काठमाडौं। सामाजिक सुरक्षा कोषमा हालसम्म आबद्ध हुने योगदानकर्ताको संख्या ३३ लाख नाघेको छ।
कोषले सार्वजनिक गरेको २०८३ मंसिर १० गतेसम्मको विवरणअनुसार कुल योगदानकर्ताको संख्या ३३ लाख ४ हजार ८६ पुगेको हो। हालसम्म कोषमा २४ हजार ६ रोजगारदाता आबद्ध भएका छन्।
कोषमा आबद्ध योगदानकर्तामध्ये सबैभन्दा ठूलो हिस्सा वैदेशिक रोजगारीमा रहेका श्रमिकको छ। क्षेत्रगत विवरण निम्नानुसार छः
- वैदेशिकः २५ लाख ८५२ जना
- औपचारिकः ८ लाख ४३६ जना
- स्वरोजगारः १ हजार ५८८ जना
- अनौपचारिकः १ हजार २१० जना
औपचारिक क्षेत्रका योगदानकर्तामध्ये बागमती प्रदेशमा सबैभन्दा बढी ५लाख ७७ हजार ८०० जना आबद्ध छन्। त्यसपछि क्रमशः कोशीमा ९३ हजार ३७३, लुम्बिनीमा ४१ हजार ९९८, मधेसमा ३८ हजार ६१०, गण्डकीमा ३७ हजार ९४१, सुदूरपश्चिममा ६ हजार १८० र कर्णालीमा ४ हजार ५३४ योगदानकर्ता रहेका छन्।
रोजगारदाताको संख्यातर्फ पनि बागमती प्रदेश अगाडि छ। जहाँ १५ हजार ५५१ रोजगारदाता सूचीकृत छन्। कोशीमा २ हजार ७६९, लुम्बिनीमा २ हजार १८४, गण्डकीमा १ हजार ४८७, मधेसमा १ हजार ३२१, सुदूरपश्चिममा ३८० र कर्णालीमा ३१४ रोजगारदाता आबद्ध भएका छन्।
योगदान संकलन र दाबी भुक्तानी
कोषको विवरणअनुसार हालसम्म १ खर्ब ३३ अर्ब २६ करोड रुपैयाँ योगदान रकम संकलन भएको छ। जसमा अतिरिक्त योगदान र प्रतिफलसमेत समावेश छ।
कोषबाट २३ अर्ब २६ करोड रुपैयाँ दाबी भुक्तानी भइसकेको छ। दाबी भुक्तानीतर्फ ३ हजार ३२ हजार ८७३ जनाले दाबी गरेका छन् भने १५लाख २१ हजार ९५९ पटक दाबी भुक्तानी गरिएको छ।
यसैबीच अर्थमन्त्री स्वर्णिम वाग्लेले आम्दानी भएकाहरुलाई सामाजिक बीमामार्फत र विपन्न वर्गलाई सामाजिक न्यायमार्फत् समेट्नुपर्छ भन्नेमा सरकार स्पष्ट रहेको बताएका छन्।
कोषको वार्षिकोत्सवका अवसरमा आज अर्थमन्त्री वाग्लले कोषको दायरा विस्तार गरिने र कमाउन सक्नेका लागि सामाजिक बीमा तथा सामाजिक सहायता वा पुनर्वितरणमार्फत सामाजिक सुरक्षाको दायरामा समेट्ने सरकारको स्पष्ट रणनीति रहेको बताए।
भौतिक पूर्वाधारसँग जोड्नका लागि सरकारले काम गरिरहेको ऋणपत्र जारी गर्ने निरन्तर भुक्तानी गर्न सक्ने गरी नीतिगत तयारी भइरहेको पनि अर्थमन्त्री वाग्लेले जानकारी दिए। ‘सरकारले दिगो सामाजिक सुरक्षा प्रदान गर्ने गरी काम गरिरहेको छ’, उनले भने।











