काठमाडौं । स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा सुधारका लागि भावी कार्यदिशा तय गरेको छ।
बोर्डले श्वेतपत्र जारी गर्दै भावी कार्यदिशा तय गरेको हो। स्वास्थ्य बीमा सुधारको यो सबैभन्दा उपयुक्त समय रहेको बोर्डको ठहर छ। स्वास्थ्य बीमाको प्रभावकारिताका लागि राजनीतिक तथा प्रशासनिक नेतृत्व प्रतिबद्ध भएकोले यस क्षेत्रमा हालसम्मका असल अभ्यासहरुलाई संस्थागत गर्दै विगतका अनुभव एवं भोगाइका आधारमा भावी कार्यदिशा तय गरी अगाडि बढ्ने अवसर प्राप्त भएको बोर्डले जनाएको छ।
यस्ता छन् भावी कार्यदिशा
स्वास्थ्य बीमामा सर्वव्यापी सहभागिता यसको न्यूनतम सर्त
सबै तहका जनप्रतिनिधि, नेपाल सरकारका विभिन्न निकायमा कार्यरत कर्मचारी, संगठित क्षेत्रमा कार्यरत व्यक्ति, वैदेशिक रोजगारमा जाने व्यक्ति तथा आमनागरिक र नेपालमा आउने विदेशी नागरिकलाई समेत स्वास्थ्य बीमामा अनिवार्य सहभागी हुने व्यवस्था मिलाईनेछ।
छरिएर रहेका स्वास्थ्य सहायता तथा अनुदानका कार्यक्रमको एकीकरण
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र नेपाल सरकारका विभिन्न निकायबाट स्वास्थ्य सहायताका धेरै कार्यक्रम समानान्तर रुपमा सञ्चालनमा छन्। यसै गरी प्रदेश सरकार र स्थानीय तहहरुले पनि नागरिकलाई उपचारका लागि सहयोग तथा अनुदान प्रदान गर्दै आएका छन्। यसरी छरिएर रहेका लम्बीय तथा क्षितिजीय कार्यक्रमलाई एकीकृत गरी स्वास्थ्य बीमा बोर्डअन्तर्गत ल्याइनेछ।
स्वास्थ्य बीमा बोर्डको वित्तीय दिगोपना सुनिश्चित गर्ने
स्वास्थ्य बीमा बोर्डको सरकारसँगको निर्भरता घटाउँदै लगिने साथै प्रशासनिक खर्चलाई निश्चित सीमा भित्र राखिने छ। बीमितको संख्या वृद्धि, छरिएर रहेका कार्यक्रमको एकीकरणले वित्तीय स्रोत व्यवस्थापनमा विशेष योगदान गर्नेछ। प्रिमियम निर्धारणमा वैज्ञानिक विधि अवलम्बन गर्नुका साथै प्रगतिशील प्रिमियम क्रमशः कार्यान्वयनमा ल्याइनेछ। साथै, स्वास्थ्य बीमा कोपमा थप स्रोत जुटाउनका लागि प्रदेश सरकार र स्थानीय तहको योगदानलाई समेत समेटिनेछ। विश्व अनुभव र नेपालको सम्भावना समेतको अध्ययन गरी स्वास्थ्यमा प्रतिकूल प्रभाव पार्ने वस्तु तथा सेवाको उत्पादन र उपभोगमा लाग्ने करको निश्चित अंश स्वास्थ्य बीमा कोषमा ल्याउन पहल गरिनेछ। यसैगरी थोरै योगदानबाट उल्लेख्य स्रोत जुटाउन मद्दत पुग्ने क्षेत्रहरु जस्तै पेट्रोलियम पदार्थ उपभोग, रिचार्ज कार्ड प्रयोग, हवाई उडान, विद्युतीय बैंकिङ कारोबारलगायतका क्षेत्रबाट स्वास्थ्य बीमा कोषमा केही रकम जम्मा हुने सम्भावनाबारे बहस चलाईनेछ। अन्य मुलुकले समेत प्रयोगमा ल्याएका स्वास्थ्य बीमा चिठ्ठा खेलाउनका लागि नेपाल सरकारसँग अनुमति प्राप्त गर्ने प्रयत्न गरिनेछ। बीमितबाट प्राप्त हुने आम्दानी र नेपाल सरकारको अनुदानका अतिरिक्त अन्य विभिन्न स्रोतबाट आम्दानी जुटाई स्वास्थ्य बीमा कोषलाई मजबुत बनाउँदै लगिनेछ। विगत लामो समयदेखि रुजु नभइरहेका दाबीको परीक्षण कार्य द्रुतताका साथ सम्पन्न गरी यसको भुक्तानीको प्रयास गरिनेछ। आगामी आर्थिक वर्षबाट दाबी प्राप्त भएको निर्धारित समयमा नै भुक्तानी गरी सक्ने प्रबन्ध मिलाइनेछ।
सेवाको गुणस्तर सुदृढ तुल्याउने
