वर्षसम्म नभेटेको साथीले भट्न बोलाउँदा जानैपर्छ भनेर हरि साथीलाई भेट्न गए। त्यही क्रममा हरिलाई साथीले बीमा गर्नका लागि प्रस्ताव गरे। तर, हरिले ‘बीमा गर्न सक्दिनँ, पैसा छैन’ भनेर अस्वीकार गरे।
फेरि हरिका साथी टीकाले ‘बीमा गर्न सक्दैनस् भने आफैँ अभिकर्ता बनेर आफ्नै बीमा गर। अभिकर्ता बनेर काम गर्दा आम्दानीको हिसाबले पनि राम्रो हुन्छ। अरुको जीवनलाई पनि सुरक्षा प्रदान गर्न सकिन्छ। एक हिसाबले सामाजिक पेसा पनि हो’ भनेर सम्झाए। त्यसपछि हरिले कस्तो हुने रहेछ ‘गर्छु’ भनेर चासो देखाए।
फेरि अर्को भेटमा साथी टीकाले सिटिजन लाइफकै सिनियर एजेन्सी म्यानेजर भेषराज भट्टराईसँग पनि भेट गर्ने अवसर जुराइदिए। त्यसपछि भेषराजले ‘बीमा भनेको के हो? बीमाको महत्व ? अभिकर्ता बनेर काम गर्दाको फाइदा, बीमाका फाइदा, बीमा पोलिसी, कम्पनीका बारेलगायतका धेरै बीमासम्बन्धी विषयमा’ जानकारी दिए।
‘बीमाका बारेमा भेषराजले बुझाउँदै जाँदा त मलाई अहिले नै बीमा गराउन जाऊ जाऊ भयो’, हरि सम्झिनछन्, ‘जब मलाई साथी टीकाले उनका साथी भेषराजलाई भटाएपछि मेरो जीवनले छुट्टै मोड लियो। उनले मलाई बीमाबारे भन्दै जाँदा, अभिकर्ता बनेर काम गर्दाको फाइदा बताउँदै जाँदा त अहिले नै बीमा खोज्न जाऊ कि क्या होजस्तो भएको थियो। त्यही भेटमा धेरै उत्सुकता बढेर आयो र २०७९ सालमा लाइसेन्स लिएर सिटिजन लाइफबाट काम गर्न थालेँ ।’

सिटिजन लाइफबाट लाइसेन्स लिँदा हरिले सुरुको बीमा आफ्नो गराए। त्यसपछि आफ्ना आफ्न्तको बीमा गराउँदै गए। अहिले त हरिले सिंगो मन्डनदेउपुर नगरपालिकामा बीमा गराइसकेका छन्। उनले आफ्नो समुदायमा बीमाबारे सबैलाई शिक्षा दिएका छन्। बीमा नरेका मानिसहरु पनि बीमाबारे शिक्षित रहेको उनको भनाइ छ।
हरिले थपे, ‘मैले बीमा बजारमा राम्रो काम गर्ने प्रयास गरेको छु। मैले आजसम्म २०० भन्दा बढी बीमा पोलिसी बिक्री गरिसकेको छु। गाउँघरमा सबैले चिन्छन्। मैले राम्रो छाप बनाएको छु। मैले बीमा कम्पनीमा प्रवेश गरेको सुरुआती अवस्थाबाटै राम्रो काम गरेँ। दुःख र संघर्ष गरेर खारिएको मान्छेलाई फेरि दुःख गर्न डर नलाग्दो रहेछ, मैले बीमा क्षेत्रमा पनि अथाह दुःख गरेँ। त्यही भएर नै आज यस क्षेत्रबाट सफलता हात पारेको छु। यस पेसाबाट म धेरै खुसी र सन्तुष्ट छु।’
यस पेसामा लागेपछि आफ्नो जीवनमा धेरै परिवर्तन आएको हरि बताउँछन्। ‘मेरो बोल्ने कलामा विकास भएको छ। अपरिचित मानिसका साथै ठूला अहोदाका मानिसहरुसँग पनि प्रत्यक्ष जोडिने मौका पाएँ’, उनले भने, ‘समाजसँग धेरै नजिकबाट भिज्ने मौका पाएँ। समाजका सबै मानिसले मलाई राम्रोसँग चिन्ने मौका पाएका छन्। यस पेसाबाट म आफैँ पनि आर्थिक रुपमा सबल भएँ। सामाजिक हितमा जोडिएर काम गर्न पाएको छु। नाम कमाएको छु। साँच्चै मलाई बीमा अभिकर्ता पेसाले सबथोक दियो।’
