काठमाडौं । बीमितले नियमित रुपमा बचतसँगै जोखिमसमेत बहन हुने आशाका साथ जीवन बीमालेख खरिद गरेको हुन्छ। आफ्नो आम्दानीको स्रोत र स्रोतको सुनिश्चितताको अवस्थालाई पूर्वानुमान गर्दै बीमितले बीमाशुल्क किस्ताको रकम रोजेको हुन्छ।
कहिलेकाहीँ केही अप्रत्याशित घटनाका कारण वा काबुभन्दा बाहिरको परिस्थितिका कारण आम्दानी स्रोत गुम्न सक्छ, सुक्न सक्छ वा आम्दानी खुम्चिन सक्छ। जसले गर्दा दैनिक जीविकोपार्जनका लागिसमेत आम्दानीले नभ्याउने अवस्था आउन सक्छ। यस्तो असहज परिस्थितिमा बीमा किस्ताको रकम जोहो गर्नु बीमितका लागि ‘फलामको चिउरा चपाउनु’ सरह भइदिन सक्छ।
यो अवस्थामा के गर्ने त ? बीमाको किस्तावापत तिरेको रकमको माया मार्ने ? बीमालेख समर्पण गरेर जति पैसा फिर्ता पाइन्छ, फिर्ता लिएर खर्च गर्ने ? कि तेस्रो विकल्प रोज्ने ? सबैभन्दा बुद्धिमानी पूर्ण निर्णय भनेको चाहिँ तेश्रो विकल्प अर्थात् चुक्ता बीमालेखमा परिणत गर्ने ।
चुक्ता बीमालेखमा बीमाको बाँकी किस्ता नतिरेपनि बीमा बन्द नगरेर चालु नै राख्न सकिने सुविधा हुन्छ। यो विकल्प अन्तर्गत बीमालेखको मूल बीमांकको रकमलाई पुनः मूल्यांकन गरेर कटौती गरिन्छ र बीमितले किस्तावापत तिरिसकेको रकमले खामेजतिको बीमांक रकम निर्धारण गरिन्छ। यसरी नयाँ तर पहिलेको भन्दा थोरै बीमांक रकम निर्धारण गरिसकेर बीमालेखलाई चुक्ता बीमालेखमा परिणत गरेपछि बीमितले बाँकी अवधिको रकम भुक्तानी गर्नु नपर्ने गरी बीमा जारी राखिन्छ।
चुक्ता बीमालेखको बीमांक रकम के हो ?
चुक्ता गरिएको बीमांक रकम भन्नाले तपाइँले बीमाशुल्क किस्ता भुक्तानी बन्द गरे पनि तपाइँको जीवन बीमालेखअन्तर्गत रहने जोखिम बहन जारी रहने अवस्थालाई जनाउँछ। तपाइँले लामो अवधिको बीमा गरे पनि थोरै अवधिमात्र किस्ता तिरेर बाँकी किस्तालाई निरन्तरता दिन सक्नु भएन भने यो विकल्प उपयोगी हुन्छ। जब बीमालेख चुक्ता बीमालेखमा परिणत हुन्छ तब बीमितले बाँकी समयको बीमाशुल्क भुक्तानी बन्द गरेको हुन्छ। तर, बीमालेख पहिलेको भन्दा कम रकम अर्थात बीमांकका साथ सक्रिय रहन्छ। यस्तो बीमांकको निर्धारण भुक्तानी गरिएको बीमाशुल्क किस्ता र किस्ताबापतको रकम बीमालेखका सर्तहरुमा आधारित हुन्छ।
चुक्ता बीमांक रकम कसरी गणना गरिन्छ ?
