काठमाडौं । उपभोक्ता अदालतको गठन र सक्रियतासँगै बिरामीको उपचारमा लापरबाहीको मुद्दामा धमाधम चर्को जरिवानासहितको कारबाही हुन थालेपछि अस्पताल सञ्चालक र चिकित्सक दुवै चिन्तित बनेका छन्।
जटिल प्रकृतिको रोगको उपचारका क्रममा बिरामीको निधन भएको अवस्थामा चिकित्सक वा अस्पताल व्यवस्थापनको लापरबाहीका कारण वा सक्रिय प्रक्रियाबाट उपचार गर्दागर्दै घटना भएको हो भन्ने निर्क्यौल गर्ने विश्वसनीय आधार नभएको भन्दै चिकित्साकर्मीले अदालतको कारबाहीले असुरक्षाको माहोल बनाएको गुनासो गर्न थालेका छन्।
उपभोक्ता अदालतले जेठ २८ देखि असार १३ गतेसम्ममा गरेको ३ वटा फैसलामा अस्पताल र चिकित्सकविरुद्ध समेत गरेर पीडित बिरामी पक्षलाई २ करोड ५९ लाख रुपैयाँ जरिवानाको फैसला गरिसकेको छ। अदालतमा विचाराधीन अन्य मुद्दामा पनि बिरामीको पक्षमै अदालती फैसला आउने सम्भावना अधिक देखिएको छ।
यस्तो अवस्थामा चिकित्सकले कानुनी उपचारसँगै नीतिगत व्यवस्थाको अभाव खट्किएको महसुस गर्न थालेका छन्।
चिकित्सक र अस्पतालको लापरबाहीको घटनासम्बन्धी मुद्दामा अदालतले सुनुवाइ गर्न पाउने वा नपाउने भन्ने विषयमा चिकित्सकहरु कानुनी परामर्शमा जुटेका छन्।
उपचारमा हुने लापरबाहीविरुद्ध क्षतिपूर्तिका लागि उपभोक्ताले उपभोक्ता संरक्षण ऐन, २०७५ अन्तर्गत उपभोक्ता अदालतमार्फत क्षतिपूर्ति दाबी गर्न सक्छन्। उपचारमा संलग्न अस्पताल र चिकित्साकर्मीको लापरबाहीका कारण हुने क्षतिविरुद्ध पीडित पक्षलाई उपभोक्ता अदालतले छिटो छरितो न्याय दिने बाटो खोलेको छ।
अदालती सक्रियता र कारबाहीसँगै उपभोक्ता सचेत हुँदा अस्पताल व्यवस्थापन र उपचारमा संलग्न हुने चिकित्साकर्मीलाई जबाफदेही बनाउन यो न्यायिक प्रणालीले दबाब सिर्जना गरेको छ।
नेपालमा चिकित्सा क्षेत्रमा पारदर्शीता र जबाफदेहीताको कमी छ। उपभोक्ता अदालतले निजी अस्पतालहरुमा अनावश्यक जाँच र उपचारका आवरणमा उपभोक्तामाथि हुने ठगीविरुद्ध पनि कारबाहीहरु भविष्यमा प्रकाशमा आउन बाँकी नै छ।
चिकित्सकले गर्ने प्रत्येक उपचार सफल हुने सुनिश्चित गर्न सम्भव हुँदैन। उपभोक्ता अदालतले यस्ता जटिलतालाई पूर्ण रुपमा बुझ्न नसक्ने जोखिम छ। उपचारमा संलग्न स्वास्थ्यकर्मीबाट जानाजान वा अज्ञानतावश गल्ती गरेको हो भन्ने विषय उपभोक्ता अदालतले सही रुपमा मूल्यांकन गर्न गाह्रो हुन सक्छ।
डा अमित झाले चिकित्सा लापरबाही (मेडिकल नेग्लिजेन्स)को मामिलामा विशेषज्ञ समितिको आवश्यकता पर्ने भए पनि उपभोक्ता अदालतसँग यस्तो विशेषज्ञ उपलब्ध नहुँदा उपचारका क्रममा लापरबाही भए नभएको यकीन गर्ने काम अदालतबाट सही ढंगमा हुनेमा आशंका व्यक्त गरेका छन्।
