काठमाडौं। डिजिटल वालेटको बढ्दो प्रयोगसँगै जीवन बीमा सेवामा बीमितलाई केही सहजता थपिएको छ। डिजिटल वालेट वा मोबाइल बैंकिङ एपमार्फत बीमितले जुनसुकै समयमा नवीकरण बीमाशुल्क भुक्तानी गर्ने सुविधा पाएका छन्।
डिजिटल वालेटले प्रथम बीमाशुल्क, नवीकरण बीमाशुल्क भुक्तानीमात्र नभएर बीमालेख कर्जाको ब्याज भुक्तानीको सुविधासमेत उपलब्ध गराएको छ। जीवन बीमालेखको धितोमा कर्जा लिएका बीमितले जुनसुकै समयमा पनि कर्जाको ब्याज र साँवा भुक्तानी गर्न सक्छन्। बीमालेखको सामान्य सर्तहरुमा नै यो प्रावधान समावेश गरिएको हुन्छ।
डिजिटल वालेटमार्फत बीमालेखको कर्जा भुक्तानीमा सकस
कम्तीमा रु. ५ हजार भुक्तानी गर्नैपर्ने अव्यवहारिक प्रावधान
सीमित बचत हुनेहरुको बीमालेख जफत बढ्यो
सबै बीमकले दिएका छैनन् डिजिटल वालेटमार्फत सुविधा
डिजिटल वालेट सेवा प्रदायकले बीमालेख कर्जाको साँवा ब्याज भुक्तानीमा तोकिदिएको सीमाका कारण भने बीमितलाई सकस बनाएको छ। डिजिटलवालेटमार्फत बीमालेखको कर्जाको ब्याज र साँवा भुक्तानी गर्दा कम्तीमा पाँच हजार रुपैयाँ भुक्तानी गर्नैपर्छ।
उदाहरणका लागि कुनै बीमितले लिएको ४० हजार रुपैयाँ कर्जाको ब्याजमात्र २ हजार २०० रुपैयाँ छ भने पनि बीमितले कम्तीमा ५ हजार रुपैयाँ भुक्तानी गर्नैपर्छ। यतिमात्र नभएर ब्याजबापतको रकम सबै चुक्ता गरिसकेपछि साँवामात्र भुक्तानी गर्दा पनि कम्तीमा ५ हजार रुपैयाँ भुक्तानी गर्नैपर्छ। त्योभन्दा घटी रकम भुक्तानी गर्न डिजिटल वालेटले मान्दैन, अवरोध गर्छ।
ब्याजबापतको रकम एकमुष्ठ भुक्तानी गरिसकेपछि दैनिक रुपमा साँवाबापतको रकम थोरै–थोरै गरेर चुक्ता गर्ने सुविधामा डिजिटल वालेटले अंकुश लगाइदिएकाले सर्वसाधारणलाई सकस भइरहेको अवस्था छ।
‘एकपटकमा ५ हजार रुपैयाँभन्दा घटी रकम भुक्तानी गर्नै पाइँदैन’, आमबीमितको गुनासो हुन्छ, ‘थोरै आम्दानी हुनेको खल्तीमा एकै पटक त्यति रकम हुँदैन, दिनदिनै एक–दुई हजार तिर्ने सुविधा भए धेरै सहज हुने थियो।’
बीमितले ५ हजार रुपैयाँ जम्मा गरिसक्दासम्म साँवामा ब्याजसमेत खप्टिएर साँवाको रकम झनै बढ्दै जान्छ। जीवन बीमकले ६–६ महिनामा ब्याजबापतको रकमलाई पुँजीकरण गरिदिन्छन्।
यसरी साँवाको रकम थोरै–थोरै गरेर भुक्तानी गर्न नपाइने र एकपटकमा कम्तीमा ५ हजार रुपैयाँ भुक्तानी गर्नैपर्ने अव्यवहारिक प्रावधानले बीमालेखको जफत हुने जोखिम बढाएको छ।
जीवन बीमकका अनुसार बीमालेखको धितोमा उपभोग गरिने कर्जाको औसत रकम ४५ हजार रुपैयाँदेखि ७५ हजार रुपैयाँसम्म हुन्छ। यति स–सानो रकम कर्जा उपभोग गर्ने बीमितको बचत क्षमता कस्तो होला भन्ने सहजै अनुमान गर्न सकिन्छ।
डिजिटल भुक्तानी भनेको एक–दुई रुपैयाँसम्मको खुद्रे भुक्तानीलाई समेत तत्कालै सम्भव बनाउने माध्यम हो। तर, डिजिटल वालेट सञ्चालक आफैँले तय गरेको बीमालेख कर्जाको साँवाबापत कम्तीमा ५ हजार रुपैयाँले बीमालेख जफतमा प्रत्यक्ष योगदान र्पुयाएको छ।
डिजिटल भुक्तानी सेवा प्रदायकसँग बीमितको सुविधाअनुसार जतिसुकै रकम भुक्तानी गर्न पाइने सुविधा जीवन बीमकले उपलब्ध गराउनुपर्छ। जीवन बीमकले नगरे नेपाल बीमा प्राधिकरणले बीमितको हितका लागि यसबारे बीमक र डिजिटल वालेट सेवा प्रदायकलाई निर्देशन दिनुपर्छ। सबै जीवन बीमकले डिजिटल वालेटमार्फत बीमालेख कर्जाको साँवा ब्याज भुक्तानीको प्रावधान लागू गर्नसमेत प्राधिकरणले निर्देशन दिनुपर्ने आवश्यकता देखिएको छ।
महालेखापरीक्षकको कार्यालयको प्रतिवेदनका अनुसार जीवन बीमा कम्पनीले जारी गरेकामध्ये समर्पण गरिएका बीमालेखको संख्या आर्थिक वर्ष २०८०।८१ मा १ लाख १३ हजार ९७६ पुगेको छ। यो संख्यामा जफत भएका बीमालेख पनि समावेश गरिएका छन्। बीमितले लिएको कर्जाको साँवा र ब्याज रकम, बीमालेखको समर्पण मूल्यभन्दा अधिक हुन गएको अवस्थामा बीमालेख जफत गरिन्छ। जफत भएपछि बीमितले थप एक सुको पनि पाउन सक्दैनन्।
नेपाल राष्ट्र बैंकले प्रकाशन गरेको तथ्यांकअनुसार गत चैत महिनासम्ममा नेपालमा डिजिटल वालेट प्रयोगकर्ताको संख्या २ करोड ६३ लाख ७० हजार नाघेको छ। यसैगरी मोबाइल बैंकिङ सुविधा प्रयोगकर्ताको संख्या २ करोड ७१ लाख २ हजार पुगेको छ।
मोबाइल बैंकिङ र डिजिटल वालेट प्रयोगकर्ताको यो संख्याले जीवन बीमा वा निर्जीवन बीमा दुवैखाले व्यवसायका लागि सबै खाले सेवा प्रवाह गर्न डिजिटल माध्यमको प्रयोगमा अथाह सम्भावना देखाएको छ।
डिजिटल वालेटमार्फत बीमालेख कर्जाको साँवा र ब्याज भुक्तानी गर्ने सुविधा सबै जीवन बीमकले उपलब्ध गराएका छैनन्।