काठमाडौं । मनसुन प्रतिकार्य कमाण्ड पोष्टको दोस्रो बैठकले भारी वर्षाको जोखिमलाइ मध्यनजर गर्दै विभिन्न २३ जिल्लामा रात्रीकालीन सवारी अावागमन बन्द गर्न निर्देशन दिएको छ। बैठकले जल तथा मौसम विज्ञान विभागको माैसम पूर्वानुमान महाशाखाबाट जारी माैसमी सूचनाका अाधारमा सतर्कता अपनाउँदै अावश्यकता अनुसार यातायात बन्द गर्न निर्देशन दिएको हो।
महाशाखाले साउन २ र ३ गते कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भूभागका एकदुई स्थानमा अति भारी वर्षाको सम्भावना रहेको सूचना सार्वजनिक गरेको छ।

माैसम पूर्वानुमान महाशाखाका अनुसार, कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका थोरै स्थान तथा मधेश, बागमती र गण्डकी प्रदेशको तराईको एकदुई स्थानमा भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको छ। महाशाखाले कोशी प्रदेश अन्तर्गतको पाँचथर, इलाम, झापा, संखुवासभा, तेह्रथुम, भोजपुर, खोटाङ, धनकुटालाइ खतराको सूचीमा राखेको छ। यसैगरी बागमती प्रदेश अन्तर्गतको सिन्धुली, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट, चितवन, धादिङलाइ प्रतिकार्य गर्नुपर्ने सूचीमा राखेको छ। गण्डकी प्रदेश अन्तर्गतका, गोरखा, लमजुङ, कास्की, तनहुँ, पर्वत, बागलुङ, म्याग्दी र स्याङ्जालाई पनि रातो रङ अर्थात् प्रतिकार्य गर्नुपर्ने सूचीमा राखिएको छ।
कमाण्ड पोष्टले बैठकपछि विज्ञप्ती जारी गर्दै यी जिल्लाका जिल्ला सुरक्षा समिति र स्थानीय तहलाई उच्च सतर्कता अपनाउँदै अचानक बाढी, पहिरो, कटान, गेग्रान बहाव, शहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम रहेका स्थानमा रात्रीकालीन सवारी आवागमन बन्द गर्न स्थानीय प्रशासनलाइ निर्देशन दिएको छ।
कमाण्ड पोष्टका अनुसार, जोखिमयुक्त राजमार्ग र सडकहरूमा डोजर, एक्साभेटर, लोडर लगायतका तयारी अवस्थामा राखिएको छ। पूर्वसूचना तथा चेतावनी अनुसार जोखिमयुक्त स्थानमा बसोबास गर्ने व्यक्ति र घरपरिवारलाई विपद् आउनुपूर्व नै आवश्यकता अनुसार सुरक्षित स्थानमा स्थानान्तरण गर्न जिल्ला सुरक्षा समितिलाई बैठकले अनुरोध गरेको छ।