चुक्ता बीमांक रकम गणना गर्दा मूल बीमांक,भुक्तानी गरिएको बीमाशुल्कको संख्या,बीमा अवधि, बीमालेखको प्रकारलाइ अाधार मानिन्छ। मृत्यु वा परिपक्वतामा बीमालेखले शुरूमा भुक्तानी गर्ने वाचा गरेको रकम, बीमाशुल्क भुक्तानी गरिएको स्थितिमा रुपान्तरण हुनुभन्दा पहिले भुक्तानी गरिएको बीमाशुल्कको कुल संख्या, बीमा अवधिको लम्बाइ र बीमा कति समयदेखि लागू छ भन्ने पक्ष विचार गरिन्छ।
यसबाहेक बीमकले विभिन्न बीमालेख जारी गरेको हुन्छ र चुक्ता गरिएको बीमांक रकमको गणना विधि बीमलेखको प्रकार (जस्तै सावधिक, आजीवन वा अग्रिम भुक्तानी) मा निर्भर गर्दै फरक हुन सक्छ।
उदाहरणका लागि मानौँ तपाइँसँग २० लाख रुपैयाँको मूल बीमांक रकम भएको बीमालेख छ र तपाइँले पूरा २० वर्षे बीमा अवधिमध्ये १० वर्षका लागिमात्र बीमाको किस्ता रकम तिर्नुभएको छ। त्यस्तो अवस्थामा चुक्ता बीमांक रकम मूल रकमका आधारमा चुक्ता मूल्य गणनाका आधारमा निर्धारण गरिन्छ।
चुक्ता बीमांक रकम किन महत्वपूर्ण छ ?
लचिलोपनः यदि तपाइँ बीमाशुल्क भुक्तानीलाई निरन्तार दिन सक्नुहुन्न भने चुक्ता बीमांकले लचिलोपन प्रदान गर्दछ। बीमाको लाभहरु कटाैती गरिए पनि चुक्ता गरिएको बीमालेखले अझै पनि सुरक्षा प्रदान गर्छ र यदि तपाइँलाई केही न केही बीमा सुरक्षा सुनिश्चित गर्न आवश्यक छ भने लाभदायक हुन सक्छ।
चुक्ता बीमांकका बारेमा जान्नाले तपाइँले बीमाशुल्क तिर्न बन्द गर्ने निर्णय गर्नुभयो भने तपाइँको बीमालेखले कसरी काम गर्नेछ भनेर बुझ्न मद्दत गर्छ र घटाइएका लाभहरुबाट तपाइँ अलमल्लमा पर्नुहुन्न भन्ने कुरा सुनिश्चित गर्दछ।
चुक्ता बीमांक रकमका फाइदाहरु
एकपटक तपाइँको बीमालेख चुक्ता बीमालेखमा परिणत गरिसकेपछि तपाइँले केही हदसम्म जोखिम बहन कायम राख्दै थप बीमाशुल्क भुक्तानी गर्नबाट मुक्त हुनुहुन्छ। तर यसो गर्दा बीमालेख अन्तर्गतका लाभहरु भने सीमित गरिएका हुन्छन्। चुक्ता बीमालेखले तपाइँलाई अझै पनि केही भुक्तानी प्राप्त गर्ने कुरा सुनिश्चित गर्दछ। चाहे परिपक्वतामा होस् वा बीमा गरिएको घटनाको अवस्थामा।
चुक्ता बीमालेखले प्रायः समर्पण मूल्य सुनिश्चित गर्छ। जुन तपाइँले परिपक्वता अघि नै बीमा समाप्त गर्ने निर्णय गर्नुभयो भने लाभदायक हुन सक्छ।
तपाइँको बीमालेखका बारेमा सूचित निर्णय लिन र भुक्तानी गरिएको बीमा रकमले तपाइँलाई कसरी असर गर्छ भनेर बुझ्नका लागि व्यक्तिगत मार्गदर्शन र समर्थनका लागि तपाइँको अभिकर्ता वा बीमा कम्पनीको शाखा कार्यालयमा परामर्श गर्नु उचित हुन्छ। यसले तपाइँलाई आफ्नो बीमा विकल्पहरु बुद्धिमानीपूर्वक जानकारी लिन र आफ्नो वित्तीय भविष्य सुरक्षित गर्न सुनिश्चित गर्नेछ।












