काठमाडौं । नेपाल राष्ट्र बैंकको आर्थिक वर्ष २०८२।८३ को ‘आर्थिक गतिविधि अध्ययन (एकीकृत) वार्षिक प्रतिवेदन’ अनुसार असार मसान्तसम्मको प्रदेशगत कर्जा–निक्षेप अनुपात सीडी रेसियोले मुलुकको वित्तीय स्रोत परिचालनमा गहिरो प्रादेशिक असन्तुलन देखाएको छ।
तथ्यांकअनुसार औद्योगिक तथा व्यापारिक गतिविधि उच्च रहेका मधेश (१०३.४६ प्रतिशत) र कोशी (९९.५९ प्रतिशत) प्रदेशमा स्थानीय निक्षेपले नधान्ने गरी कर्जा प्रवाह भएको छ भने सुदूरपश्चिम (७९.२९ प्रतिशत) र लुम्बिनी (७५.५१ प्रतिशत) प्रदेशमा सन्तुलित परिचालन देखिन्छ।
संस्थागत निक्षेप केन्द्रीकृत रहेको बागमती प्रदेशमा ६८.८२ प्रतिशतमात्र सीडी रेसियो कायम भई तरलता थुप्रिएको छ भने गण्डकी (५०.०७ प्रतिशत) र भौगोलिक रुपले विकट कर्णाली (६०.१५ प्रतिशत) मा कर्जाको माग अत्यन्तै सुस्त रहेको पुष्टि हुन्छ।












