IME Life New

मोटर दुर्घटनामा गर्भको शिशुको मृत्यु भए पनि बीमा कम्पनीले दिनुपर्छ क्षतिपूर्ति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सवारी दुर्घटनामा गर्भवती महिलाको गर्भ तुहिएको अवस्थामा मृत शिशुको हकमा समेत बीमकको दायित्व सिर्जना हुने नजिर नेपाल बीमा प्राधिकरणले स्थापित गरेको छ।

प्राधिकरणले मोटर बीमाअन्तर्गत तेस्रो पक्ष दुर्घटना बीमामा सवारीधनीले दुर्घटनामा प्रत्यक्ष रुपमा घाइते हुने वा ज्यान गुमाउने तेस्रो पक्षप्रतिको दायित्वमात्र नभएर तेस्रो पक्ष गर्भवती भए र दुर्घटनाकै कारण गर्भ तुहिएको अवस्थामा बीमकले क्षतिपूर्ति दिनुपर्ने आदेश ३ वर्षअघिको एउटा मुद्दामा दिएको हो।

Esewa
Crest

घटना विवरणअनुसार २०७४ साल साउन २६ गते नारायणी यातायात व्यवसायी संघमा आबद्ध ना.३.ख ५९६४ नम्बरको ट्रकले सिराहाको मिर्चैया वडा नं. ६ स्थित सडकमा स.१.च ८०० नम्बरको एम्बुलेन्समा ठक्कर दिँदा एम्बुलेन्समा सवार गर्भवती महिला प्रमिलादेवी महराको गर्भ तुहिएको थियो।

जिल्ला प्रशासन कार्यालय सिराहाले सवारीधनीका तर्फबाट नारायणी यातायात व्यवसायी संघमार्फत मृत शिशुको हकदारलाई नियमानुसार पाउने किरिया खर्च तथा क्षतिपूर्तिबापतको ५ लाख रुपैयाँ क्षतिपूर्ति दिलायो र क्षतिपूर्तिबापतको रकम बीमकबाट सोधभर्ना लिने गरी संघको नाममा सिफारिसपत्र जारी गरिदियो।

बीमक नेपाल इन्स्योरेन्सले गर्भमा रहेको शिशुको मृत्युप्रति बीमकको दायित्व उत्पन्न नहुने जिकीर गर्दै संघलाई क्षतिपूर्ति दिन इन्कार गर्यो। संघले क्षतिपूर्ति भराउन २०७६ माघ २८ गते साबिक बीमा समितिमा उजुरी दियो।

बीमा कम्पनीको जिकिर

दाबी अस्वीकार्दा नेपाल इन्स्योरेन्सले पेस गरेको तर्क, ‘मुलुकी देवानी संहिता, २०७४ को दफा २(ग) मा ‘व्यक्ति भन्नाले प्राकृतिक व्यक्ति सम्झनुपर्छ र सो शब्दले कानुनी व्यक्तिसमेत समेतलाई जनाउँछ’ भनी परिभाषा गर्दै सोही ऐनको दफा ३० मा ‘प्रत्येक व्यक्तिले जन्मनासाथ व्यक्तिको रुपमा मान्यता पाउनेछ र निज जीवित रहेसम्म कानुनबमोजिमको अधिकार उपभोग गर्न पाउनेछ’ भन्ने व्यवस्था भएकोले मृत शिशु व्यक्तिको मान्यता नहुने देखिन्छ।’

यसका साथै सवारीधनी रामबहादुर थिङले २०७६ जेठ २६ गते इन्स्योरेन्सबाट बीमित सवारीसाधनको ५ लाख ५९ हजार रुपैयाँको डिस्चार्ज भौचर हस्ताक्षर गरी दाबी रकम बुझी लिएर इन्स्योरेन्सलाई सम्पूर्ण दायित्वबाट उन्मुक्ति प्रदान गरेको जिकीर २०७६ फागुन २२ गते नेपाल इन्स्योरन्सले गरेको थियो।

