काठमाडौं । नेपालको जीवन बीमा क्षेत्रमा दाबी भुक्तानीको परिमाण हरेक वर्ष बढ्दै गएको छ। जसले बीमितको विश्वास जित्न मद्दत गरेको छ।
नेपाल बीमा प्राधिकरणको पछिल्लो वार्षिक प्रतिवेदन अनुसार बीमकहरुले बीमितलाई गर्ने दाबी भुक्तानी अघिल्लो वर्षहरुको तुलनामा उल्लेख्य रुपमा वृद्धि भएको हो।
जीवन बीमकले दाबी भुक्तानी योग्यमध्ये ९१.२९% रकम भुक्तानी गरेका छन्। यसको अर्थ हो २०८१।८२ को अन्त्यमा सबै भुक्तानीयोग्य दाबी कोषहरुको ९% भन्दा थोरै रकम मात्र भुक्तानी गर्नुपर्ने बाँकी छ। यो उपभोक्ता विश्वासको लागि धेरै सकारात्मक सन्देश हो।
दाबी भुक्तानीमा रेकर्ड
प्राधिकरणको वार्षिक प्रतिवेदनमा प्रकाशित तथ्यांकअनुसार आर्थिक वर्ष २०८१।८२ मा १४ वटा जीवन बीमा कम्पनीले लघु बीमाबाहेक कुल ७८ अर्ब ७२ करोड २ लाख रुपैयाँ दाबी भुक्तानी गरेका छन्। यो अघिल्लो आर्थिक वर्ष २०८०।८१ को ६५ अर्ब ४६ करोड २६ लाख रुपैयाँको तुलनामा करिब २० प्रतिशतले बढी हो।
तीन वर्षीय प्रवृत्तिको विश्लेषण गर्दा आर्थिक वर्ष २०७९।८० मा ६० अर्ब २४ करोड ८४ लाख रुपैयाँ रहेको कुल दाबी भुक्तानी दुई वर्षमा करिब ३० प्रतिशतले बढेर ७८ अर्ब ७२ करोड रुपैयाँ नाघेको छ। बीमकहरुले दाबी भुक्तानी गरेको रकम बढ्नुलाई सकारात्मक मानिएको छ। जसले बीमितको विश्वास बढाउन मद्दत गर्दछ।
ठूलो परिमाणमा भुक्तानी भए पनि बीमकहरुले अझै पनि ७ अर्ब ५० करोड ९९ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ। यो बाँकी रकम अघिल्लो वर्षको ५ खर्क ११ करोड ८६ लाख रुपैयाँको तुलनामा झन्डै ५० प्रतिशतले बढेको छ। तीन वर्षअघि २०७९।८० मा यो रकम ५ अर्ब ३१ करोड २५ लाख रुपैयाँ थियो। यसले बीमकहरुमा भुक्तानीको चाप थपिएको र दाबी फर्छ्यौटको भार बढ्दो क्रममा रहेको संकेत गर्दछ।
अब्बल देखिएका पुराना कम्पनीहरु
ठूला र पुराना जीवन बीमा कम्पनीहरु दाबी भुक्तानीमा निकै कुशल देखिएका छन् र उनीहरुको ३ वर्षीय प्रवृत्ति पनि स्थिर छ।
दाबी भुक्तानीको सबैभन्दा ठूलो परिमाण बोकेको यस कम्पनीको भुक्तानी दक्षता उत्कृष्ट देखिएको छ। २०७९।८० मा १५ अर्ब ६९ करोड १३ लाख भुक्तानी गरेको यसले २०८१।८२ मा आइपुग्दा १९ अर्ब १९ करोड ६५ लाख भुक्तानी गरेको छ। जुन करिब २२ प्रतिशतको वृद्धि हो। यसको तिर्न बाँकी रकम पनि २०७९।८० को १ अर्ब ३८ करोड ६५ लाखबाट बढेर २ अर्ब ५१ लाख पुगेको छ। कम्पनीले कुल दाबी दायित्वको झन्डै ९० प्रतिशत रकम सफलतापूवर्क भुक्तानी गरिसकेको छ । १० प्रतिशतमात्र भुक्तानी गर्न बाँकी छ।
नेसनल लाइफः अर्को ठूलो कम्पनी नेसनल लाइफले पनि ११ अर्ब ७ करोड १३ लाख भुक्तानी गर्दा २ अर्ब २ करोड २५ लाखमात्रै बाँकी राखेको छ। यसको ३ वर्षीय प्रवृत्तिमा भुक्तानी २०७९।८० को ८ अर्ब ३८ करोड ५२ लाखबाट ३२ प्रतिशतले बढेको छ भने बाँकी दाबी पनि १४ करोड १० लाखबाट बढेर २ अर्ब २ करोड २५ लाख पुगेको छ। यसको भुक्तानी दक्षता ८४.५ प्रतिशत छ।
