काठमाडौं । नेपाल लाईफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीइओ) प्रविण रमण पराजुलीले कम्पनीले २५ वर्षको इतिहासमा १२२ खर्ब रूपैयाँ बीमितलाई भुक्तानी दिएको भ्रामक तथ्याङ्कसहित झूठो दाबी गरेका छन्।
उनले कम्पनीको आधिकारिक टिकटक अकाउण्टबाट सार्वजनिक १ मिनेट २६ सेकेण्ड लामो भिडियो सन्देशमा भनेका छन, नमस्ते नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड संस्थाको आफ्ना बीमितहरू प्रतिको कमिटमेण्ट (प्रतिबद्धता) लाई आजको दिनसम्मको २५ वर्षको इतिहासमा १२२ खर्बको ‘पेआउट'(भुक्तानी) गरेर पुरा गरेको छ। उनले यसलाई अझ प्रष्ट्याउँदै भनेका छन्, जसमध्ये , ‘मचुरिटी’, ‘सर्भाइभल’, ‘डेथ क्लेम’ तीनटा रहन्छ। जसमध्ये ‘डेथ क्लेम’ मात्रको पे आउट हेर्नुभयो भने, ९ खर्ब ३४ अर्बको ‘डेथ क्लेम’ को पेआउट संस्थाले गरेको छ। जुन अघिल्लो आर्थिक वर्ष २०८२।८३ को हिसाबले पलिसी नम्बरको हिसाबले ९९.१३ प्रतिशत रहेको व्यहोरा जानकारी गराउन चाहान्छु।
उनले कम्पनीको आधिकारिक सामाजिक सञ्जाल टिकटक मार्फत् सार्वजनिक गरेको भिडियो सन्देशमा थप भनेका छन्, तसर्थ संस्थागतरूपमा संस्थाले यी परिसूचकांकहरू हरेक क्वार्टरमा नेपाल बीमा प्राधिकरणले तोकेको एउटा स्ट्रकचर(संरचना)मा प्रकाशन गरिराको हुन्छ। कुनै पनि अन्य अनाैपचारिक असंगठित क्षेत्रबाट संस्थाकोबारेमा दिइएको जानकारी वा भनिएका कुराहरू संस्थासँग वा संस्थाका परिसूचकांकहरूसँग मिलेको छ वा छैन भनेर जानेर बुझेर मात्रै संस्थाप्रतिको विश्वासलाई अझै अटुट बनाउनुहुनेछ भन्ने मैले विश्वास राखेको छु।
कम्पनीका असन्तुष्ट अभिकर्ताहरूले धमाधम बीमालेख समर्पण गराउने अभियान सञ्चालन गरेसँगै बीमालेख समर्पण दर बढेपछि कम्पनीको तर्फबाट बचाउ गर्दै प्रमुख कार्यकारी पराजुलीले भिडियो सन्देश जारी गर्ने क्रममा झूठो दाबी गरेका हुन् । (हेर्नुहोस् भिडियो)

उनले गरेको झूठो दाबी पत्याउने हो भने नेपाल लाईफले नेपाल सरकारको २०८३।८४ को वार्षिक बजेट(२१ खर्ब २४ अर्ब ३४ करोड) को ६ गुणा रकम बीमितलाई २५ वर्षको अवधिमा दाबी भुक्तानी गरेको भन्ने अर्थ लाग्छ।
यसबारे प्रतिकृयाका लागि पराजुलीलाई मोबाइल फोनमा सम्पर्क गर्दा उनले फोन सम्पर्कमा आउन चाहेनन् ।
नेपाल लाईफको आर्थिक वर्ष २०८१।८२ को लेखा परिक्षण प्रतिवेदन अनुसार कम्पनीले त्यो वर्षसम्ममा जम्मा १०३ अर्ब अर्थात् १ खर्ब ३ अर्ब रूपैयाँ दाबी भुक्तानी गरेको छ।
नेपाल लाईफ इन्स्योरेन्सको आर्थिक वर्ष २०८१।८२ को लेखा परिक्षण प्रतिवेदन अनुसार, यसको जीवन बीमा कोष जम्मा २ खर्ब ३२ अर्ब ७४ करोड रूपैयाँ रहेको छ। यो आ.व.२०८०।८१ मा रु. १ खर्ब ९५ अर्ब ७ करोड ४६ लाख रहेको थियो । आ.व. २०८२।८३ को अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको जीवन बीमा कोषमा जम्मा २ खर्ब ७३ अर्ब५५ करोड रूपैयाँ रहेको छ।
नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशिलदेब सुबेदीले सर्वसाधारणलाई भ्रममा पार्ने गरी जानकारी वा तथ्याङ्क प्रकाशन प्रशारण गर्ने जोसुकै विरूद्ध नियामकीय कारवाही हुने प्रतिकृया दिए ।












