IME Life New
GBIME

बीमाले आर्थिक संकट रोक्छ, ढुक्क भएर बाँच्ने वातावरण बनाउँछः किशोर लामिछाने

SPIL
Global College
Nepal Life

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) हुन्, किशोरप्रसाद लामिछाने। उनीसँग बीमा क्षेत्रमा काम गरेको लामो अनुभव रहेको छ। उनै डीसीईओ लामिछानेसँग बीमा क्षेत्रको पछिल्लो अवस्था, चुनौती र अवसरका विषयमा इन्स्योरेन्स टकमा गरिएको कुराकानीको सारसंक्षेपः

नेपालको बीमा क्षेत्र सरेन्डरको भारीले थिचियो भन्ने गाइँगुइँ छ। किन त्यस्तो भयो ?

Crest

विगत २–३ वर्ष हाम्रो मुलुकको आर्थिक क्रियाकलाप सुस्त भयो। अर्थतन्त्रलाई मन्दीले छोएको बेलामा सबैभन्दा पहिले गाँस, बास र कपास नै प्राथमिकतामा पर्छ। म आज रहे पो भोलि अरु कुरा गर्न सक्छु त भन्ने हुन्छ। त्यसकारण सबैले यसका लागि नै सोच्न बाध्य हुन पुगे। त्यसले प्रिमियम तिर्नेभन्दा पनि गाँस, बास र कपासतर्फ मात्रै ध्यान दिने अवस्था आयो।

अर्को कुरा हाम्रा अभिकर्ता साथीले आर्थिक क्षमताभन्दा केही बढी बीमांकको बीमा गरेकाले समस्या आएको जस्तो देखिन्छ। तथापि हामीले फाइनान्सियल अन्डरराइटिङका माध्यमबाट यसलाई कस्ने गरेका नै छौँ। किनभने हामीले आजको यो आम्दानीले भविष्यमा मैले गर्ने आर्थिक योजनाहरुमा प्रभाव पारिरहेको हुन्छ। आज मैले परिवाललाई लालनपालन गर्नुपर्ने आर्थिक दायित्वहरुलाई आँखा चिम्लिएर भविष्यका लागिमात्रै पैसा बचत गर्छु भन्न सक्ने अवस्था हुँदैन।

फोर्स सेलिङ वा मिस सेलिङले यहाँ भूमिका खेल्यो होला। तपाइँले पनि केही इंगित त गरिहाल्नुभयो। अभिकर्ताले पहिलो र दोस्रोपटक प्रिमियम उठाउँदा अलि धेरै कमिसन पाउँछन्। त्यसपछि क्रमशः घट्दै जान्छ। भनेपछि आज बेच्नु थियो बेचिहालौँ। भोलि आइहाल्छ, बाँकी त भोलि सरेन्डर गर्छन्, मेरो के जान्छ भन्ने जस्तो पनि भयो कि ?

हुन सक्छ। कतिपय अभिकर्ताले यसलाई पूर्णकालीन व्यवसायका रुपमा अगाडि बढाउँदै गर्दा वा कम्पनीले दिएको मासिक, त्रैमासिक वा १५ दिने लक्ष्य पूरा गर्ने क्रममा एकाध बीमालेख त्यस्तो भएका हुन सक्छन्। तथापि हामीले त्यस्तो अवस्थालाई अन्डरराइटिङमा धेरै सजग छौँ। सोही कारण नै प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सकै सरेन्डर हेर्ने हो भने नयाँ व्यवसाय र नवीकरण व्यवसायको तुलनामा सरेन्डर रेसियो कम छ। तथापि यो व्यवसाय बढ्दै जाँदा सरेन्डर पनि बढ्दै जाने अवस्था रही नै रहन्छ। समग्र बीमा क्षेत्रकै कुरा गर्दा जुन कुरालाई कम्पनीहरुमा धेरै बीमालेख बेचिरहेका छन्, त्यही अनुपातमा सरेन्डर बढ््ने नै भयो। त्यसमा केही अधिकर्ताले बुझेर वा नबुझेर जति अवधिको बीमा गरे पनि डबल हुन्छ भनिदिएको अवस्थाहरु हुन सक्छन्। त्यसले यस किसिमको मिससेलिङ हुने सम्भावनालाई बढाउँछ।

तपाइँ कम्पनीवालाहरुलाई सरेन्डरले कहाँनेर दुःख दिन्छ ?

दुःख त काहीँ दिँदैन। दुःखको कुरा यसमा सचेतनाको कमी छ। हाम्रो कम्पनीले पनि अभिकर्तालाई तालिम दिँदा सरेन्डर कसरी कम गर्ने भन्नेबारे थप प्रशिक्षण दिनुपर्छ। हामीले पढाउँछौँ पढाउन त। तर, के भने तिरेको भन्दा कम रकम फिर्ता आउँछ सरेन्डर गर्दा भनेर अभिकर्ताले आफ्ना ग्राहकलाई बताउनुहुन्न। कार्यालयमा आएर ठोकिने समस्या के हो भने ३ वर्षसम्म पैसा तिर्न सकिएन भने फिर्ता आउँछ भन्ने बुझाइ देखिन्छ। त्यसपछि मैले सकिन वा तिरिन भने पैसा फिर्ता आउँछ भन्ने सोचिन्छ। अर्को पाटो के छ भने खाता बन्द गर्न गयो भने मेरो हजार, १५ सय कति काट्ने हो, काटेर रकम फिर्ता आउँछ भन्छौँ। तर, हामी कहाँ फ्युचर भ्यालु, सरेन्डर भ्यालुको प्रोभिजन लागू हुन्छ। बीमा प्राधिकरणले दिएको मार्गनिर्देशनअनुसार हामीले हिसाब–किताब गर्नुपर्ने हुन्छ। त्यसकारण कम्पनीले चाहेर कसैलाई १ रुपैयाँ पनि बढी दिन सक्दैन। हिसाब हिसाबै हो, जे आउँछ त्यही दिने हो। तर, प्रडक्ट बिक्री गर्दा बताउनुपर्ने न्यूनतम कुरा पनि नबताउँदा चाहिँ समस्याका रुपमा यो आउँछ।

