काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रविण रमन पराजुलीसँग नेपाल बीमा प्राधिकरणले झूठो तथ्य सार्वजनिक गरेकोमा जवाफ मागेको छ।
बीमा व्यवसाय सम्बन्धमा भ्रामक जानकारी सार्वजनिक गरेको विषयमा बीमा प्राधिकरणले पराजुलीसँग जवाफ मागेको हो । सीईओ पराजुलीले कम्पनीको आधिकारिक सामाजिक सञ्जालमार्फत् बीमा दाबी सम्बन्धमा भ्रामक तथ्याङ्क सार्वजनिक गरेको विषयमा तीन दिनभित्र जवाफ पेश गर्नु भन्दै बुधबार पत्र जारी गरेको हो।
झूठ बोल्न थाले नेपाल लाईफका सीईओ पराजुली, १२२ खर्ब रूपैयाँ भुक्तानी दिएको दाबी
प्राधिकरण सम्बद्ध श्रोतका अनुसार, १२२ खर्ब रूपैयाँ बीमा दाबी वापत भुक्तानी गरेको लगायतका दाबी भुक्तानी सम्बन्धी गलत तथ्याङ्क कम्पनीको आधिकारिक सामाजिक सञ्जाल(फेसबुक,टिकटक) लगायतबाट प्रशारण गरेको विषयमा लिखित जवाफ पेश गर्न निर्देशन दिइएको हो । पराजुलीले गलत तथ्याङ्क प्रस्तुत गरेर सर्वसाधारणलाई भ्रममा पारेको विषयमा इन्स्योरेन्स खबरले समाचार प्रकाशन गरेपछि प्राधिकरणले ध्यानाकर्षण जनाउँदै जवाफ पेश गर्न निर्देशन दिएको हो ।
इन्स्योरेन्स खबरको फ्याक्ट चेकपछि नेपाल लाईफले टिकटकबाट हटायो भिडियो
तोकिएको समयभित्र जवाफ प्राप्त भएपछि जवाफ चित्त बुझ्दो नभएको अवस्थामा बीमा ऐन २०७९ को प्रावधान अनुसार कारवाहीको बाँकी प्रकृया अघि बढाइने प्राधिकरणले जनाएको छ ।












