काठमाडौं । नेपालको अटोमोबाइल क्षेत्रकी अग्रणी कम्पनी सिप्रदी ट्रेडिङ प्रालिको कर्जा रेटिङ इक्रा नेपालले पुन: पुष्टि गरेको छ। प्रतिवेदन अनुसार कम्पनीको दीर्घकालीन कर्जा सीमातर्फ `एल त्रिपल बी माइन` र अल्पकालीन कर्जा सीमातर्फ `एथ्री` रेटिङ कायम राखिएको छ।
अघिल्ला दुई वर्षको नाफामा परेको दबाब कम हुँदै जाँदा आर्थिक वर्ष २०८२।८३ मा कम्पनीको सञ्चालन मुनाफा मार्जिन बढेर करिब ४.४ प्रतिशत पुगेको छ, जुन अघिल्लो वर्ष २०८१।८२ मा करिब २.७ प्रतिशत मात्र थियो। ब्याजदरमा आएको कमी, ऋणको भार घट्नु र कार्यशील पुँजी मा सुधार भई ३१ प्रतिशतमा झर्नुले कम्पनीको नगद प्रवाह र तरलता (ड्रइङ पावरमा करिब ५५ प्रतिशत सहजता) बलियो बनेको छ।
इक्रा नेपालको प्रतिवेदन र वित्तीय तथ्याङ्कले नेपालको अटोबजारमा विद्युतीय सवारीसाधनको बढ्दो प्रभावसँगै सिप्रदीले मिश्रित तथा संवेदनशील अवस्थाको सामना गरिरहेको देखाउँछ।
सिप्रदीको कुल सञ्चालन आम्दानी आर्थिक वर्ष २०७९।८० मा रु. २८,९५५ मिलियन रहेकोमा २०८०।८१ मा घटेर रु. १८,३०४ मिलियनमा झरेको थियो। त्यसपछि २०८१।८२ मा रु. २४ अर्ब ८ करोड २० लाख पुगे पनि २०८२।८३ को अस्थायी तथ्याङ्कअनुसार यो सामान्य घटेर रु. २३ अर्ब ९० करोडमा सीमित भएको छ। आर्थिक वर्ष २०८२।८३ मा यात्रुवाहक सवारीसाधन को बिक्रीमा करिब २१ प्रतिशतको गिरावट देखियो, जसलाई मालवाहक सवारीसाधनको करिब ६ प्रतिशतको वृद्धिले आंशिक रूपमा मात्र सन्तुलनमा राख्यो।
आर्थिक वर्ष २०८२।८३ मा सिप्रदीको सवारीसाधन बिक्रीबाट हुने कुल राजस्वमा विद्युतीय सवारीसाधनको हिस्सा करिब ३९ प्रतिशत छ। तर, आर्थिक वर्ष २०८३।८४ देखि लागू भएको मूल्यमा आधारित कर प्रणालीले ईभीको मूल्य बढाउँदा मागमा दबाब पर्ने जोखिम बढेको छ।
विद्युतीय यात्रुवाहक सवारीसाधनमा बिवाइडी र एमजी जस्ता ब्रान्ड तथा आइसतर्फ ह्युण्डाइ, किया र सुजुकीको तीब्र प्रतिस्पर्धाले बजार हिस्सा जोगाउन कठिन बनाएको छ। साथै, जेठ २०८३ देखि करिब तीन महिना नयाँ मालवाहक सवारीसाधनको दर्ता/आयात अस्थायी रूपमा रोकिनु र काठमाडौँ उपत्यकाभित्र नयाँ सार्वजनिक यात्रुवाहक सवारीसाधन दर्तामा कायम प्रतिबन्धले परिमाण र कारोबारमा प्रत्यक्ष असर पारेको छ। अर्कोतर्फ, चिनियाँ विद्युतीय सवारीसाधनको बढ्दो उपलब्धताले लाइट कमर्सियल भेहिकल र छोटो दूरीका सार्वजनिक बसमा समेत उपभोक्ताको रुचि परिवर्तन भइरहेको छ।
सिप्रदी ट्रेडिङ र नेपाली विद्युतीय दुईपाङ्ग्रे निर्माता यात्री मोटरसाइकल्स बीच साझेदारी भई ‘सिप्रदी यात्री प्रालि’ मार्फत नेपाली सडक तथा भूगोल सुहाउँदो विद्युतीय दुईपाङ्ग्रे उत्पादन र बजारीकरण अघि बढाइएको छ। परम्परागत रूपमा आयात र वितरणमा आधारित अटोमोबाइल व्यवसायभन्दा बाहिर निस्केर स्वदेशी डिजाइन, एसेम्बली/उत्पादन र चार्जिङ इकोसिस्टममा हात हाल्नु सिप्रदीका लागि दुईपाङ्ग्रे ईभी बजारमा प्रवेश गर्ने महत्वपूर्ण पाइला हो।
नेपालको कमर्सियल सवारीसाधन बजारमा सिप्रदीको हिस्सा करिब ६६ प्रतिशत रहे पनि चिनियाँ विद्युतीय सवारीको आगमनले हलुका मालबाहक सवारी र सर्ट-हल बसमा चुनौती थपेको छ। ‘टाटा मोटर्स’ सँगको सहकार्यमा प्रतिस्पर्धी इलेक्ट्रिक कमर्सियल मोडेल समयमै बजारमा ल्याउन सके मात्र परम्परागत बजार जोगाउन सकिन्छ।











