काठमाडौं । निजी क्षेत्रबाट प्रवर्द्धित पुनर्बीमक हिमालयन रिइन्स्योरेन्सको नयाँ पुनर्बीमा कारोबार शुक्रबार पुनः शुरू भएको छ। नेपाल बीमा प्राधिकरणले गत बैशाख ३१ गते असार मसान्तसम्मका लागि हिमालयन रिइन्स्योरेन्सको नयाँ पुनर्बीमा कारोबारमा रोक लगाएको थियो।
नयाँ पुनर्बीमा सम्झाैतामा नेपाल बीमा प्राधिकरणले लगाएको प्रतिबन्ध असार ३२ गते सकिएपछि साउन १ गतेबाट नयाँ अार्थिक वर्ष २०८३।८४ लागेसँगै हिमालयन रिइन्स्योरेन्सले नयाँ पुनर्बीमा सम्झाैता गर्ने र नयाँ जोखिम स्वीकार्ने बाटो खुलेको हो ।
नेपाल बीमा प्राधिकरणले पत्रिकामा प्रकाशन गरेको सूचनामा बीमा ऐन२०७९ को दफा १३६ को उपदफा (४) बमोजिमको कारवाही गरेको उल्लेख थियो । यो दफामा प्राधिकरणले नियामकीय कारवाहीस्वरूप इजाजतपत्र निलम्बन वा व्यवसाय गर्न रोक लगाउने व्यवस्था छ।
के के छ बीमा ऐनको दफा १३६ मा
(१) कुनै बीमकले देहायको कुनै काम गरेमा प्राधिकरणले त्यस्तो बीमकको इजाजतपत्र तोयकएको अवधिको लागि निलम्बन गरन वा त्यस्तो बीमकलाई बीमा व्यवसाय गर्न आंशिक वा पूर्णरुपमा रोक
लगाउन सक्नेछः
(क) दफा ३६ को व्यवस्था बमोजिम न्यूनतम् चुक्ता पूँजी कायम नगरेमा,
(ख) दफा १२८ वा १२९ को व्यवस्था बमोजिम दाबी भुक्तानी वा हानी नोक्सानीको सम्बन्धमा भएको निर्णय तोकिएको अवधिभित्र कार्यान्वयन नगरेमा,
(ग) बीमकलाई बीमा व्यवसाय सञ्चालन गर्न दिंदा बीमितको गम्भीर अहित हुने भएमा,
(घ) प्राधिकरणको स्वीकृति बिना बीमा व्यवसाय बन्द गरेमा,
(ङ) यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम, विनियम तथा प्रचलित कानून बमोजिम निषेध गरिएका अन्य कुनै कार्य गरेमा,
(च) प्राधिकरणले दिएको निर्देशन वा आदेश पटक पटक उल्लङ्घन गरेमा।
(२) उपदफा (१) बमोजिम बीमकको इजाजतपत्र निलम्बन गर्न वा बीमा व्यवसाय पूर्ण वा आंशिकरुपमा रोक लगाउनुअघि प्राधिकरणले सम्बन्धित बीमकलाई स्पष्टीकरण पेश गर्ने मनासिब माैका दिनुपर्नेछ।
(३) उपदफा (२) बमोजिम बीमकले पेश गरेको स्पष्टीकरण सन्तोषजनक देखिएमा प्राधिकरणले त्यस्तो निलम्बन वा रोक्का फुकुवा गर्न सक्नेछ।
(४) उपदफा (१) बमोजिम बीमकलाई बीमा व्यवसाय गर्न पूर्ण वा आंशिकरुपमा रोक लगाइएकोमा त्यसको सूचना कम्तीमा दुईवटा राष्ट्रिय स्तरको दैनिक पत्रिका तथा प्राधिकरणको वेबसाइटमार्फत सर्वसाधारणको जानकारीका लागि प्रकाशन गर्नुपर्नेछ।












