मानव जीवनको सार नै अनिश्चितता हो। हामी प्रत्येक पल परिवर्तनशील परिस्थितिहरुको सामना गरिरहेका हुन्छौँ। हाम्रो स्वास्थ्य कुनै पनि बेला बिग्रन सक्छ, सामाजिक सम्बन्धहरुमा उतारचढाव आउन सक्छन् र आर्थिक सम्पत्ति पनि अप्रत्याशित घटनाहरुका कारण जोखिममा पर्न सक्छ। यस्तो अस्थिर र अप्रत्याशित परिवेशमा भविष्यलाई सुरक्षित र व्यवस्थित बनाउनु एउटा महत्वपूर्ण चुनौती हो। यही चुनौतीको सामना गर्न र अप्रत्याशित जोखिमहरुलाई कम गर्दै आर्थिक सुरक्षा र स्थिरता प्रदान गर्न जीवन बीमा एउटा अपरिहार्य वित्तीय औजारका रुपमा स्थापित भएको छ।
जीवन बीमाको महत्वलाई गहिरो रुपमा बुझ्न हामीले मातृ भूमिकाको विश्लेषण गर्न सक्छौँ। किनकि आमाको सुरक्षात्मक र मायालु व्यवहारले जीवन बीमाको आधारभूत उद्देश्य र महत्वलाई सहज रुपमा दर्शाउँछ।
जीवनको अनिश्चितता र सुरक्षाको आवश्यकता
हाम्रो जीवन विभिन्न प्रकारका जोखिमले घेरिएको हुन्छ। स्वास्थ्यसम्बन्धी जोखिमहरु जस्तै– गम्भीर रोग लाग्ने वा दुर्घटनामा पर्ने सम्भावना सधैँ रहन्छ। सामाजिक सम्बन्धहरुमा अप्रत्याशित परिवर्तन आउन सक्छन्। जसले भावनात्मक र आर्थिक रुपमा असर पार्न सक्छ। त्यस्तैगरी आर्थिक क्षेत्रमा पनि बेरोजगारी, व्यवसायमा असफलता वा अन्य अप्रत्याशित घटनाले आर्थिक अस्थिरता ल्याउन सक्छन्। यी सबै अनिश्चितताले व्यक्तिको जीवन र परिवारको भविष्यलाई जोखिममा पार्न सक्छन्। यस्तो अवस्थामा एउटा यस्तो संयन्त्रको आवश्यकता पर्दछ, जसले यी जोखिमको प्रभावलाई कम गर्न र आर्थिक सुरक्षा प्रदान गर्न सकोस्। जीवन बीमा त्यही महत्वपूर्ण संयन्त्र हो।
मातृ भूमिकाः सुरक्षा, माया र उत्तरदायित्वको प्रतीक– जीवनको पहिलो बीमा आमा
आमालाई परिवारको केन्द्रविन्दु र सुरक्षाको पहिलो आधार मानिन्छ। गर्भावस्थादेखि नै आमाले आफ्नो सन्तानको सुरक्षा र कल्याणका लागि अथक प्रयास गर्छिन्। उनले आफ्ना सन्तानलाई हरेक खतराबाट बचाउन खोज्छिन्, उनीहरुको आवश्यकताहरु पूरा गर्छिन् र उनीहरुको भविष्य सुरक्षित बनाउन चिन्तित रहन्छिन्। आमाको यो निःस्वार्थ माया, सुरक्षात्मक प्रवृत्ति र भविष्यप्रतिको उत्तरदायित्वको भावना जीवन बीमाको महत्वलाई बुझ्न एउटा उत्कृष्ट उदाहरण हुन सक्छ।
जीवन बीमा केवल व्यक्तिको मृत्युमा मात्र नभई विभिन्न प्रकारका आवश्यकता र जोखिमलाई ध्यानमा राखेर तयार पारिएको हुन्छ। उदाहरणका लागि केही बीमा योजनामा गम्भीर रोग लागेमा वा अपांगता भएमा पनि आर्थिक सहायता प्रदान गरिन्छ। यसले व्यक्तिको जीवनमा आइपर्ने अप्रत्याशित स्वास्थ्यसम्बन्धी जोखिमहरुबाट पनि सुरक्षा प्रदान गर्दछ।
जसरी एक आमाले आफ्ना सन्तानको स्वास्थ्य, शिक्षा र भविष्यका लागि योजना बनाउँछिन्। त्यसरी नै जीवन बीमाले व्यक्तिको अनुपस्थितिमा पनि परिवारको आर्थिक भविष्य सुरक्षित गर्न मद्दत गर्दछ। आमाले जस्तै जीवन बीमाले पनि अप्रत्याशित घटनाहरुबाट परिवारलाई आर्थिक रुपमा कमजोर हुनबाट जोगाउँछ र उनीहरुलाई आत्मसम्मानका साथ जीवनयापन गर्न सक्षम बनाउँछ।
परिवारमा आमाको भूमिका र जीवन बीमाका सिद्धान्तहरुको समानता
परिवार एक यस्तो आधारभूत सामाजिक एकाइ हो। जहाँ माया, सुरक्षा र जिम्मेवारीको अटुट सम्बन्ध हुन्छ। यस सम्बन्धको केन्द्रविन्दु प्रायः आमा हुनुहुन्छ, जसले परिवारलाई एकताबद्ध राख्न र हरेक सदस्यको सुरक्षा सुनिश्चित गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुन्छ। रोचक कुरा के छ भने जीवन बीमाका आधारभूत सिद्धान्तहरुलाई आमाको परिवारप्रतिको सुरक्षात्मक भूमिकासँग तुलना गर्दा आश्चर्यजनक समानताहरु भेटिन्छन्।
