काठमाडौं । नेपाल धितोपत्र बोर्ड र टोरोन्टो सेन्टरका प्रतिनिधिबीच क्षमता अभिवृद्धि सम्बन्धमा अन्तर्क्रिया सम्पन्न भएको छ।
वित्तीय क्षेत्रका नियामक निकायको क्षमता अभिवृद्धि गरी वित्तीय क्षेत्रको प्रभावकारी नियमन र सुपरिवेक्षणमार्फत वित्तीय स्थायित्व, वित्तीय संकटको पूर्वतयारी तथा सुदृढ वित्तीय प्रणालीको प्रवर्द्धन गर्ने उद्देश्यसहित स्थापित अन्तर्राष्ट्रिय संस्था टोरोन्टो सेन्टरबाट नेपालको वित्तीय क्षेत्रका नियामक निकायहरुको नियमन तथा सुपरिवेक्षण प्रणालीको वर्तमान अवस्था मूल्यांकन, नियामकीय तथा सुपरिवेक्षकीय कार्यसँग सम्बन्धित विद्यमान चुनौती र आवश्यकताको विश्लेषण गरी आवश्यक कार्ययोजना पहिचान गर्न आएको प्रतिनिधिमण्डल र धितोपत्र बोर्डका उच्च पदस्थ कर्मचारीबीच भदौ ३० गते र मंसिर १ गते बोर्डमा छलफल तथा अन्तर्क्रिया सम्पन्न भएको हो।
कार्यक्रममा नेपालको धितोपत्र बजारको कानूनी तथा नियामकीय व्यवस्था, बजारको समग्र अवस्था, संस्थागत स्रोतसाधन, बजार सहभागी, बजारमा उपलब्ध वित्तीय उत्पादन तथा उपकरण, बजार आचरण, लगानीकर्ताका गुनासा तथा उजुरी व्यवस्थापन, वित्तीय सेवामा उपभोक्ताको पहुँच तथा वित्तीय साक्षरता अभिवृद्धि, विद्यमान सीमितता तथा चुनौतीलगायतका विषयमा धितोपत्र बोर्डका कार्यकारी निर्देशकलगायत उच्च पदस्थ कर्मचारीबाट प्रस्तुतीकरण भएको थियो। धितोपत्र बजारको प्रभावकारी नियमन, बजारको विकास विस्तार, वित्तीय प्रणालीमा जलवायु परिवर्तन तथा वातावरणीय जोखिमबाट पर्न सक्ने प्रभाव, ग्रीन फाइनान्सिङका लागि भएका पहल, बजार सहभागीको गतिविधिको उपयुक्त निगरानी तथा सुपरिवेक्षणका लागि आवश्यक सूचना प्रविधि पूर्वाधारलगायतका संस्थागत क्षमताबारे समेत छलफलमार्फत वर्तमान अवस्थाको मूल्यांकन गरिएको थियो।
उक्त कार्यक्रमबाट नेपालको धितोपत्र बजारको नियामकीय तथा सुपरिवेक्षकीय अवस्थाको मूल्यांकन, संस्थागत क्षमता अभिवृद्धिका आवश्यकता पहिचान तथा आगामी दिनमा जोखिममा आधारित सुपरिवेक्षण लगायतका नियामकीय अभ्यासलाई अन्तर्राष्ट्रिय मापदण्ड तथा असल अभ्यासअनुरुप थप प्रभावकारी बनाउन आवश्यक कार्यदिशा तय गर्न सहयोग पुग्ने धितोपत्र बोर्डले अपेक्षा गरेको छ।











