काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यान्सासको विचिटामा एउटा चुनावी भेलामा फ्रान्समा भइरहेको अशान्तिलाई औँल्याएका छन्। उनले आगामी मध्यावधि चुनावको महत्वमा जोड दिए र समर्थकहरुलाई चेतावनी दिए कि अमेरिकाले यस्तो अवस्थाबाट बच्नुपर्छ।
ट्रम्पले फ्रान्समा हिंसा र विनाशका लागि ‘आप्रवासी, जिहादी र कम्युनिस्ट’लाई दोष दिएका छन्। उनले वामपन्थी युरोपेली नेताहरुलाई ‘पश्चिमी मूल्य–मान्यताहरुलाई कमजोर पार्ने’ आप्रवासन नीतिहरु अपनाएको आरोप लगाए।
अमेरिकी अवस्थालाई युरोपसँग तुलना गर्दै राष्ट्रपति ट्रम्पले देशले युरोपले गरेका गल्तीहरुबाट बच्नुपर्ने बताए। ट्रम्पले भने, ‘ग्लोबल वाम युरोपले लाखौँ तेस्रो विश्वका आप्रवासीहरुलाई ल्याइरहेको छ। जसको पश्चिमी मूल्यमान्यताहरुसँग कुनै सम्बन्ध छैन। तिनीहरु फ्रान्सका बारेमा सबै कुरालाई घृणा गर्छन्। तिनीहरुले त्यो देशलाई बर्बाद गरिरहेका छन्। हामी हाम्रो देशमा त्यस्तो हुन दिने छैनौँ।’
पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले आफूले फ्रान्सेली राष्ट्रपतिलाई देशको सिमाना बन्द गर्ने बारेमा पहिले नै चेतावनी दिइसकेको बताए। ‘फ्रान्समा के भइरहेको छ त्यो स्कुल वा अरु कुनै चीजको कारणले होइन। यो आप्रवासनको कारणले हो’, ट्रम्पले भने। –एजेन्सी












