काठमाडौं । हालै नेपालमा जलवायु परिवर्तनका कारण उत्पन्न जटिल मौसमी तथा हिमाली विपद्हरू विशेषगरी भोटेकोशी र बुढीगण्डकी नदीमा आएका विनाशकारी बाढीहरूले निम्त्याएको संकट र आन्तरिक विस्थापनको अवस्था अत्यन्त गम्भीर बन्दै गएको छ।
जलवायु परिवर्तनका कारण हिमालयी क्षेत्रमा हिमनदी पग्लिने, प्रतिफ्रोस्ट पग्लिने तथा चट्टानहरूमा पानीको चाप बढ्ने जस्ता प्रक्रियाहरू तीब्र बनेका छन्। यसले भोटेकोशी र बुढीगण्डकी जस्ता नदी बेसिनहरूमा आकस्मिक बाढी, पहिरो र हिमनदी फुटेर आउने विपद्हरूको जोखिम अत्यधिक बढाएको छ।
भोटेकोशी र बुढीगण्डकीमा आएको बाढीका कारण हजारौं नागरिकहरू आफ्नो घरबार छोडेर सुरक्षित स्थानमा विस्थापित हुन बाध्य भएका छन्। आइओएमको प्रतिवेदनले पनि विश्वव्यापी रूपमा जलवायु र विपद्जन्य आन्तरिक विस्थापनले नयाँ कीर्तिमान कायम गरिरहेको देखाएको छ, जसको प्रत्यक्ष मार नेपाल जस्ता हिमाली देशहरूमा परेको छ।
बाढी तथा गेग्रानसहितको लेदो प्रवाहले नदी किनारका बस्तीहरू, जलविद्युत आयोजनाहरू, मोटरबाटो, झोलुङ्गे पुल तथा सडक सञ्जालहरूमा ठूलो क्षति पुर्याएको छ। यसले स्थानीय बासिन्दाहरूको जीविकोपार्जन पूर्ण रूपमा खोसिएको छ भने मानिसहरूलाई लामो समयसम्म अस्थायी शिविर वा अन्यत्र शरण लिनुपर्ने बाध्यता सिर्जना गरेको छ।
जलवायु परिवर्तनले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा मानिसहरूलाई आफ्नो थातथलो छाड्न बाध्य पार्छ। बाढी, पहिरो, आकस्मिक बाढी र चक्रवातले मानिसहरूलाई एकैक्षणमा घरबारविहीन बनाउँछ, जसले गर्दा उनीहरू तत्काल आन्तरिक रूपमा विस्थापित हुन्छन्। तापक्रम वृद्धि, हिमनदी पग्लिने क्रम, खडेरी, कृषि उत्पादनमा ह्रास, भूमिगत जलस्तर घट्ने र समुद्रको सतह वृद्धिसँगै आउने नुनिलो पानीको प्रभावले मानिसहरूको जीविकोपार्जनको आधार खोस्छ। जब स्थानीयस्तरमा टिक्ने अवस्था रहँदैन, तब मानिसहरू सुरक्षित र रोजगारीयुक्त क्षेत्रतर्फ आन्तरिक वा बाह्य आप्रवासन गर्न विवश हुन्छन्।
दक्षिण एसिया जलवायु परिवर्तनका कारण विश्वमै सबैभन्दा बढी जोखिममा रहेका क्षेत्रहरूमध्ये एक हो। अन्तर्राष्ट्रिय संस्था तथा आप्रवासन प्रतिवेदनहरूका अनुसार यस क्षेत्रमा बाढी, मुसलधारे वर्षा, खडेरी र चक्रवातका कारण हरेक वर्ष लाखौं मानिसहरू घरबारविहीन हुने गरेका छन्। मौसमजन्य विपद्का कारण यस क्षेत्रमा आन्तरिक विस्थापनको ग्राफ तीब्र रूपमा उकालो लागिरहेको छ भने करोडौं मानिसहरू पानीको संकट, नदीकटान र डुबानका कारण सुरक्षित भूभागतिर शरण लिन बाध्य भइरहेका छन्।
बंगलादेशमा जलवायु परिवर्तनको असर समुद्रको सतह वृद्धि, चक्रवात र लवणता अत्यधिक विकराल भए पनि धेरै प्रभावितहरू तुरुन्तै थातथलो छाड्न अनिच्छुक वा विचलित देखिन्छन्। पुर्खौंदेखि बसेको माटो, सामाजिक सम्बन्ध, रितिथिति र समुदायप्रतिको लगाव, नयाँ ठाउँमा गएर शून्यबाट जीवन सुरु गर्न ठूलो पुँजी र घडेरीको आवश्यकता पर्ने हुनाले गरिबीका कारण उनीहरूमा बसाइ सर्ने आर्थिक सामर्थ्य हुँदैन। तटीय क्षेत्रका बासिन्दाहरू माछापालन र कृषिमा निर्भर हुन्छन्। सहरतिर जाँदा आफूसँग भएको सीपले काम नपाउने र थप कष्टकर सुकुम्बासी जीवन बिताउनुपर्ने डरले उनीहरू जोखिम मोलेरै भए पनि पुरानै ठाउँमा बस्न बाध्य हुन्छन्।
नेपालको भौगोलिक बनावट अति संवेदनशील र कमजोर रहेको छ। भोटेकोशी, त्रिशूली, बुढीगण्डकी र तिनीहरूका सहायक नदी बेसिनहरूमा जलवायु परिवर्तनको प्रभावस्वरूप हिमनदी फुट्ने खतरा, अप्रत्याशित अतिवृष्टि र पहाडी क्षेत्रको निरन्तरको पहिरोले जोखिम दिनप्रतिदिन बढाइरहेको छ।
विशेष गरी रसुवा, बेत्रावती, धादिङ र नुवाकोट जस्ता नदी करिडोर र बेसी क्षेत्रहरूमा बाढी, लेदोसहितको पहिरो र नदीकटानको गम्भीर जोखिम विद्यमान छ। यदि समयमै व्यवस्थित बस्ती विकास, जोखिमयुक्त क्षेत्र पहिचान र वैज्ञानिक पूर्वसूचना प्रणाली लागू गरिएन भने, यी क्षेत्रहरूमा पनि मानिसहरू विस्थापित हुने र जीविकोपार्जन नै गहिरो संकटमा पर्ने निश्चितप्रायः छ।
वातावरणीय विनाश र जलवायुजन्य विपद्का कारण ग्रामीण क्षेत्रका बासिन्दाहरू सुरक्षित आवास र रोजगारीको खोजीमा सहरी क्षेत्र वा विदेशतर्फ बसाइ सर्ने प्रवृत्ति बढेको छ। आइओएमको प्रतिवेदनले औंल्याए झैं, जलवायुजन्य आप्रवासन र विस्थापनलाई सम्बोधन गर्न स्थानीय तथा समुदायस्तरको अग्रसरता, जोखिम संवेदनशील भूमि उपयोग योजना र प्रभावकारी पूर्वसूचना प्रणालीहरूको पूर्ण कार्यान्वयन तथा नीतिगत कडाइ अति आवश्यक भइसकेको छ।












