काठमाडाैं । सिमान्तकृत र अति विपन्न परिवारमा बीमाकाे लाभ पुग्न नसकेकाे निष्कर्ष सहित सरकारले बेग्लै लघु बीमा कम्पनीकाे अवधारणा अघि सार्याे । र, सात वटा लघु बीमकलाई इजाजत दिने निर्णय समेत गर्याे, नतिजा स्वरूप २ जीवन र २ निर्जीवन गरि ४ वटा लघु बीमा कम्पनीले बीमा काराेबार शुरू समेत गरिसकेका छन् ।
लघु बीमा अति विपन्न र न्यून आय भएका परिवारकाे आर्थिक सुरक्षाको लागि हो। कुनै विपत्ती वा दुर्घटना आइपरेका बेला सामना गर्नुपर्ने आर्थिक नाेक्सानीलाई बहन गर्न र पुनःस्थापित गर्न लघु बीमाले सस्ताे बीमाशुल्कमा बीमा गर्ने विकल्प दिन्छ। विपन्न वर्गका लागि बीमाको आवश्यकतालाई बेवास्ता गर्न सकिँदैन । हाम्राे समाजको उल्लेख्य हिस्सा गरिबीकाे रेखामूनी रहेकाेमा उनीहरुलाई थप विपन्नतामा फँस्न नदिनका लागी बीमाकाे सुरक्षा कवच लगाउनु अति नै जरुरी छ। सीमित साधन श्राेत, सडक, यातायात, विद्युत, सूचना प्रविधि, शिक्षा लगायतका पूर्वाधारहरूमा सीमित पहुँच र चेतनाकाे अभावमा याे वर्ग तुलनात्मकरूपमा बढी जाेखिममा पर्छ। त्यसैले याे वर्गका लागी अनिश्चितताकाे सामना गर्न लघु बीमाले खेल्ने भूमिका अपरिहार्य हुन्छ।
विश्वमा लघु बीमाको लागि नियामक ढाँचा सेट गर्नमा लाई निकै रोमाञ्चक बजार र अग्रगामी मानिएको छ। लघु बीमाले विपन्न वर्गकाे दिगो जीविकोपार्जनलाई सुनिश्चित गर्न मद्दत गर्छ। बीमा क्षेत्रको उदारीकरण र सरकारी अनुदानले अनौपचारिक क्षेत्रमा काम गर्ने लगायत बहुसंख्यक गरिब समुदायसम्म पुग्न लघु बीमाको लागि नयाँ अवसरहरू सिर्जना गरेको छ। तैपनि, लघु बीमाकाे बजार प्रवेश नेपालमा अझै पनि न्यून छ। नेपालकाे बीमा बजार अझैसम्म पनि माग निर्देशित भन्दा पनि आपूर्ती निर्देशित अवस्थामा छ। उत्पादन डिजाइन, जाेखिमांकनको सहजता, वितरण, सचेतना सिर्जना, सहज बीमाशुल्क भुक्तानी प्रणाली, सरल दाबी प्रकृया, प्रविधिमैत्रि साक्षरता र प्रयोग लघु बीमा बजारको सफलताको लागि फलदायी हुनसक्छ। याे पक्षमा बीमा नियामक नेपाल बीमा प्राधिकरणले सहजीकरण गर्ने र लघु बीमक समेत सबै बीमकले सार्थक पहल गर्नु पर्नेछ।
वितरण बीमा मूल्य शृङ्खलाको सबैभन्दा महत्त्वपूर्ण कडी हो, विशेष गरी लघु बीमाको लागि जहाँ ग्राहक अर्द्ध-साक्षर वा अशिक्षित पनि छन्, सीमित वित्तीय स्रोतहरू छन् र धेरै हदसम्म पहुँचयोग्य छैनन्। स्वैच्छिक लघु बीमाको हकमा वितरण अझ महत्त्वपूर्ण हुन्छ किनभने यसमा ‘हार्ड-सेलिंग’ तत्व पनि समावेश हुन्छ। अर्कोतर्फ, न्यून आय भएका क्षेत्रहरूमा बीमाको पहुँच न्यून भएकाले, त्यहाँ व्यवसायका हिसाबले पनि ठूलो अवसर छ, जहाँ बीमाकाे सबैभन्दा बढी आवश्यक पर्ने वर्गमा वित्तीय सुरक्षा प्रदान पुर्याउनुपर्नेछ ।
लघु बीमामा वितरण चुनौतीलाई सम्बोधन गर्न विगतमा विभिन्न प्रयासहरू भएका छन्। बीमाको पहुँच सबै वर्गमा पुर्या उने उद्देश्य अनुरुप न्यून आय भएका वर्गहरुलाई समेत बीमाको दायराभित्र ल्याउन बीमा समितिले वि.सं. २०७१ सालमा पहिलाे पटक लघु बीमा निर्देशिका जारी गरिएकाे थियाे । निर्देशिकालाई २०७५ सालमा संशोधन गरी परिमार्जन गरियाे । निर्देशिकामा लघु बीमाको अधिकतम सीमा सात लाख रूपैयाँसम्म कायम गरिएको थियाे। बीमा कम्पनीहरुले आफ्नो कूल बीमा व्यवसायको न्यूनतम दश प्रतिशत अंश लघु बीमा हुनुपर्ने व्यवस्था थियाे । पछिल्लाे समयमा निर्जीवनतर्फ ५० लाख रुपैयाँ र जीवनतर्फ पाँच लाख रुपैयाँसम्मको बीमा गर्न सकिने गरी लघु बीमा निर्देशन, २०७९ जारी भएको छ । बीमा ऐन २०७९ ले पहिलाे पटक लघु बीमा कम्पनीलाई पनि बीमा कम्पनीकाे रुपमा समेटेकाे छ।
लघुबीमा बिक्री वितरणका प्रमुख चुनौतीहरू:
- वितरण प्रणालीकाे खर्च र सञ्चालन लागतकाे तुलनामा सानाे व्यापार ।
- राम्रा मध्यस्थकर्ता(अभिकर्ता)लाई आकर्षित गर्न सक्ने व्यापार मोडेलको अभाव।
- बीमा अभिकर्ताहरुकाे दक्षता अभिवृद्धिकाे अभाव ।
- बीमाले कसरी काम गर्छ भन्ने बारे आधारभूत चेतनाको कमी ।