१. परम सद्विश्वास र अटुट विश्वासः बीमामा इमान्दारी आवश्यक छ, जसरी आमाको सम्बन्ध विश्वासमा आधारित हुन्छ। दुवैले सम्बन्ध र सम्झौतालाई बलियो बनाउँछन्। जीवन बीमामा सही जानकारी भविष्यको दाबीका लागि महत्वपूर्ण छ, आमाको विश्वासले भावनात्मक सुरक्षा दिन्छ।
२. बीमायोग्य हित र गहिरो सरोकारः बीमामा आर्थिक चासो चाहिन्छ। आमाको सन्तानमा भावनात्मक र व्यावहारिक सरोकार हुन्छ। दुवैले सुरक्षाको महत्व दर्शाउँछन्। जीवन बीमा परिवारको आर्थिक सुरक्षाका लागि लिइन्छ। आमाको सरोकारले भावनात्मक सुरक्षा दिन्छ।
३. क्षतिको सिद्धान्त र सुरक्षात्मक प्रवृत्तिः बीमाले वास्तविक क्षतिपूर्ति दिन्छ। आमाले सन्तानलाई हानिबाट बचाउन खोज्नुहुन्छ। दुवैको उद्देश्य अप्रत्याशित नोक्सानीको प्रभाव कम गर्नु हो। जीवन बीमा मृत्युपछिको आर्थिक नोक्सानी कम गर्न लिइन्छ। आमाले जोखिमबाट बचाउनुहुन्छ।
४. जोखिम बाँडफाँट र सामूहिक भावनाः बीमामा धेरैको सानो योगदानले ठूलो जोखिम बहन हुन्छ। आमाले परिवारमा सहयोग र एकता बढाउनुहुन्छ। दुवैले अप्रत्याशित भार साझेदारीमा जोड दिन्छन्। जीवन बीमा धेरैको सहयोगले एउटा परिवारलाई आर्थिक सहायता दिन्छ। आमाले पारिवारिक सहयोग सिर्जना गर्नुहुन्छ।
५. जीवन बीमा, मानसिक शान्ति र आमाको एकताः जीवन बीमा धेरैको सहयोगले एउटा परिवारलाई आर्थिक सहायता दिन्छ। आमाले पारिवारिक सहयोग सिर्जना गर्नुहुन्छ भने जीवन बीमाले अप्रत्याशित आर्थिक भार एक्लैले बहन गर्नुपर्ने चिन्ताबाट मुक्त गराई मानसिक शान्ति प्रदान गर्दछ। आमाको एकताको भावनाले परिवारलाई बलियो बनाउँछ र जीवन बीमाले आर्थिक रुपमा बलियो बनाउन मद्दत गर्दछ।
हामी धेरैले आफ्नी आमा जीवित र साथमा हुँदा उहाँको महत्वलाई त्यति ध्यान दिँदैनौँ। उहाँको माया, त्याग र समर्पणलाई हामी सामान्य रुपमा लिन्छौँ। तर, जब उहाँ हामीबाट टाढा हुनुहुन्छ तब हामीलाई उहाँको अभाव खट्किन्छ र उहाँको मायाको गहिराइ महसुस हुन्छ। तर, त्यो बेला धेरै ढिलो भइसकेको हुन्छ।
जीवन बीमाको सन्दर्भमा पनि यस्तै हुन्छ। जबसम्म हामी स्वस्थ र सबल छौँ तबसम्म हामीलाई जीवन बीमाको आवश्यकता महसुस हुँदैन। हामी भोलिको अनिश्चिततालाई बेवास्ता गर्छौं र बीमालाई अनावश्यक खर्च ठान्छौँ। तर, जब जीवनमा कुनै अप्रत्याशित घटना घट्छ, जस्तै– गम्भीर बिरामी हुनु वा असामयिक निधन हुनु, तब हामीलाई जीवन बीमाको महत्व थाहा हुन्छ। यदि हामीले समयमै जीवन बीमा गराएको भएमा त्यस्तो कठिन परिस्थितिमा हाम्रो परिवारलाई आर्थिक रुपमा ठूलो राहात मिल्थ्यो। तर, घटना घटेपछि बीमा गरेर त्यसको कुनै फाइदा हुँदैन।
त्यसैले आमाको मायालाई उहाँ जीवित हुँदै कदर गर्नुपर्छ, उहाँलाई समय दिनुपर्छ र उहाँको सेवा गर्नुपर्छ। त्यसैगरी जीवन बीमा पनि समयमै लिनुपर्छ ता कि भविष्यमा आइपर्ने अप्रत्याशित घटनाहरुबाट आफ्नो परिवारलाई आर्थिक सुरक्षा प्रदान गर्न सकियोस्। घटना घटेपछि पश्चाताप गर्नुको कुनै अर्थ हुँदैन। समयमै गरिएको सानो लगानीले भविष्यमा ठूलो आर्थिक संकटबाट बचाउन सक्छ।
त्यसैले आज मातृतीर्थ औँसीको यो पवित्र दिनदेखि हामी सबैले जीवन बीमाको महत्वलाई ‘विशेष’ रुपमा बुझौँ र समयमै यसलाई लिएर आफ्नो परिवारको आर्थिक भविष्य सुरक्षित गरौँ। यो हाम्रो आमाप्रति सच्चा श्रद्धाञ्जलि र हाम्रो परिवारप्रतिको गहिरो जिम्मेवारी पनि हुनेछ। आमाको माया र आशीर्वादले हामीलाई सही निर्णय लिन प्रेरित गरोस्।
( सुबेदी आइएमई लाइफ इन्स्योरेन्स कम्पनीमा कार्यरत् छ्न् )