काठमाडौं । मानिसमा काम गर्ने इच्छा शक्ति भयो भने एउटा क्षेत्रमा मात्रै नभएर विभिन्न क्षेत्रमा काम गरेर सफलता पाउन सकिन्छ। धेरै सेक्टरमा हात हाल्दा कतै पनि सफलता पाउन सकिँदैन भन्ने कुरा भ्रम हो। काम गर्ने इच्छा, जाँगर, मेहनत र धैर्यता हुने मान्छेले कदम कदममा सफलता हासिल गर्न सक्छ।
मान्छे एउटा क्षेत्रमा मात्रै सीमित नभएर विभिन्न क्षेत्रमा काम गरेर पनि सफलता पाउन सकिन्छ भन्ने ज्वलन्त उदाहरण हुन् प्रदीप अधिकारी। उनी एक सफल उद्यमी र मेडिकल व्यवसायी मात्रै नभएर अहिले बीमा क्षेत्रमा पनि सफल भएका व्यक्तिका रुपमा परिचित छन्।
झापामा २०३८ सालमा जन्मिएका प्रदीपको हाल बसोबास भने बुटवल उपमहानगरपालिका–११ मा रहेको छ। उनले झापाबाट प्लसटुसम्मको अध्ययन पूरा गरे। बुवाको नेपाल विद्युत प्राधिकरणमा जागिर भएका कारण प्रदीपका परिवार झापाबाट मोरङको विराटनगरमा बस्नुपर्यो। अहिले भने स्थायी रुपमै प्रदीपको परिवार बुटवलमा बसोबास गर्दै आइरहेको छ।
प्रदीपको बाल्यकाल सामान्य नै बित्यो। प्रदीप सानै हुँदा घरमा मिल थियो। त्यो मिल आमाले सम्हाल्ने गरेकी थिइन्। प्रदीपले पनि आमालाई सघाउँदै बाल्यकाल बित्यो। प्रदीपले अहेब र एचए पनि अध्ययन गरेका छन्।
प्रदीप हाल सिटिजन लाइफको बुटवल शाखा कार्यालयमा एजेन्सी म्यानेजरका रुपमा कार्यरत छन्। आफ्नो व्यवसायमा कर्मचारी राखेर प्रदीप भने बीमालाई नै समय दिने गर्छन्। साथीभाइ अनि इष्टमित्रको चिया भेटमा पनि उनले बीमाकै बारेमा बुझाउन खोज्छन्। आफूले भेटेका र बीमा बुझाएका सबै व्यक्तिले बीमा गर्नुभन्दा पनि बीमालाई सबैले बुझून् भन्ने प्रदीपलाई लाग्छ। आफन्तीको घेराबाट बीमा गर्न सुरु गरेका प्रदीप आज मासमा पुगेका छन्।
प्रदीप अभिकर्ता मात्रै नभएर मेडिकल व्यवसायी अनि मसला उद्योगका सञ्चालक पनि हुन्। बुवाको जागिरको सिलसिलामा ठाउँ–ठाउँमा बसाइँ सर्दै नयाँ ठाउँ, समाज र परिवेशलाई नियाल्ने मौका पाएका प्रदीप मेहनत र धैर्य गरे अवश्य पनि सफल भइन्छ भन्ने मनोभाव बोकेका व्यक्ति हुन्। उनले सानोमा पनि आमाको व्यवसायलाई सघाउँथे। मेहनत गर्दै अगाडि बढ्ने बुवा–आमाको प्रेरणाले पनि प्रदीप अहिले हरेक व्यवसायमा सफल छन्।
विराटनगरमा हुँदा प्रदीपले किराना पसल चलाउँदै कलेज पढे। कलेजको पढाइ सकिएपछि प्रदीपलाई ‘अब केही गर्नुपर्छ’ भन्ने मनसाय जाग्यो र काठमाडौं जाने निधो गरे। काठमाडौं आइसकेपछि प्रदीपले त्रिपुरेश्वरमा आफ्नै फिल्ड अर्थात मेडिकलमा काम पाए। काम गर्न पनि सुरु गरे। त्यसपछि प्रदीपका बुवा पनि काठमाडौं आए। अनि बुवाले काठमाडौंमा पनि मसला मिल राख्ने सोच बनाए। किनकि प्रदीपको परिवारमा सबैलाई मसला मिलकै ज्ञान थियो। त्यसपछि प्रदीपका बुवाले काठमाडौंको बागबजारमा मसला उद्योग अर्थात मिल खोले। बिहान–बेलुका बुवालाई मिलमा सहयोग गर्दै उनले मेडिकल फिल्डमै काम गर्दै आए।