स्वास्थ्य बीमामा आबद्ध नागरिकले पाउनुपर्ने स्वास्थ्य सेवा सहज, सरल, सुलभ र गुणस्तरीय बनाइनेछ। सेवा प्रदायकले प्रदान गर्ने सेवाको मापदण्ड निर्धारण गरी प्रभावकारी रुपमा कार्यान्वयन गरिनेछ। सेवा प्रदायकको क्षमता अभिवृद्धिका लागि सहयोग गर्नुका साथै अनुगमनलाई प्रभावकारी बनाउने र सेवा प्रदायकको स्तरीकरण गर्ने विधि विकास गरिनेछ। बीमित व्यक्तिले पाउने सुविधालाई स्तरीय बनाउँदै लगिनेछ। देशका जुनसुकै स्थानबाट पनि बीमितले सेवा पाउने अवस्था बनाइनेछ।
सबै स्थानमा सक्षम प्रथम सेवा विन्दुको पहुँच पुर्याउने
देशका सबै स्थानीय तहमा प्रथम सेवा विन्दु सञ्चालनमा ल्याइनेछ। प्रथम सेवा विन्दुको क्षमता अभिवृद्धिका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग सहकार्य गरिनेछ। प्रेषण प्रणालीलाई अनलाईन बनाउनुका साथै थप व्यवस्थित गरिनेछ।
सेवाको दायरा बढाउने
स्वास्थ्य बीमाका विद्यमान प्याकेजको पुनरावलोकन गरी थप फराकिलो बनाइनेछ। जटिल प्रकृतिका उपचारमा प्राप्त हुने सुविधा थप गरिनेछ। सबै बिमितको सुविधाको थैली वृद्धि गरी व्यक्तिले उपचारमा गर्नुपर्ने खर्च घटाउँदै लगिने छ।
बोर्डका काम-कारबाही पूर्णस्वचालित बनाइने
स्वास्थ्य बीमा बोर्डले सम्पादन गर्नुपर्ने कार्यहरुलाई पूर्ण स्वचालित बनाउनका लागि अत्याधुनिक सूचना प्रविधिको प्रयोगमा जोड दिइनेछ। बोर्डमा प्रयोगमा रहेका सर्भरको क्षमता वृद्धि गर्ने, सफ्टवेयरमा सुधार गर्ने र जनशक्तिको क्षमता बढाउने कार्य गरिनेछ। बीमितको युनिक आईडी तयार पारी लागू गरिनेछ र यसका लागि राष्ट्रिय परिचयपत्र नम्बर प्रयोगको सम्भावना विश्लेषण गरिनेछ। बीमितले पाउने परिचयपत्र मेसिन रिडेबल डिजिटल कार्ड उपलब्ध गराइनेछ (बायोमेट्रिक लिने सम्भावनाको पनि अध्ययन गरिनेछ)। अटोमेसनका माध्यमबाट सेवामा सहजता ल्याउने, खर्च तथा आम्दानीलाई पारदर्शी बनाउने दाबीमा स्वच्छता कायम गर्ने र सेवाको गुणस्तरमा सुधार गरिनेछ।
दाबीमा स्वच्छता कायम गर्ने
सेवा प्रदायकबाट बीमितलाई प्रदान गरिने उपचार बोर्डले तोकिदिएको मापदण्डबमोजिम भए नभएको हेर्ने, उपचार ठीक ढंगबाट भए नभएको विश्लेषण गर्ने, सेवा प्रदायले प्रदान गरेको उपचारको खर्च दाबी ठीक भए नभएको जाँच्ने कार्यलाई थप व्यवस्थित बनाई दाबीमा स्वच्छता कायम गरिनेछ। आवश्यक परेमा टीपीएको समेत उपयोग गर्ने प्रयाससमेत गरिनेछ।
बोर्डको स्थायी संगठन संरचना तथा स्थायी दरबन्दी स्वीकृत गरी पदपूर्ति गरिने
बोर्ड स्थापनाको लामो समयसम्म बोर्डको स्थायी संगठन संरचना स्वीकृत हुन नसक्नु र स्थायी दरबन्दीसमेत स्वीकृत नहुँदा यसको कार्यसम्पादनमा नकारात्मक प्रभाव परेको छ। लामो समयदेखि करारमा कार्यरत कर्मचारीको व्यवस्थापनमा पनि प्रश्न उठ्दै आएको छ। कर्मचारीको छिटोछिटो फेरबदलले यसको संस्थागत विकासमा अवरोध ल्याएको छ। स्थायी संगठन संरचना र स्थायी दरवन्दी स्वीकृत गरी पदपूर्ति गर्ने कार्य प्राथमिकताका साथ अगाडि बढाइनेछ। साथै, यसका सबै कार्यालयहरु सरकारी भवनमा सार्ने प्रयास गरिनेछ। बोर्डले सीजीएएस र पीएएमएसलाई यसै आर्थिक वर्षमा प्रयोगमा ल्याइनेछ।
स्वास्थ्य बीमामा सुशासन
सुशासन बोर्डको सबैभन्दा पेचिलो विषय हो। बोर्डको उद्देश्य हासिल गर्न सुशासनको सुदृढीकरणलाई विशेष महत्व दिइनेछ र बोर्डका हरेक काम कारबाही विधिसम्वत एवं पारदर्शी बनाइनेछ।
स्वास्थ्य बीमामा रुपान्तरण
सामान्य सुधारवाट मात्र स्वास्थ्य विमाका समस्या सम्बोधन नहुने भएकाले स्वास्थ्य बीमा कार्यक्रममा देखिएका कमी कमजोरीलाई सम्बोधन गरी यसलाई देशको एक सफल र गौरवको कार्यक्रम बनाउनका लागि यस क्षेत्रमा योजनावद्ध ढंगबाट आमूल सुधार अर्थात रुपान्तरण गरिनेछ।