काठमाडौं । नेपालका बीमा कम्पनीहरूमा उच्च पदमा पुग्न महिलाहरूलाई जति कठिन छ, पुगिसकेपछि त्यहाँ टिकिरहन अझै चुनौतीपूर्ण बनेको देखिएको छ। नेपाल बीमा प्राधिकरणको प्रतिवेदन अनुसार तल्लो तहमा पुरुषहरूले बढी जागिर छाड्ने गरे पनि उच्च तहमा भने महिलाहरूले कम्पनी छाड्ने दर पुरुषको तुलनामा निकै उच्च छ।
नेपाल बीमा प्राधिकरणको “इन्स्योरेन्स थ्रु अ जेण्डर लेन्सः अ फेमा मिटर एसेसमेण्ट इन नेपाल” विषयक अध्ययन प्रतिवेदन अनुसार, जीवन बीमा कम्पनीहरूको सञ्चालक समितिबाट बाहिरिने महिलाको दर १०.५ प्रतिशत छ, जबकि पुरुषको हकमा यो दर ४.५ प्रतिशत मात्र छ। त्यसैगरी कार्यकारी तहबाट बाहिरिने महिला ७.७ प्रतिशत र पुरुष ५.६ प्रतिशत रहेका छन्। निर्जीवन बीमा कम्पनीमा कार्यकारी तह छाड्ने महिला ९.१ प्रतिशत र पुरुष ७.७ प्रतिशत छन् भने लघु निर्जीवन बीमामा २५ प्रतिशत महिला कार्यकारीले पद छाडेका छन् जहाँ पुरुषको दर ५.३ प्रतिशत मात्रै छ।
यसको ठीक उल्टो, तल्लो तहमा भने पुरुषहरूले बढी जागिर छाड्ने गरेका छन्। जीवन बीमाका म्यानेजर तहमा १२.१ प्रतिशत पुरुष र ६.४ प्रतिशत महिलाले कम्पनी छाडेका छन्। समग्र जीवन बीमा कर्मचारीमा १२ प्रतिशत पुरुष र ८.५ प्रतिशत महिलाले जागिर छाडेका छन्। यस्तै लघु जीवन बीमामा ५२.३ प्रतिशत पुरुष कर्मचारीले जागिर छाड्दा महिलाको दर ३०.८ प्रतिशत मात्रै छ।
उच्च पदमा पुगेका महिलाहरूलाई कम्पनीमै टिकाइराख्नु बीमा क्षेत्रका लागि ठूलो चुनौतीका रूपमा देखिएको छ। प्राधिकरणले महिलाहरूले उच्च पद छाड्नुका मुख्य कारणहरू खोज्न र उनीहरूलाई टिकाई राख्न विशेष प्रोत्साहन योजना ल्याउन सुझाव दिएको छ।











