काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले अनुभवविहीन राधा कुमारी पोखरेललाई नेपाल बीमा प्राधिकरणको महिला सञ्चालकमा नियुक्त गरेको भन्दै चौतर्फी रुपमा आलोचना भइरहेको छ।
बीमा ऐन, २०७९ मा तोकिएको मापदण्डविपरीत अर्थमन्त्री पौडेलले पोखरेललाई बीमा प्राधिकरणको महिला सञ्चालकमा नियुक्त गरेको भन्दै आलोचना भइरहेको हो। बीमा ऐनको दफा ६ को उपदफा (२)मा तोकिएको मापदण्डअनुसार पोखरेलको महिला सञ्चालकमा नियुक्त हुन विज्ञता र अनुभव नपुग्ने भन्दै आवाजहरु उठिरहेका छन्।
बीमा ऐनमा सञ्चालक समितिमा अध्यक्षसहित सदस्यको नियुक्तिसम्बन्धी प्रावधान रहेको छ। जसअनुसार सञ्चालक समितिमा सरकारले नियुक्त गरेको व्यक्ति अध्यक्ष, अर्थ मन्त्रालयका सहसचिव सदस्य, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सहसचिव सदस्य, जीवन बीमा व्यवसायमा विशेष ज्ञान भएका व्यक्तिहरुमध्ये एकजना सदस्य र निर्जीवन बीमा व्यवसायमा विशेष ज्ञान भएका व्यक्तिहरुमध्येबाट एकजना सदस्य रहने प्रावधान रहेको छ। सोही दफाको उपदफा (२) मा उपदफा (१) उल्लेखित बीमा व्यवसायमा विशेष ज्ञान हासिल गरेकी कम्तीमा एकजना महिला सञ्चालक रहनुपर्ने प्रावधान छ।
बीमा ऐनकै दफा ८ मा प्राधिकरणको अध्यक्ष र सदस्यको योग्यतासम्बन्धी प्रावधान रहेको छ। बीमा, मौद्रिक, बैंकिङ, वित्तीय, वाणिज्यशास्त्र, व्यवस्थापन, जनप्रशासन, तथ्यांकशास्त्र, गणित, अर्थशास्त्र वा कानुन विषयमा स्नातकोत्तर वा सोसरहको उपाधि हासिल गरी सम्बन्धित क्षेत्रमा कम्तीमा ५ वर्षको उच्च व्यवस्थापकीय कार्य अनुभव हासिल गरेको हुनुपर्ने मापदण्ड रहेको छ।
बीमा ऐन लागू भएको लामो समयपछि अर्थमन्त्रीस्तरीय निर्णयबाट शुक्रबार पोखरेललाई बीमा प्राधिकरणको महिला सञ्चालकमा नियुक्त गरिएको हो। तर, ऐनमा तोकिएको विज्ञता र कार्य अनुभवसम्बन्धी मापदण्ड नपुग्ने भन्दै अर्थमन्त्री पौडेल र पोखरेलको आलोचना भइरहेको छ।
अर्थमन्त्री पौडेलकै निर्णयबाट २०७९ फागुन ४ गते पोखरेल विशाल बजार कम्पनीको सञ्चालकमा नियुक्त भएकी थिइन्। त्यहाँ उनी सञ्चालक भएको २ वर्षमात्र पुगेको छ। यो हिसाबले पनि उनको कार्य अनुभव नपुग्ने जानकारहरु बताउँछन्।
इन्स्योरेन्स खबरसँगको कुराकानीमा पोखरेलले आफूसँग बीमा ज्ञान रहेको दाबी गरेकी छन्। ‘मैले ७–८ वर्ष बीमा अभिकर्ता भएर काम गरेकी छु। अभिकर्ता हुँदा मैले बीमाबारे धेरै कुरा सिक्ने र सिकाउने मौका पाएकी छु’, पोखरेलले भनिन्, ‘बीमा क्षेत्रमा रहेको लामो समयसम्म काम गरेकी छु। बीमासँग सम्बन्धित विभिन्न प्रशिक्षणमा भाग लिएर पटक–पटक प्रशिक्षण पनि सञ्चालन गरेकी छु।’
त्यसो त कुराकानीकै क्रममा पोखरेलले बीमा क्षेत्रको अनुभव अलि कम रहेको भने स्वीकारेकी छन्। ‘भर्खरै जिम्मेवारी पाएकी छु। जिम्मेवारी पाउनुअघि नै सबै कुरा परीक्षण भएको हुँदैन’, उनले भनिन्, ‘हामीसँग त्यहाँको अनुभव अलि कम नै हुन्छ।’
सामाजिक सञ्जालहरुमा आफ्नो नियुक्तिबारे भइरहेको विरोध र आलोचनाबारे आफूलाई पनि जानकारी रहेको पोखरेलले बताइन्। ‘मान्छे अलिकति अगाडि बढ्न खोज्यो भने विरोध भइहाल्छ। यो स्वाभाविक हो’, उनले भने, ‘तर, त्यसमा मेरो कुनै आपत्ति छैन। त्यो विरोधको बदलामा मैले बीमा प्राधिकरणमा बसेर दुई–चार वटा काम गरेर देखाउनेछु।’