काठमाडौं । नेपालमा अब सञ्चालन हुने क्यासिनोमा विदेशी कम्पनीको लगानी बढीमा ४९ प्रतिशत हुने व्यवस्था ल्याइएको छ।
सरकारले पर्यटनसम्बन्धी प्रचलित कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमार्फत यस्तो व्यवस्था ल्याउन लागेको हो। हाल यो विधेयक छलफलका लागि राष्ट्रियसभामा दर्ता रहेको छ।
विधेयकमा स्वदेशी लगानीकर्ताले पर्यटन विभाग र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको अनुमतिमा विदेशी कम्पनीसँग संयुक्त लगानीमा नेपालमा क्यासिनो सञ्चालन गर्न पाउनेछन्। विदेशी कम्पनीसँग संयुक्त लगानीमा क्यासिनो सञ्चालन गर्दा विदेशी लगानीकर्ताको लगानी बढीमा ४९ प्रतिशत र बाँकी लगानी स्वदेशी लगानीकर्ताको हुनुपर्ने विधेयकमा व्यवस्था गरिएको छ।
विधेयक ऐनको रुप धारण गरी प्रारम्भ हुँदाका बेला सञ्चालनमा रहेका क्यासिनोले यो ऐन प्रारम्भ भएको मितिले १ वर्षभित्र शेयर अनुपात कायम गर्नुपर्ने व्यवस्था गरिएको छ। विदेशी लगानीसम्बन्धी अन्य व्यवस्था प्रचलित कानुनबमोजिम हुनेछ।
यसैगरी कुनै पनि क्यासिनोले खुद आयको २ प्रतिशत रकम पर्यटन प्रवर्द्धन, शिक्षा, स्वास्थ्य, खेलकुद, वातावरण संरक्षण र श्रमिक तथा कामदार कल्याणजस्ता सामाजिक कार्यमा खर्च गर्नुपर्ने व्यवस्था विधेयकमा गरिएको छ। सामाजिक कार्यमा खर्च नभएको रकम सरकारी कोषमा जम्मा गर्नुपर्ने र सामाजिक उत्तरदायित्वसम्बन्धी अन्य व्यवस्था तोकिएबमोजिम हुने प्रावधान विधेयकमा राखिएको छ।