काठमाडौं । नेपाल धितोपत्र बोर्डले आउँदो मंसिरभित्र धितोपत्र बजारको नयाँ आधारभूत सूचकांक (बेन्चमार्क इन्डेक्स) प्रयोगमा ल्याउने भएको छ।
धितोपत्र बोर्डले अर्थ मन्त्रालयबाट गत भदौ २९ गते जारी गरिएको पुँजी बजारसुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना, २०८३ मा उल्लेख भएबमोजिम बेन्चमार्क इन्डेक्स प्रयोगमा ल्याउने तयारी गरेको हो। यसका लागि धितोपत्र बोर्डले धितोपत्र बजारमा बेञ्चमार्क सूचकांकको पुनर्संरचनासम्बन्धी कार्यपत्र, २०८३ तयार गरी परामर्शका लागि सार्वजनिक गरेको छ।
नेप्से सूचकांकलाई अल इक्विटी इन्डेक्सका रुपमा कायम राखी कारोबारयोग्य शेयर, बजार पुँजीकरण, कम्पनीको वित्तीय अवस्था, कारोबारको तरलता, संस्थागत सुशासन, सूचना प्रवाहको स्थितिजस्ता सूचकको आधारमा धितोपत्र बजारको नयाँ बेन्चमार्क इन्डेक्स प्रयोगमा ल्याइने धितोपत्र बोर्डले जनाएको छ।
हाल प्रयोगमा रहेको नेप्से परिसूचकले दैनिक कारोबार नहुने, लक–इन भएका संस्थापक शेयरहरुको समेत बजार पुँजीकरणलाई आधार मानी सूचकांक गणना गर्ने गरिएको छ। जसका कारण सरकारी स्वामित्वमा भएको तथा लक–इन शेयरहरु कुल बजार पुँजीकरणमा जोडिए पनि दैनिक कारोबारमा उपलब्ध नहुने हुँदा यथार्थपरक बजार सूचकांक मापन नहुने हुँदा यसले बजारको यथार्थ चित्रण नभएको भन्ने जनसरोकारको विषय सम्बोधन गर्नुपर्ने भएको धितोपत्र बोर्डले जनाएको छ।
यस समस्याको समाधानका लागि प्रस्तावित संरचनाअन्तर्गत हाल कायम रहेको नेप्से सूचकांकलाई यथावत राखी यसलाई समग्र शेयरको मूल्य मापन गर्ने बृहत् सूचकका रुपमा पुनर्संरचना गर्ने तयारी धितोपत्र बोर्डको छ। ‘कारोबारयोग्य फ्री–फ्लोट शेयरको बजार पुँजीकरणमा आधारित नेप्से बेन्चमार्क इन्डेक्स विकास गरिनेछ’, धितोपत्र बोर्डले भनेको छ, ‘यस नयाँ बेञ्चमार्कको कार्यान्वयनका लागि संस्थापक, सरकारी र लक–इनमा रहेको शेयरहरुलाई छुट्याएर कारोबारयोग्य हिस्साका आधारमा निश्चित फ्री–फ्लोट फ्याक्टर लागू गरिनेछ।’
कारोबारयोग्य फ्री–फ्लोट शेयरको बजार पुँजीकरणमा आधारित नयाँ बेन्चमार्क इन्डेक्सको विकासपश्चात् नेप्से सूचकांक गणना विधि यथार्थपरक हुनुका साथै इन्डेक्स फन्ड, ईटीएफ र डेरिभेटिभ्सजस्ता आधुनिक वित्तीय उपकरणहरुको विकासमा सहयोग हुने अपेक्षा धितोपत्र बोर्डको छ।
प्रस्तावित कार्यपत्र कात्तिक १५ गतेभित्र सुझाव उपलब्ध गराउन धितोपत्र बोर्डले सरोकावाला सबैलाई आग्रह गरेको छ।












