काठमाडौं । नबिल फाउन्डेसनको पहलमा धुलिखेल अस्पतालमा जलन वा आगोले पोलेका बिरामीको विशेष उपचारका लागि निर्माण गरिएको ‘नबिल बर्न केयर वार्ड’ औपचारिक रूपमा उद्घाटन गरिएको छ। नबिल बैंकका अध्यक्ष निर्वाण चौधरीले मंगलबार वार्डको उद्घाटन गरेका हुन्।
उद्घाटनपछि लिङ्क्डइन सामाजिक सञ्जालमा लेखेको स्टाटसमा चौधरीले आफ्ना पिता डा. विनोद चौधरीको सोचबाट प्रेरित भएर यो अभियान शुरू गरिएको बताए। उनका अनुसार नबिल फाउन्डेसनको बर्न केयर कार्यक्रममार्फत अहिलेसम्म ५०० भन्दा बढी आगोले पोलेका बिरामीको उपचारमा सहयोग पुगिसकेको छ। बिरामीले स्वास्थ्य लाभ गरी आत्मनिर्भर बन्न सकून् भन्ने उद्देश्यले कृत्रिम अङ्ग (प्रोस्थेटिक) र पोषण सहयोगका कार्यक्रम पनि सञ्चालन गरिएका छन्।
चौधरीले अब मधेश र लुम्बिनीमा विशेषज्ञ बर्न केयर सेवा पुर्याउने योजना रहेको जानकारी दिए। धेरैभन्दा धेरै परिवारको नजिक यस्तो सेवा पुर्याउने लक्ष्य रहेको उनले बताए। उनले धुलिखेल अस्पतालका संस्थापक तथा कार्यकारी निर्देशक डा. राम कान्त मकाजु श्रेष्ठ र उहाँको टोली तथा फाउन्डेशनका सबै सहकर्मीप्रति आभार व्यक्त गरे।
यस वर्ष गत जुन महिनामा नबिल बैंक र धुलिखेल अस्पतालबीच साझेदारी सम्झौता भएको थियो। सम्झौताअनुसार नबिल बैंकले बर्न क्रिटिकल केयर, कृत्रिम अङ्ग जडान तथा पुनःस्थापना र डायलासिस सेवा विस्तारका लागि ६ करोड रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने भएको थियो। तीन वर्षे यो सम्झौता अन्तर्गत १० शय्याको बर्न केयर इकाइ र विभिन्न प्रदेशमा पुनःस्थापना सुविधा विस्तार गरिने उल्लेख छ। यो पहलको व्यवस्थापन र कार्यान्वयन धुलिखेल अस्पतालले गर्नेछ।
नबिल बैंकले यसअघि पनि विभिन्न प्रदेशमा बर्न उपचार शिविर सञ्चालन गर्दै आएको छ।