चिकित्सकीय लापरबाहीका घटना बढ्दै जाँदा र उपभोक्ता अदालतले दण्डित गर्ने क्रम बढ्दै जाँदा नेपालमा चिकित्सा लापरबाही बीमाको आवश्यकता महसुस गरिएको छ। नेपालमा अझैसम्म पनि चिकित्सा लापरबाही (मेडिकल माल प्राक्टिस)को प्रचलन नगण्य छ।
भारतलगायतका अन्य विकसित मुलुकमा यस्तो बीमा सुविधा उपलब्ध छ। यो बीमालेखले उपचारका क्रममा हुने लापरबाहीका कारण बिरामीलाई पर्न जाने क्षतिको नोक्सानी व्यहोर्छ र चिकित्सकलाई भयबाट मुक्त राख्छ।
चिकित्सका लापरबाहीका कारण आइपर्ने कानुनी झमेलाको सामना गर्न लाग्ने खर्चको व्यवस्थापन पनि चिकित्सा लापरबाही बीमालेख गरिदिन्छ।
डाक्टरहरुलाई उपभोक्ता अदालतअन्तर्गत ल्याउनु बिरामीको हकहीत र जबाफदेहीता सुनिश्चित गर्न जायज भए पनि यो प्रक्रियालाई चिकित्सा क्षेत्रको जटिलता र डाक्टरहरुको आर्थिक अवस्थालाई ध्यानमा राखेर सन्तुलित बनाउनुपर्ने सम्बद्ध चिकित्सकहरुको सुझाव छ।
चिकित्सा लापरबाही बीमा नेपाल मेडिकल काउन्सिल, स्वास्थ्य मन्त्रालय वा स्वास्थ्य संस्था दर्ता तथा नियमनको अधिकार प्राप्त निकायहरुमा दर्ता भएका चिकित्साकर्मी र स्वास्थ्य संस्थाका उपलब्ध हुन्छ। यो बीमालेख बीमितले गरेको कुनै पनि कार्यबाट तेस्रो पक्षप्रति कुनै कानुनी दायित्व सिर्जना भएको अवस्थामा क्षतिपूर्ति दिन्छ। बीमितअन्तर्गत अस्पताल, चिकित्सक, उपचारमा प्रत्यक्ष संलग्न हुने सबैखाले जनशक्तिको जोखिम व्यहोर्छ। सामान्य अवस्थामा क्षतिपूर्तिका लागि सबै दाबी कानुनी रुपमा अदालतबाट स्थापित हुनुपर्छ।
कुनै पनि एक दुर्घटना वा कुनै एक वर्ष (प्रतिदुर्घटना, प्रतिबीमालेख वर्ष)का लागि बीमालेखअन्तर्गत दिइएको क्षतिपूर्तिको सीमा समान हुनेछ। चिकित्सा लापरबाही बीमाअन्तर्गत समेटिने मेडिकल व्यवसायीहरुलाई निम्न रुपमा वर्गीकृत गरिएको हुन्छः
१) चिकित्सक, २) प्याथोलोजिस्ट, ३) क्यान्सर विशेषज्ञ, ४) मुटु रोग विशेषज्ञ, ५) मनोचिकित्सक, ६) रेडियोलोजिस्ट वा रोन्टजेनोलोजिस्ट, ७) सामान्य सर्जन, ८) प्लास्टिक सर्जन, ९) अर्थोपेडिक सर्जन, १०) युरोलोजिस्ट, ११) पेटका सर्जन, १२) थोरासिक सर्जन, १३) न्युरो सर्जन, १४) कार्डियो–भास्कुलर सर्जन, १५) ओटोरहिनोलारिनोलोजिस्ट, १६) प्रोटोलोजिस्ट, १७) नेत्र रोग विशेषज्ञ, १८) नेत्र रोग चिकित्सक (शल्यक्रियाबाहेक), १९) प्रसूति तथा स्त्री रोग विशेषज्ञ, २०) चिकित्सक र गैरविशेषज्ञ सर्जन।
यो बीमाअन्तर्गत फौजदारी कार्य, मादकपदार्थ वा लागूपदार्थको प्रभावमा प्रदान गरिएका सेवा, तेस्रो पक्ष सार्वजनिक दायित्व, कस्मेटिक प्लास्टिक सर्जरीअन्तर्गत दाबी, कपाल प्रत्यारोपण, पञ्च ग्राफ्ट, फ्ल्याप रोटेसन आदिको उपचारका क्रममा हुने क्षतिको दाबी भने बीमकले व्यहोर्दैन।