काठमाडौं । कार्यस्थलमा हुने एउटै सानो दुर्घटनाले कर्मचारीको जीवन परिवर्तन गर्न सक्छ भने रोजगारदाता वा व्यवसायीका लागि ठूलो आर्थिक भार निम्त्याउन सक्छ। यस्तै भवितव्य र कानुनी दायित्वबाट बच्नका लागि कर्मचारी क्षतिपूर्ति बीमा हरेक रोजगारदाताका लागि अत्यावश्यक सुरक्षा कवच बनेको छ।
कर्मचारी क्षतिपूर्ति बीमालाई श्रमिक क्षतिपूर्ति बीमा पनि भनिन्छ । यसले जागिर वा रोजगार अवधिमा वा कामको सिलसिलामा हुने दुर्घटना, चोटपटक, अपांगता वा मृत्यु भएको खण्डमा वित्तीय सुरक्षा प्रदान गर्दछ। यस बीमा योजनाअन्तर्गत रोजगारदाताले आफ्नो खल्तीबाट ठूलो रकम क्षतिपूर्ति दिनुको सट्टा बीमा कम्पनीले बीमा सर्तअनुसार योग्य क्षतिपूर्ति रकम व्यहोर्ने गर्दछ।
श्रम ऐन, २०७४ ले श्रमिकको सामाजिक सुरक्षा र कार्यस्थलको सुरक्षालाई अनिवार्य गरेको छ। ऐनअनुसार कार्यस्थलमा दुर्घटना भएमा वा कामको सिलसिलामा श्रमिकको मृत्यु वा अंगभंग भएमा रोजगारदाताले ठूलो रकम क्षतिपूर्ति र उपचार खर्च व्यहोर्नुपर्ने कानुनी व्यवस्था छ। कम्तीमा ७ लाख रुपैयाँको दुर्घटना बीमा गरेको हुनुपर्छ। यस्तो अवस्थामा यो बीमा नेपाली व्यवसायीहरुका लागि कानुनी दायित्व पूरा गर्ने सबैभन्दा सुरक्षित माध्यम हो।
कसका लागि आवश्यक छ यो बीमा ?
धेरैजसो व्यवसायी कार्यस्थलको दुर्घटना उद्योग वा कारखाना मा मात्र हुन्छ भन्ने भ्रममा पर्छन्। तर, दुर्घटना जुनसुकै क्षेत्रमा पनि हुन सक्छ। विशेषगरी निर्माण व्यवसायी र इन्जिनियरिङ फर्म, उत्पादनमूलक उद्योग तथा कारखाना, होटल, रेस्टुरेन्ट तथा हस्पिटल, यातायात, लजिस्टिक तथा डेलिभरी सेवा, बैंक, वित्तीय संस्था, आईटी कम्पनी र शैक्षिक संस्था र साना, मझौला तथा स्टार्टअप कम्पनीका लागि आवश्यक छ।
कम्पनीमा ५ जना कर्मचारी होऊन् या ५ हजार, कार्यस्थलको जोखिम सधैँ रहिरहन्छ। अफिसभित्र लड्नु, करेन्ट लाग्नु, मेसिनरी दुर्घटना हुनु वा कार्यक्षेत्रको कामले बाहिर जाँदा सडक दुर्घटना हुनुजस्ता सबै जोखिम यसअन्तर्गत पर्दछन्।
बीमाले के–के जोखिम व्यहोर्छ ?
एउटा स्तरीय कर्मचारी क्षतिपूर्ति बीमाले कार्यस्थलमा हुने आकस्मिक चोटपटक र उपचार खर्च, अस्थायी वा स्थायी पूर्ण अपांगता, स्थायी आंशिक अपांगता, कार्यस्थलमा हुने दुर्घटनाका कारण मृत्यु, व्यावसायिक रोगहरु र रोजगारदाताको कानुनी दायित्वको जोखिम बहन गर्छ। तर, कामको समयभन्दा बाहिर वा व्यक्तिगत कारणले भएका दुर्घटना, आफैँले नियोजित रुपमा पुर्याएको चोटपटक र मादक पदार्थ वा लागूऔषध सेवन गरी काम गर्दा भएको दुर्घटनामा भने बीमा दाबी गर्न पाइँदैन।
यो बीमाले अचानक आइपर्ने ठूलो आर्थिक भारबाट जोगिन सकिन्छ। कम्पनीको नगद प्रवाह सुरक्षित रहन्छ र कानुनी झन्झटबाट मुक्ति मिल्छ। कर्मचारीहरुमा आफ्नो सुरक्षाप्रति विश्वास बढ्छ। सुरक्षित कार्यस्थलको प्रत्याभूतिले कर्मचारीहरुको कार्यक्षमता र उत्पादकत्वमा वृद्धि ल्याउँछ।
साना कम्पनीहरुसँग पर्याप्त आकस्मिक कोष नहुने भएकाले दुर्घटना हुँदा उनीहरु झन् बढी आर्थिक संकटमा पर्छन्। सुरक्षा उपायले जोखिम कम गर्छ। तर, पूर्णरुपमा निर्मूल पार्न सक्दैन। स्वास्थ्य बीमाले उपचार खर्चमात्र व्यहोर्छ तर दुर्घटनापछिको अपांगता वा मृत्युबापत दिनुपर्ने कानुनी क्षतिपूर्ति व्यहोर्दैन। यसका लागि कर्मचारी क्षतिपूर्ति बीमा नै चाहिन्छ।
कार्यस्थलको एउटै दुर्घटना तपाइँको व्यवसायका लागि संकट नबनोस् भन्नका लागि आजै उपयुक्त बीमा योजना छनोट गरी आफ्नो व्यवसाय सुरक्षित गर्नुहोस्।












