काठमाडौं । नेपालका जीवन बीमा कम्पनीहरूमा केही अभिकर्ता तथा कम्पनीहरूले एमडीआरटी (मिलियन डलर राउण्ड टेबल) को लोगो प्रयोग गर्ने अभ्यासबारे प्रश्न उठ्न थालेको छ। बीमा व्यवसायमा बीमाशुल्क संकलनको लक्ष्य पुरा गर्नु महत्त्वपूर्ण उपलब्धि भए पनि निर्धारित योग्यता पूरा गरी आधिकारिक सदस्यता प्राप्त नगरेसम्म कसैलाई एमडीआरटी सदस्यका रूपमा प्रस्तुत गर्न मिल्दैन।
एमडीआरटी अन्तर्राष्ट्रिय स्तरको व्यवसायिक संस्था हो, जसले जीवन बीमा तथा वित्तीय सेवा क्षेत्रमा कार्यरत योग्य व्यवसायीहरूलाई निश्चित मापदण्डका आधारमा सदस्यता प्रदान गर्छ। केवल बीमालेख बिक्री गर्नु, ग्राहकबाट बीमालेख बिक्रीवापत बीमाशुल्क संकलन गर्नु वा कम्पनीले तोकेको व्यवसायिक लक्ष्य पूरा गर्नु मात्रै एमडीआरटी सदस्यताको प्रमाण होइन।
नेपालमा जीवन बीमा अभिकर्ताहरूले व्यवसाय विस्तारका क्रममा एमडीआरटीको नाम र लोगो प्रयोग गर्दा सदस्यताको वास्तविक अवस्था स्पष्ट पार्नु आवश्यक छ। आधिकारिक सदस्यता प्राप्त नगरेका व्यक्तिले आफू एमडीआरटी सदस्य भएको भान पर्ने गरी लोगो प्रयोग गरेमा त्यसले ग्राहक, सहकर्मी तथा बीमा क्षेत्रका अन्य सरोकारवालालाई भ्रमित पार्न सक्छ।
त्यस्तै, बीमा कम्पनीहरूले आफ्ना अभिकर्ताको उपलब्धि सार्वजनिक गर्दा एमडीआरटीको योग्यता पूरा गरेको अवस्था, सदस्यताका लागि योग्य भएको अवस्था र आधिकारिक सदस्यता प्राप्त गरेको अवस्थाबीच स्पष्ट भिन्नता राख्नुपर्छ। कम्पनीको आन्तरिक लक्ष्य वा बीमाशुल्क संकलनको उपलब्धिलाई स्वतः एमडीआरटी सदस्यताको रूपमा प्रचार गर्नु उचित हुँदैन।
एमडीआरटी को नाम र लोगो व्यक्तिगत प्रचारको साधन मात्र होइन, संस्थाको पहिचानसँग जोडिएको विषय हो। त्यसैले यसको प्रयोग गर्दा आधिकारिक नियम, सदस्यता मापदण्ड र ब्रान्डसम्बन्धी निर्देशिकाको पालना गर्नु आवश्यक छ।
हालै एमडीआरटी संस्थाले नेपालका केही जीवन बीमा कम्पनीहरूले सामाजिक सञ्जालमार्फत् आफूखुशी एमडीआरटी, टिओटी, सिओटी घोषणा गरेकोमा लिखितरूपमै आपत्ती जनाउँदै बीमकको प्रमुख कार्यकारी अधिकृतहरूलाइ सचेत गराएको छ। एमडीआरटीको लोगो दुरूपयोग नगर्न सचेत गराउँदै यस्तो घटना दोहोरिएमा कानूनी उपचार खोज्ने चेतावनी समेत दिएको छ।
बाैद्धिक सम्पत्ती संरक्षण सम्बन्धी कानूनले नेपालमा बाैद्धिक सम्पत्तीका रूपमा दर्ता नभएका ब्राण्डको हकमा सम्बन्धित संस्था वा व्यक्तिले कानूनी उपचार पाउँदैनन् । ब्राण्ड दुरूपयोग भएको अवस्थामा कानूनी उपचारका लागि सम्बन्धित कम्पनीले आफ्नो ब्राण्ड नेपालमा कम्पनी रजिष्ट्रारको कार्यालयमार्फत् अनिवार्य दर्ता गराएको हुनुपर्छ।
बीमा क्षेत्रको व्यावसायिक मर्यादा कायम राख्न सम्बन्धित कम्पनी, अभिकर्ता र नियामक निकायले सदस्यता दाबी तथा लोगो प्रयोगको विषयमा स्पष्टता अपनाउनु महत्त्वपूर्ण देखिन्छ।