समय बित्दै जाँदा प्रदीपका साथीले फोन गरेर ‘इन्डियामा आइज काम छ। के गर्छस् ?’ भने। त्यसपछि ‘के गर्दा राम्रो भविष्य होला भनेर नयाँ अवसरको खोजीमा भौँतारिएका प्रदीपले ‘हुन्छ म आउँछु’ भने। अनि प्रदीप इन्डिया गएर काम गर्दै अपरेसन थ्रियटर असिस्टेन्टमा अध्ययन पनि गरे। अध्ययन पनि पूरा गरे। उनले भारतमा काम गर्दै ७ वर्ष बिताए।
इन्डियाको लामो बसाइपछि घरायसी कामले गर्दा प्रदीप स्वदेश फर्किनुपर्यो। नेपाल आएपछि प्रदीप विवाह बन्धनमा बाँधिए। त्यसपछि बुटवलमै मेडिकल सञ्चालन गरे। उनले भने, ‘आफ्नै देशमा अनि आफूले अध्ययन गरेको फिल्डमै व्यवसाय गर्न पाउँदा म धेरै खुसी छु। अहिले मैले बुटवलमै मसला मिल पनि सञ्चालन गरेको छु। सानैबाट भिजेको र बुवा–आमाले अँगालेको पेसा भएकोले मलाई मसला मिलमा लगाव छ। कर्मचारी राखेर आफ्नो व्यवसाय सञ्चालन गर्दै आएको छु। मैले चाहिँ बीमालाई नै जोड दिँदै आइरहेको छु।’
बीमामा यसरी जोडिए प्रदीप
मेडिकल व्यवसायमा रमाइरहेका प्रदीपलाई आफ्नै श्रीमती सुमित्रा चापागाइँले बीमामा ल्याएकी हुन्। सुमित्रा सिटिजन लाइफकी सिनियर एजेन्सी म्यानेजर हुन्। प्रदीपलाई बीमा अभिकर्ता पेसा खासै राम्रो लाग्दैनथ्यो। सुमित्रालाई पनि उनले ‘यो पेसा छोड, नगर’ भन्दै आइरहेका थिए। तर, नगर भनेकै पेसामा प्रदीपलाई नै होमिन सुमित्राले दबाब दिइनन्। सुमित्राले प्रदीपलाई भनिन्, ‘अभिकर्ता बनेर काम गर्दा पुन्य मिल्छ। आफूलाई र बीमितलाई नै फाइदा हुने काम धेरै राम्रो छ। अरुले जे भने पनि केही फरक पर्दैन। बीमा गराउँदा बीमितको जोखिम कभरेज हुनुका साथै भविष्य पनि सुनिश्चित हुने भएकाले यो पेसा धेरै राम्रो छ।’
सुमित्राको यिनै कुरा सुनेर प्रदीपले २०७५ सालमा सिटिजन लाइफबाट लाइसेन्स लिएर काम गर्न थाले। लाइसेन्स लिएको २–३ वर्षसम्म पनि प्रदीपले खासै चासो दिएर काम गरेनन्। अरुलाई कसरी भन्ने होला ? सबैले दलालजस्तो मान्ने पेसा कसरी गर्ने होला भन्ने लागेर उनले खासै बीमा गराएनन्।

त्यसपछि श्रीमती सुमित्राकै प्रेरणाले प्रदीपले २–३ जना व्यक्तिको बीमा गराए। अनि तालिम पनि लिँदै गए। तालिम लिँदै गएपछि र स–साना बीमा गराउँदै गएपछि उनलाई राम्रो लाग्न थाल्यो। सुरु–सुरुमा बीमा गराउन अप्ठ्यारो लाग्ने प्रदीपलाई २–४ वटा बीमा गराएपछि त ‘ए, गर्न सकिने रहेछ। बीमा बुझाउँदै गएपछि मान्छेहरुले बीमा गर्ने रहेछन्। अब गर्न सक्छु’ भन्ने आँट आयो। अहिले प्रदीप धेरै राम्रो बीमा गराउन सफल भएका छन्।
रिजनल म्यानेजर दुर्गाराज ठकालले गरेको सहयोग र प्रेरणाले गर्दा सफलता हासिल गरेको प्रदीपले बताए। साथै, बीमा क्षेत्रमा सुनील पोख्रेल र भीमप्रसाद सुवेदीबाट पनि धेरै सिक्ने मौका पाएको प्रदीप बताउँछन्। बीमा नरुचाउने मान्छेलाई पनि झक्झक्याएर आज यो ठाउँसम्म ल्याउने श्रीमती सुमित्रा नै प्रदीपकी आइडल हुन्। सुरुमा आफूले नरुचाएको पेसाले नै साचेभन्दा धेरै खुसी दिएकोमा प्रदीप हर्षित छन्।
बीमाको महत्व