समितिको ठहर

बीमा समितिले निवेदनको सुनुवाइ बीमक नेपाल इन्स्योरेन्सबाट प्रस्तुत जिकीर र उपलब्ध प्रमाणको रोहमा बीमितको पक्षमा २०७८ साल भदौ ३ गते आदेश जारी गर्यो। समितिको आदेशमा भनिएको छ, ‘बीमित ट्रकको दुर्घटनाको कारण तेस्रो पक्ष महिलाको गर्भमा रहेको बच्चाको मृत्यु भएको पुष्टि भई सो सम्बन्धमा बीमितको कानुनी दायित्वसमेत उत्पन्न भएको अवस्थामा बीमा ऐन, २०४९ को दफा ८( घ १) र बीमा नियमावली, २०४९ को नियम ३३ को उपनियम २ बमोजिम बीमितलाई तेस्रो पक्ष मृत्यु जना १ (एक)को तेस्रो पक्षबापतको बीमा रकम भुक्तानी गर्नु भनी बीमक नेपाल इन्स्योरेन्सलाई आदेश दिने ठहर्छ।’

बीमित ट्रक ना.३.ख ५९६४ र एम्बुलेन्स दुर्घटना हुँदा सम्बन्धमा एम्बुलेन्समा सवार ९ महिनाकीे गर्भवती प्रमिलादेवी महराको पेटमा रहेको बच्चालाई समेत ठक्कर लागी मृत अवस्थामा जन्मेको र सोही आधारमा बीमित ट्रकका चालकलाई सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ अनुसारको सजाय माग दाबी गरिएकाले शिशुको मृत्युमा तेस्रो पक्ष दायित्व उत्पन्न भएको आधार समितिले लिएको छ।

समितिले लिएको निर्णयाधार

जिल्ला प्रशासन कार्यालय सिराहाबाट बीमकलाई मृतक बच्चाको आमाले नारायणी यातायात व्यवसायी संघका प्रतिनिधिबाट मृत्युबापतको क्षतिपूर्ति रकम दिलाइएको र किरिया खर्च तथा क्षतिपूर्तिबापतको बीमा रकम नियमानुसार नारायणी यातायात व्यवसायी संघ हेटौँडालाई उपलब्ध गराउन बीमकलाई आदेश दिइएको छ।

कोशी अञ्चल अस्पताल विराटनगरको शव परीक्षण प्रतिवेदनमा बच्चा सडक दुर्घटनाको कारण मृत जन्मेको भनी उल्लेख गरिएको छ।
सवारी मालिकले सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६३ बमोजिम यात्रु तथा तेस्रो पक्ष घाइते तथा मृत्यु भएमा सोबापत क्षतिपूर्ति भुक्तानी गर्नुपर्ने कानुनी प्रावधान छ।

ऐनको दफा १५२(१) मा ‘सवारी दुर्घटनाबाट कुनै तेस्रो पक्ष वा निजको कुनै सम्पत्ति कुनै किसिमले नोक्सान भएमा सो नोक्सानीको क्षतिपूर्ति दिने प्रयोजनका लागी सवारीधनी वा व्यवस्थापकले तोकिएको रकमको बीमा गराउनुपर्छ’ भने बमोजिम आफूउपर पर्न सक्ने त्यस्तो सम्भावित दायित्वको सुनिश्चितता तथा सरक्षणका निम्ति दायित्वको बीमा गर्नुपर्ने देखिँदा त्यस्तो दायित्वलाई बाध्यात्मक कानुनी दायित्व भनी बुझ्नुपर्ने हुन्छ।

समितिले फैसला लेखेको छ, ‘तेस्रो पक्ष दाबीको हकमा सवारीधनी÷बीमित उपर त्यस्तो कानुनी दायित्व स्थापित भएको अवस्थामा उक्त दायित्वबाट उन्मुक्ति मिल्ने अवस्था हुँदैन र यसरी बीमितले व्यहोर्न पर्ने दायित्वको क्षतिपूर्ति दिनु नै मोटर बीमाको उद्देश्य रहेको हुन्छ।’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS