काठमाडौं । विश्वभरका प्रयोगकर्ता तथा व्यवसायहरूमा देखिएको माइक्रोसफ्ट ३६५ र एक्सचेन्ज अनलाइनको प्राविधिक समस्याका कारण बीमा कम्पनीहरूले करिब ७० करोड अमेरिकी डलर सम्मको बीमा दाबी बेहोर्नु पर्ने अनुमान गरिएको छ।
साइबर जोखिम विश्लेषण फर्म कोभर का सह(संस्थापक तथा प्रमुख उत्पादन अधिकृत शालोम बुब्लिललाई उद्धृत गर्दै बिजनेस रेकर्डरले यो समाचार प्रकाशित गरेको छ।
नोभेम्बर १२ को दिउँसोतिर सुरु भएको यस प्राविधिक अवरोधका कारण विश्वभरका धेरै व्यावसायिक प्रयोगकर्ताहरू आउटलुक, टिम्स र कोपाइलट जस्ता सेवाबाट टाढिएका थिए। माइक्रोसफ्टले नेटवर्क क्षमता स्तरोन्नतिसँग जोडिएको प्राविधिक समस्याका कारण सेवामा अवरोध आएको र यो कुनै साइबर आक्रमण नभएको स्पष्ट पारेको छ।
यस घटनाले तेस्रो पक्षको प्रविधि प्रणालीमा आउने अवरोध र बिजनेस इन्टरप्सन (व्यवसाय अवरुद्ध हुँदा हुने घाटा) बीमा दाबीसँग जोडिएका प्राविधिक तथा नीतिगत पक्षहरूलाई पुनः चर्चामा ल्याएको छ।
साइबर बीमालेखहरूमा सामान्यतया व्यवसाय अवरुद्ध भएको क्षति दाबी गर्न निश्चित प्रतीक्षा अवधि तोकिएको हुन्छ, जुन साना संस्थाका लागि औसतमा करिब ४ घण्टा र ठूला संस्थाका लागि ८ देखि १२ घण्टा वा सोभन्दा बढी हुन सक्छ। दाबी मान्य हुन संस्थाले उक्त अवधिभन्दा लामो समय अवरोध व्यहोरेको र वास्तविक नाफा वा आम्दानीमा क्षति पुगेको प्रमाण देखाउनुपर्ने हुन्छ।
धेरै साइबर बीमालेखहरूले तेस्रो पक्षका विक्रेताको अवरोधबाट हुने कन्टिन्जेन्ट बिजनेस इन्टरप्सन लाई समेटे पनि कतिपय नीतिमा साइबर हमला वा दुर्भावनापूर्ण कार्यसँग जोडिएका सर्तहरू फरक हुन सक्छन्। त्यसैले दाबी प्रक्रियामा नीतिगत सर्तहरूको सूक्ष्म जाँच हुने विश्लेषकहरू बताउँछन्।
उड्डयन, सरकारी तथा सार्वजनिक सेवा, वित्तीय सेवा, स्वास्थ्य सेवा, कर्पोरेट सञ्चालन र दूरसञ्चार क्षेत्र यस अवरोधबाट बढी प्रभावित क्षेत्रहरूमा परेका छन्।
आउटेजबाट हुने कुल बीमा क्षतिको आँकडा संस्थाअनुसार फरक फरक देखिएको छ। कोभर ले करिब ७० करोड डलर, मोर्निङस्टार डीबीआरएसले ३० करोडदेखि ५० करोड डलर र मार्स रि र विज्ञहरूले सीमित वा न्यून असर पर्ने अनुमान गरेका छन् ।
अर्कोतर्फ, आर्थिक परामर्शदाता एन्डरसन इकोनोमिक ग्रुपको गणनालाई उद्धृत गर्दै सीएनएनले प्रकाशित गरेको रिपोर्टअनुसार अवरोधका कारण हुने समग्र उत्पादकत्व र आर्थिक खर्च भने ७ अर्ब डलरसम्म पुग्न सक्ने अनुमान गरिएको छ। माइक्रोसफ्टले शुक्रबारसम्म सेवाहरू सामान्य अवस्थामा फर्किँदै गएको जनाएको छ।