बीमा सबैका लागि अपरिहार्य रहेको प्रदीप बताउँछन्। ‘जसरी मानिसका लागि गास, बास र कपास आधारभूत आवश्यकता हुन्। त्यसैगरी पछिल्लो समय बीमा पनि आधारभूत आवश्यकता जस्तै बनेको छ’, प्रदीप भन्छन्, ‘हरेकको जीवन जोखिमपूर्ण छ। त्यही जोखिमपूर्ण जीवनमा राहात प्रदान गर्ने काम बीमाले गर्ने हुनाले बीमा सबैका लागि अत्यावश्यक छ। बीमाले आजको रिस्क कभरेज गर्नुका साथै भोलिको भविष्य पनि सुनिश्चत बनाउन मद्दत गर्छ।’
बीमा परिवारका लागि अभिभावकजस्तै रहेको प्रदीपको बुझाइ छ। ‘। परिवारमा अभिभावकले अहम् भूमिका निभाएका हुन्छन्’, उनी भन्छन्, ‘त्यसैगरी बीमाले पनि अभिभावक जसरी नै जीवनलाई रक्षा गरेको हुन्छ। त्यसकारण पनि बीमा सबैले बुझेर गर्नु आवश्क छ।’
बीमा अभिकर्ता पेसामा जोडिएपछि फेरिएको जीवन
अभिकर्ता पेसामा प्रवेश गरेपछि प्रदीपको जीवनमा धेरै परिवर्तन आएका छन्। हरेक तह र तप्काका मानिसलाई भेट्ने मौका पाएका छन्। मानिसको भीडमा गएर बोल्न नसक्ने प्रदीप अहिले जतिसुकै ठूलो भीडमा गएर पनि निर्धक्कका साथ आफ्ना कुरा राख्न सक्ने भएका छन्। उनको बोल्ने क्षमतामा विकास भएको छ। ‘अभिकर्ता पेसाले मलाई कसरी बोल्ने, कसरी र कस्तो भएर हिँड्नेलगायतका धेरै कुरा सिकाएको छ’, प्रदीप भन्छन्।

आर्थिक रुपमा समेत सबल भएको प्रदीप सुनाउँछन्। ‘अभिकर्ता पेसा भनेको असीमित आम्दानी गर्न सकिने स्रोत हो’, उनी भन्छन्, ‘अभिकर्ता पेसाले मेरो व्यवसायमा पनि धेरै ठूलो सहयोग गरेको छ। मान–सम्मान अनि इज्जत पनि भरपूर दिएको छ। त्यसैले म धेरै खुसी छु।’
सिटिजन लाइफ आफ्ना लागि देवताबराबर नै रहेको प्रदीप बताउँछन्। ‘किनकि सिटिजन लाइफले मलाई धेरै कुरा सिकायो, धेरै कुरा दियो’, उनले भने, ‘यो कम्पनीले मलाई बोल्न, हिँड्न, ज्ञान–सीपलगायतका धेरै कुरामा अब्बल बनायो। मान–सम्मान र इज्जत दियो। यिनै कारणले आज म सफल छु। आफ्नै व्यवसाय भएको मान्छे हुँ। केही कमी त थिएन। तर, यो पेसामा प्रवेश गरेपछि साँच्चै जीवनले नै नयाँ मोड पाएको अनुभूति गरेको छु।’
अभिकर्ता आफ्नो पेसाप्रति लगनशील र धैर्य भएर लाग्नुपर्ने प्रदीपको सुझाव छ। ‘यो पेसामा मेहनती, इमान्दारिता, सहनशीलता, धैर्यता, बीमा बुझाउन सक्ने क्षमता हुनुपर्छ’, उनी भन्छन्।
अभिकर्ता भएर काम गर्न चाहनेहरुका लागि आम्दानीको उत्तम विकल्प अभिकर्ता पेसा रहेको प्रदीपको भनाइ छ। ‘पढ्दै गरेका विद्यार्थीले यो पेसाबाट मनग्य आम्दानी गर्न सक्छन्। तर, धैर्यता र मेहनत हुनुपर्छ’, उनले भने, ‘यस पेसामा समयसीमा नहुने भएकाले आफ्नो फुर्सदमा गर्न सकिने हुँदा सबैका लागि यो उत्तम पेसा हो। यो पेसामा नामका साथै दाम पनि प्रशस्त पाइन्छ।’
प्रदीपले सिल्भर, डाइमन्ड, हिरो अफ द डे, हिरो अफ द मन्थ स्किम अन्तर्गतका धेरै अवार्डहरु हात पारेका छन्। उनी एमडीआरटी समेत भइसकेका छन्। कम्पनीले दिने लक्ष्य हासिल गरेर उनी नेपालका विभिन्न ठाउँ लगायत सिक्कम र दार्जिलिङ समेत घुम्ने अवसर पाएका छन्।



