अहिले पनि बीमाप्रति विश्वास नगर्ने मानिसहरु धेरै रहेको हरिको बुझाइ छ। ‘कतिपय मानिसले अहिले पनि बीमालाई सहकारीसँग जोड्दिनुहुन्छ र बीमालाई अविश्वास गर्छन्’, उनी भन्छन्, ‘कतिपय मानिसले त मसँग बीमा गराउँदै मैले तेरो विश्वासमा बीमा गरेको छु। तेरा लागि गर्देको छु है भन्नुहुन्छ। कम्पनी कस्तो छ, के–के छन् सुविधा, फाइदा के ? भन्ने नै थाहा हुँदैन अनि तेरा लागि गर्दैको है भन्नुहुन्छ। ’

हरिले थपे, ‘बीमालाई मात्रै होइन, अभिकर्ता पेसालाई पनि आजसम्म धेरैले नराम्रो नै भन्छन्। अभिकर्ता पेसालाई कतिले नकारात्मक रुपमा लिन्छन् भने कतिले सकारात्मक रुपमा लिन्छन्। अभिकर्ता पेसा अपनाउनु भनेको फलामको चिउरा चपाउनुजस्तै हो। यस पेसामा लागेपछि धेरै आरोप, प्रत्यारोप, दुःख, संघर्ष, तीता बचन त खेप्नु नै पर्छ। तर, यी सबैको समिश्रणमा घुलमिल भएपछि केही होइन भनेर सकारात्मक कदम चाल्यो भने त्यो नकारात्मक भन्ने पनि एक दिन सकारात्मक हुन्छ। त्यसका लागि अभिकर्ताले सकारात्मक सन्देश प्रवाह गरेर कसैलाई भ्रममा नपारी बीमा व्यापार गर्नुपर्छ।’
अभिकर्ता पेसामा सफल हुनका लागि मेनहत, संघर्ष, लगनशील, सकारात्मक विचार, बीमा बुझाउन सक्ने क्षमता र आत्माविश्वास हुनुपर्ने हरिको भनाइ छ। ‘यस पेसामा सफल हुनका लागि सपना देखेरमात्रै हुँदैन। पूरा गर्नका लागि सम्भावित ग्राहक खोजेर विश्वासको व्यापार गरी भ्रमको खेतीलाई रोक्नुपर्छ अनि सफल भइन्छ’, उनले भने।
बीमाको महत्वलाई हरिले एउटै वाक्यमा व्याख्या गर्दै भने, ‘बीमा भनेको आमा हो। जसरी आमाले आफ्नो सन्तानको सुरक्षाका लागि हरपल लडिरहन्छिन्, त्यस्तै बीमाले पनि आफ्नो ग्राहकको सुरक्षाका लागि प्रयत्न गर्दछ।’
हरिले २०२६ को एमडीआरटीको लक्ष्य पूरा गरेका छन्। यतिमात्रै होइन उनले ब्रोजन क्लब, सिल्भर क्लब र डायमन्ड क्लबअन्तर्गतका अवार्डहरु पाएका छन्।
हरिले दुःख र संघर्षको मिश्रणमा आफूले गरेको अथाह प्रयासबाट सिटिजन लाइफले दिएको सफलतामा गर्व गर्दै भने, ‘आज मैले पाएको सफलतामा बाटो देखाउने र सधैँ होसला दिने सिटिजन लाइफ हो। यस कम्पनीका टिमले मलाई दिएको साथका कारण आज म यो ठाउँमा छु। मेरा ग्राहकले मलाई गरेको विश्वासले मेरो जीवनका खुड्किलाहरुमा दुःखेका दुःखाइहरुका मलम सफलताले लगाउन सफल भएको छु। आगामी दिनमा पनि कम्पनीका साथ, सहयोग र ग्राहकको विश्वासलाई गुम्न नदिई अझै निष्ठ भएर काम गर्ने प्रतिबद्धता व्यक्त गर्दछु।’












