काठमाडौं । मानिसको जीवनमा हरेक उतारचढाव आउँछन्। सधैँको समय एकनास हुँदैन। समयले दिएको हरेक राम्रा र नराम्रा कुराहरुलाई स्वीकार्दै अगाडि बढ्नु नै जीवन हो भन्ने सिद्धान्त बोकेका व्यक्ति हुन्, प्रणव जोशी। व्यवस्थापन संकायमा स्नाकोत्तर उत्तीर्ण अनि पेसा स्कुलमा प्रोगाम कोअर्डिनेटर।
स्कुलकै जागिरमा आफ्नो जीवन जोखिरहेका प्रणवले बीमा व्यवसायबाट पनि आम्दानी गर्न सकिन्छ भन्ने कहिल्यै सोचेका थिएनन्। बीमाबारेमा धेरथोर ज्ञान भए पनि प्रणव अभिकर्ता पेसाबारे गहिरो जानकार थिएनन्।
प्रणव २०४३ सालमा ललितपुरको पाटनमा जन्मिएका हुन्। प्रणवको बाल्यकाल सुखमय रुपमा रमाइलोसँग बित्यो। सहरमै हुर्किए पनि प्रणव कहिल्यै पनि मात्तिएर हिँडेनन्। जीवनमा दुःख र संघर्ष गर्नुपर्छ अनिमात्रै जीवनले सार्थकता पाउँछ भन्ने हेतुले नै उनी अगाडि बढिरहे।

प्रणव हाल काठमाडौँ वर्ल्ड स्कुलमा कार्यरत छन्। अहिले उनले बीमालाई पार्टटाइम अर्थात् फुर्सदको समयमा गर्दै आइरहेका छन्। स्कुले जागिर, बीमामा दिनुपर्ने समय र अनेकौँ बाधाबीच पनि बीमालाई अँगालेर सबैको पहुँचमा बीमा पुर्याउनुपर्छ, बीमा सबैले बुझनुपर्छ र सबैले बीमा गर्नु पनि पर्छ भनेर उनी लागिपरेका छन्। स्कुलको समय भ्याएपछि अनि छुट्टीको समयमा बीमा बुझाउँदै हिँड्ने गरेको उनी बताउँछन्।
शुद्ध स्कुलको जागिरमा व्यस्त प्रणवलाई एकजना चिनेको सर अरुण आचार्यले बीमा अभिकर्ता पेसा जोडिन सल्लाह दिए। उनलाई ती सरले भने, ‘फुर्सदको समयमा गर्न सकिने र आफ्नो आफन्त, चिनेजानेका व्यक्ति र साथीभाइलाई बीमामा समेट्न सकिने भएकाले बीमा अभिकर्ता बनेर काम गर्दा धेरै राम्रो हुन्छ।’
उनै सरको कुराबाट प्रणव अभिकर्ता पेसामा जोडिन प्रेरित भए। अनि २०८० सालमा सिटिजन लाइफबाट लाइसेन्स लिएर काम गर्न थाले। अभिकर्ता पेसामा जोडिएपछि मात्रै उनले अभिकर्ता पेसामा बिना लगानी पनि मनग्य आम्दानी गर्न सकिने रहेछ भन्ने थाहा पाए।
बीमा क्षेत्रमा जोडिएको छोटो समयमै प्रणवले राम्रो कार्यप्रदर्शन गर्न सफल भए। उनले पहिलो बीमा आफ्नै साथीलाई गराए। धेरै बीमा नबुझिसकेको समयमा एक्कासि बीमा बुझाएर व्यापार ल्याउन त सुरुआती समयमा उनलाई गाह्रो नभएको भने पक्कै होइन। तर, ब्रान्च तथा हेड अफिसका सिनियर टिमबाट सहयोग भएका कारण त्यो चुनौतीलाई पनि उनले सहजै पार गर्दै गए। बीमा बुझाउँदै जाँदा उनी आफैँले सिक्दै गए। ‘मलाई थाहा नभएको कुरासमेत बीमा क्षेत्रले सिकायो’, उनी भन्छन्।

