काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले ठगी तथा संगठित अपराध सम्बन्धी कसूरमा संलग्न रहेको आरोपमा दुई पूर्वश्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीसहित ६ जनालाई पक्राउ गरेको छ।
ब्यूरोले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै काठमाडौं, ललितपुर र सर्लाहीका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरी अनुसन्धान भइरहेको जानकारी दिएको हो।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारको पत्र तथा विकास रानाभाटसमेतको जाहेरीका आधारमा नेपाल सरकार प्रतिवादी कैलाश खड्का समेत भएको उक्त मुद्दामा अनुसन्धान अगाडि बढाइएको सीआईबीले जनाएको छ।
प्रेस विज्ञप्तिअनुसार मलेसिया सरकार र नेपाल सरकारबीच भएको समझदारी विपरीत हुने गरी गैरकानुनी रूपमा ठगी गरी संकलन गरिएको रकममध्ये ८३ लाख ७० हजार ४३९.९२ अमेरिकी डलर र ३७ लाख १७ हजार ९८०.८० बेलायती पाउन्ड गरी जम्मा १ अर्ब ६९ करोड २ लाख २४ हजार २६ रुपैयाँ ठगीमा संलग्नता देखिएको छ।
सम्झौताको दायरा र कानुनी प्रक्रियाविपरीत क्षेत्राधिकार नाघेर बदनियतपूर्वक विदेशी मुद्रा अपचलन गराई देशको अर्थतन्त्र प्रतिकूल (मुद्रा सञ्चितीकरणमा नोक्सानी) हुने निर्णय गरी संगठित समूहको लाभका लागि श्रमिकहरूलाई संगठित रूपमा ठगी गर्ने कार्यमा संलग्न रहेको आरोप छ। साथै, पदीय जिम्मेवारी र कर्तव्यविपरीत कानुनी उपचार नगरी गैरकानुनी रूपमा संकलित रकम मलेसिया पठाउने निर्णय गर्ने कार्यमा संलग्नहरूमाथि कारबाही प्रक्रिया अघि बढाइएको विज्ञप्तिमा उल्लेख छ।
पक्राउ पर्नेहरू को-को हुन्?
काठमाडौं जिल्ला अदालत, बबरमहलबाट पक्राउ पुर्जी जारी गर्ने अनुमति लिई सीआईबीले निम्न ६ जनालाई पक्राउ गरेको छ:
शेर बहादुर कुँवर (६० वर्ष) – तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री (स्थायी घर अछाम, चौरपाटी गाउँपालिका–४; हाल ललितपुर, महालक्ष्मी नगरपालिका–५)।
रामेश्वर राय यादव (६१ वर्ष) – तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री (सर्लाही, चक्रघट्टा गाउँपालिका, बेल्ही)।
बिनोद के.सी. (६४ वर्ष) – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका तत्कालीन सचिव (ललितपुर महानगरपालिका–२३)।
उमेश ढुंगाना (५१ वर्ष) – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, तत्कालीन रोजगार व्यवस्थापन महाशाखा प्रमुख, सह-सचिव (काठमाडौं, गोकर्णेश्वर नगरपालिका–५)।
राजिव पोखरेल (५३ वर्ष) – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, तत्कालीन रोजगार व्यवस्थापन महाशाखा प्रमुख, सह-सचिव (ललितपुर महानगरपालिका–१५)।
निर्मला गुरुङ (४९ वर्ष) – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, रोजगार व्यवस्थापन महाशाखाका तत्कालीन कानुन अधिकृत, उप-सचिव (काठमाडौं महानगरपालिका–९, भत्केकोपुल)।
सीआईबीका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अनुपम शमशेर ज.ब.रा. द्वारा जारी विज्ञप्तिअनुसार पक्राउ परेका सबैमाथि ठगी तथा संगठित अपराध निवारण ऐन, २०७० अन्तर्गतको कसूरमा थप अनुसन्धान भइरहेको छ।