पुराना कम्पनीहरुले ठुलो परिमाण बोकेर पनि बाँकी दाबीको प्रतिशतलाई १० देखि १५ प्रतिशतको हाराहारीमा राख्न सफल हुनुले उनीहरुको सञ्चालन दक्षता र बीमित प्रतिको इमानदारिता पुष्टि गर्छ।

गाभिएका कम्पनीमा चाप
तथ्यांकले मर्जरमा गएका कम्पनीहरुमा दाबी भुक्तानीको चाप बढ्दो क्रममा रहेको देखाएको छ। मर्जरपछि एउटै संस्था बनेकाले उनीहरुको दाबी भुक्तानीको कूल परिमाण बढेको छ र ३ वर्षीय प्रवृत्तिमा पनि उनीहरुले दक्षता बढाउँदै लगेका छन्।
हिमालयन लाइफः प्राइम, युनियन र गुराँस लाइफ मर्जर भई बनेको यस कम्पनीको दाबी भुक्तानी ९७ अर्ब ३३ करोड ८५ लाख उल्लेख्य बढेको छ। २०७९।८० मा २ अर्ब २ करोड ३५ लाख भुक्तानी गरेको यसले दुई वर्षमा ३ गुणभन्दा बढी भुक्तानी गरेको छ। तर, यसको बाँकी दाबी रकम १४ करोड ३० लाख भुक्तानीको तुलनामा निकै कम देखिएको छ। जुन उत्कृष्ट हो। २०७९।८० मा ७ करोड ८४ लाख बाँकी रहेकोमा यस वर्ष केही बढे पनि कूल दाबी दायित्वको ९८ प्रतिशत रकम भुक्तानी गरिसकेको छ। जुन जीवन बीमकमध्ये सबैभन्दा बढी दक्षता हो।
सूर्य ज्योति लाइफः सूर्य र ज्योति लाइफ मर्जर भई बनेको सूर्य ज्योतिको पनि भुक्तानी ३ अर्ब ६९ करोड ६७ लाख बढ्दा बाँकी दाबी ९ करोड ४९ लाखको चाप अघिल्लो वर्षको ४ करोड २० लाखको तुलनामा दोब्बरभन्दा बढीले बढेको छ। तर, २०७९।८० को २ अर्ब ५ करोड ६७ लाख भुक्तानी र ६ करोड ७४ लाख बाँकीको तुलनामा भुक्तानी करिब ८० प्रतिशतले बढ्दा बाँकी दाबी ४० प्रतिशतले मात्रै बढेको छ। जुन सञ्चालन दक्षता सुधारिएको संकेत हो।
मर्जरले कम्पनीहरुको पुँजी र क्षमता बढाए पनि फरक–फरक कम्पनीका बीमितको तथ्यांक र सञ्चालन प्रक्रिया एकीकरणको चुनौतीका कारण दाबी भुक्तानीमा केही समय चाप बढ्नु स्वाभाविक हो।
सम्पादकीय टिप्पणी
यो समाचार नेपाल बीमा प्राधिकरणले प्रकाशन गरेको आर्थिक वर्ष २०८१।८२ को वार्षिक प्रतिवेदनमा प्रकाशित दाबी भुक्तानी र बाँकी दाबीको रकममा आधारित छ। प्राधिकरणले प्रतिवेदनमा दाबी संख्या, भुक्तानी भएको दाबी संख्या र भुक्तानी गर्न बाँकी संख्या प्रकाशन नै गर्दैन। यसले गर्दा दाबी फर्छ्यौटका आधारमा कुन कम्पनी कति अब्बल छ भन्ने यकीन गर्न सकिने अवस्था छैन।
किनकि कुनै कम्पनीले ठूलो परिमाणमा दाबी भुक्तानी गरे पनि यदि एउटामात्रै ठूलो दाबी उदाहरणका लागि १० करोडको प्रक्रिया अल्झिएको छ भने रकमका आधारमा यसको दक्षता कम देखिन सक्छ। अर्कोतर्फ थोरै रकम भुक्तानी गर्ने कम्पनीले धेरै बीमितलाई फर्छ्यौट गरेको पनि हुन सक्छ। त्यसैले बीमितले कुनै पनि बीमा कम्पनी छनोट गर्नुअघि यो तथ्यांकलाई एउटा सूचकका रुपमा मात्र लिनु उपयुक्त हुन्छ।