देशमै बसेर राम्रो भविष्य बनाउँछु भन्नेका लागि बीमा अभिकर्ता पेसा उपयुक्त गन्तव्य
देशमै बसेर राम्रो भविष्य बनाउँछु भन्नेका लागि बीमा क्षेत्र उपयुक्त गन्तव्य हुन सक्ने प्रणवको बुझाइ छ। ‘यस पेसामा सबथोक छ। मान, सम्मान र इज्जत छ। अरुको देशमा गएर गर्ने दुःख र मेहनत आफ्नै देशमा गर्यो भने बीमा क्षेत्र आम्दानीको हिसाबले उर्बर क्षेत्र हो’, उनले भने।
प्रणव भन्छन्, ‘फुर्सदको समयलाई सदुपयोग गरेर मैले बीमा क्षेत्रबाट धेरै राम्रा कुरा सिक्ने मौका पाएँ। यस क्षेत्रले मलाई धेरै कुरा सिकायो।’ उनी यस पेसामा जोडिएपछि आर्थिक रुपमा सबलमात्रै भएनन्। उनको जनसम्पर्क पनि विस्तार हुँदै गायो। हरेक मानिससँग सम्बन्ध स्थापित हुँदै गयो। पैसाका साथ–साथै उनले समाज, साथीभाइ तथा आफ्ना आफन्तलाई बीमाको दायरामा समेट्न पाए। ‘बीमा नबुझेकाहरुलाई बुझाउन पाएको छु। यसमा म धेरै खुसी छु’, उनले भने।
बीमा अभिकर्ता पेसा आर्थिक तथा सामाजिक रुपले उत्कृष्ट पेसा भएकाले यसा पेसामा लागेर सन्तुष्ट रहेको प्रणव बताउँछन्। बिनालगानी नै मेहनतका साथ लागिपर्ने जो कोही पनि यो पेसामा सफल हुने उनले बताए। नेपाली समाजमा अझै पनि बीमा चेतनाको कमी रहेको उनको बुझाइ छ। ‘केही प्रतिशत मानिसमात्रै बीमाको पहुँचमा आएका छन्’, उनले थपे, ‘दूरदराजमा रहेका नेपालीमा अझै पनि बीमा चेतनाको अभाव छ। बीमाको दायरा बढाउनका लागि बीमा कम्पनी र अभिकर्तामात्रै नभएर सरकार नै लागिपर्नु पर्छ।’
बीमा गर्न चुनौती नै रहेको प्रणवको बुझाइ छ। समय दिनुपर्ने र बीमामा त विश्वास नै बेच्नुपर्ने उनको भनाइ छ। ‘आफैँले बुझेर बीमा गर्न आउने त धेरै कम मानिस छन्’, उनी भन्छन्, ‘बीमा भनेको विश्वास बेच्ने पेसा भएकाले सबै कम्पनीका अभिकर्ताले बीमाको सत्यतथ्य कुरामात्रै बजारमा सम्प्रेषण गर्न आग्रह गर्छु। एकजनाले गर्दा सिंगो बीमा बजार नै बिग्रने हुँदा सबैले राम्रा र सत्य कुरालाई फैलाउनुपर्छ।’
यस पेसामा क्षमतावान र दीर्घकालीन काम गर्छु भनेर आएका बीमा अभिकर्तामात्रै सफल हुने प्रणवको बुझाइ छ। ‘असल, धैर्यता, बीमाबारेको ज्ञान, सकारात्मक सोच, वास्तविकतालाई दर्शाउन सक्ने खुबीलगायत बीमाबारेमा पूर्ण रुपमा जानकार भएको व्यक्ति यस पेसामा सफल हुन्छन्’, उनी भन्छन्।

बीमाको धेरै फाइदा रहेको प्रणव बताउँछन्। ‘बीमा बचत र लगानी दुवै हो। बीमा भनेको आर्थिक नोक्सान हुँदा दिइने क्षतिपूर्ति हो’, उनी भन्छन्, ‘आफू हुँदा आफूलाई र आफू नहुँदा परिवारलाई सहायता हुने, एकैचोटी धेरै लगानी गर्नुनपर्ने थोरै लगानीबाट दुर्घटना, भवितव्य पर्दा अनि पोलिसीमा तोकिएको रोग लाग्दा सहानुभूति पाइने, पूर्ण रुपमा अपांगता भएमा जिउने माध्यम नै बीमा हो। बीमा दुःखको साथी, वृद्धको सहारा हो। सहज र सुखको लगानी, असहज र दुःखको खजाना हो। त्यसकारण बीमा आफूलाई चाहिँदा खरिद गरेजस्तो साधान होइन। बीमा त सहज परिस्थिति हुँदा खरिद गरी असहज समयमा काम लाग्ने सारथि हो।’
आफ्नो जागिर भ्याएर पनि प्रणव बीमामा त्यत्तिकै सक्रिय छन्। उनले कम्पनीले दिने हरेक लक्ष्य प्राप्त गर्ने प्रयास गर्दछन्। कम्पनीका उच्च पदका कर्मचारी र सिंगो टिमले गरेको सहयोगको प्रशंसा गर्दै प्रणव भन्छन्, ‘कम्पनीको सपोर्टकै कारण आज मैले बीमा क्षेत्रमा पनि अगाडि बढ्ने मौका पाएँ। ग्राहकले गरेको विश्वासका कारण बीमा बजारमा परिचित हुन पाएँ। यसमा मलाई गर्व छ। कम्पनीप्रति म सधैँ कृतज्ञ छु।’
प्रणवले ब्रोन्ज क्लब, डायमन्ड क्लब, हिरो अफ द मन्थलगायतका स्किमअन्तर्गत अवार्ड पाएका छन्। यसका साथै उनी सन् २०२६ को एमडीआरटी क्वालिफायरसमेत हुन्। उनले कम्पनीका स्किम पूरा गरेर विभिन्न ठाउँ घुम्ने मौकासमेत पाएका छन्।












