काठमाडौं । नेपालमा अधिकत्तर जनसंख्यामा बीमाको पहुँच विस्तार नहुँदा पनि बीमालेख समर्पण र ल्याप्स (व्यतित) हुने संख्या बर्सेनि बढ्दै गएको छ। यसरी बीमालेख समर्पण हुँदा बीमा बजारमा ठूलो रकम बाहिरिँदै आएको छ भने अर्कोतर्फ तोकिएको समयमा नवीकरण नगरिएका व्यतित बीमालेखको राशिको अंक पनि पनि उक्लिँदैछ।
नेपालको बीमा बजारमा बीमालेख व्यतित हुने संख्या उत्तिकै देखिन्छ। नियामकीय प्रावधानबमोजिम बीमालेख नवीकरण नगर्दा ल्याप्स हुने गरेको छ। यसरी बीमालेख ल्याप्स हुनुमा बीमितमात्रै दोषी नभएर बीमा कम्पनीहरु पनि उत्तिकै जबाफदेही रहेको देखिन्छ।
पछिल्लो बढ्दो प्रविधिको प्रयोगलाई आत्मसाथ गर्न नसक्दा बीमा बजारमा बीमालेख नवीकरण नहुनु र कतिपय बीमालेख व्यतित नै हुने गरेको देखिन्छ। बीमित र अभिकर्ता तथा बीमित र बीमकबीच समन्वय कम हुँदा यस्तो प्रवृत्ति बढ्दै गएको देखिन्छ।
नेपालमा अझै पनि ४३–४४ प्रतिशत जनसंख्यामात्रै बीमाको दायरामा रहेको छ। मुख्यगरी जीवन बीमा क्षेत्रमा बीमकभन्दा पनि अभिकर्ताको भूमिका महत्वपूर्ण हुन्छ। अभिकर्ताले सर्वसाधारणलाई बीमालेखबारे जानकारी गराउने, बीमा महत्व दर्शाउने र बीमा गरिसकेपछि पनि बेला–बेलामा बीमितको सम्पर्क गर्ने भूमिका निर्वाह गरिरहेका छन्। यद्यपि धेरैजसो अभिकर्ता आफ्नो जिम्मेवारीबाट बाहिरिने वा पन्छिने गर्छन्। जसले गर्दा बीमालेख समर्पण घटना बढ्नुका साथै नवीकरण थुप्रै बीमालेख व्यतित हुनु र ल्याप्ससम्म संख्या बढ्दै गएको छ।
अर्कोतर्फ अभिकर्ताले बीमितलाई राम्ररी बुझाइ बीमालेख बिक्री नगर्नु, बीमितलाई वित्तीय दबाब पर्नु, बीमाप्रति त्यति धेरै जागरुता नहुनु आदि पनि जीवन बीमा क्षेत्रमा केही समस्या देखिएका छन्।
बीमालेख समर्पण बढ्नुका केही कारण
जबरजस्ती बिक्री
मानिसको आय–आम्दानीलगायतका वित्तीय पक्षलाई मूल्यांकन नगरी अभिकर्ताले दबाबमा बीमालेख बिक्री गर्नुले पनि समर्पण बढाएको छ। बीमाबारे राम्ररी जानकारी नै नदिई बीमालेख बिक्री गर्नु पनि पनि अर्को कारण हुन सक्छ।
वित्तीय दबाब
वित्तीय दबाब स्थिति सिर्जना हुँदा पनि बीमितले बीमालेख समर्पण गर्ने गर्छन्। बीमालेख समर्पणपछि प्राप्त रकमले आफ्ना तत्काल देखिएका वित्तीय आवश्यकता (औषधि तथा स्वास्थ्य उपचारको बिल, घर मर्मतसम्भार र अन्य नसोचेका घटना) गर्ने गरेको पाइएको छ।
अन्य राम्रा विकल्प
बीमितले आफ्ना लागि अन्य राम्रो बीमा योजना फेला परेको खण्डमा पुरानो बीमालेख सपर्मण गर्छन्। कतिपय अवस्थामा अभिकर्ता आफैँले पनि बीमितलाई पहिलेको बीमालेख समर्पण गरी अर्को बीमा योजना लिन प्रस्ताव गर्ने गरेका छन्। यसले पनि समर्पण बढेको छ।
उच्च बीमाशुल्क
सुरुआती वर्षमा बीमाशुल्क उच्च भए पनि सहजै भुक्तानी गरिरहेका बीमितले पछि आर्थिक सन्तुलन बिग्रिएको खण्डमा पनि समर्पण गर्ने गर्छन्। आर्थिक सन्तुलन बिग्रिएको अवस्थामा बीमाशुल्क उच्च लागेपछि तिर्न नसक्ने भएपछि समर्पण गर्नुको अर्को विकल्प बीमितसँग रहँदैन।
न्यून बोनसदर
जीवन बीमा कम्पनीहरुले केही बीमा योजनामा न्यून बोनसदर कायम गरेका हुन्छन्। यही न्यून बोनसदरकै कारण बीमितले बीमालेख समर्पण गर्छन् र अर्को राम्रो बोनसदर भएका बीमा योजना लिन सक्छन्। यसले पनि बीमालेख समर्पण बढाएको छ।
बीमा ज्ञानको कमी
बीमा योजनाको मूल्य र मान्यता तथा लाभका विषयमा ज्ञान नहुँदा पनि बीमितले बीमालेख सपर्मण गर्ने गरेको पाइएको छ। बीमाले भविष्यमा आर्थिक सुरक्षा प्रदान गर्नुका साथै राम्रो आम्दानीको स्रोत पनि बन्छ भन्ने ज्ञान नहुँदा पनि समर्पण बढ्दै गएको पाइन्छ।