यो मामिलामा तपाइँहरुले जुन एजेन्सीमार्फत पोलिसी बिक्री गरिरहनुभएको छ, उनीहरुको हिसाब–किताब गरेर कसले बेचेको पोलिसीमा बढी समस्या आयो भनेर हेर्नुहुन्छ ? यसरी हेर्दा पनि त भोलिका दिनमा कुनै माध्यमबाट त्यस्तो केस कम गर्न सकिएला नि ?

मैले अभिकर्ता भएर कसैलाई पोलिसी बेचेँ भने कतिपय साथीहरुले असक्षम भएर हैन कि अरुको कुरा सुनेर पनि यो बीमा राम्रो रहेनछ भन्ने हिसाबले पनि सरेन्डर गरिरहनुभएको छ। हाम्रो बीमालेखले युनिभर्सल कभरेज दिन्छ। त्यति हुँदाहुँदै पनि कतिपय म विदेश जाने हो, अब यसको काम छैन भन्दै सरेन्डर गर्न आउनुहुन्छ। त्यसबाहेक अभिकर्ताले पोलिसी त बेच्छन् तर कतिपय चीज उनीहरुको नियन्त्रणमा रहँदैनन्। दुई वर्षपछि अभिकर्ताले निरन्तर सेवा प्रदान नगर्दा भोलि कम्पनीले मलाई चिन्दैन भन्ने हिसाबले पनि सरेन्डर भइरहेको देखियो। यी समग्र कुरा बुझाइ र सचेतनामा कमी भएर नै हो।

ल्याप्सले पनि दुःखदायी विषय हो ?

यो अवश्य दुःखदायी विषय हो। किनभने नयाँ व्यवसाय प्राप्त गर्नु त्यत्तिकै दुःख छ। आएको व्यवसायलाई पनि रिटेन्ड नगरेर फेरि सरेन्डर हुनुपर्ने अथवा ल्याप्स हुनु पनि त्यत्तिकै दुःखदायी हो। कतिपय अवस्थामा कम्पनीहरुले र हामीले पनि नवीकरण बीमामा ब्याज छुटजस्ता स्किम ल्याइरहेका हुन्छौँ। त्यसले पनि केही मानिसलाई इन्करेज गराउँछ। तर, भोलि यसले कता–कता बेथिति ल्याउला भन्ने मलाई डर लाग्छ। कम्पनीले ब्याज छुट अफर ल्याइहाल्छ, किन समयमा तिर्नुपर्यो। जुन बेला ब्याज छुट अफर आउँछ, त्यो बेला तिर्छु भनेर बस्ने परिस्थिति सिर्जना हुन्छ कि भन्ने लाग्छ। यसले पनि कहिलेकाहीँ त्रैमासतिर ल्याप्सको आकार ह्वात्तै बढेको देखिने हुन्छ।

एक किस्ता वा दुई किस्तामात्रै पैसा तिरेको बीमितले १–२ वर्ष छाडिदिए। त्यो हिसाब–किताब कहाँ लगेर मिलान गर्नुहुन्छ ?

यो पैसा त जीवन बीमा कोषमै बस्छ। कसैले १५ वर्ष अवधिको बीमा गर्यो। २–४ वर्ष बीमा गरेन भने पनि बाँकी अवधि रहनुभन्दा १ वर्ष अघिसम्म नवीकरण गर्ने अवसर त बाँकी नै रहन्छ। त्यो बेलासम्म त हामीले त्यो पैसा राख्नै पर्छ।

बीमा साह्रै धेरै प्राविधिक विषय छ। कम्पनी, अभिकर्ता र बीमितले कति बुझ्छन् भन्ने दुःख छ। त्यही भएर भुक्तानीमा दुःख पाइरहनुभएको हुन्छ। तर, दुःख चाहिँ कम्पनीले दिएको जस्तो देखिन्छ है ?

हो। हामीले समयसापेक्ष बनाउन नसक्नु कम्पनीको पनि केही कमजोरी हुन जान्छ। अभिकर्ताका लागि दिग्दर्शन पुस्तक नै बनाएर दिएका छौँ। उहाँहरुबाट पनि अध्ययन पुग्दैन। यति धेरै प्राविधिक विषय हुँदाहुँदै पनि कतिपय अवस्थामा ऐनअनुसार भएको व्यवस्थाले एसएलसी वा एसईई पास गरेकालाई अभिकर्ता बनाउन सकिन्छ। कतिपय अभिकर्ता साथीहरु आफ्नो परिवारभित्रकोलाई मात्र पोलिसी बेच्ने गर्नुपर्छ। अनि पछि छाडिदिने अवस्था रहन्छ। त्यसबाट पनि सरेन्डर बढ्ने, ल्याप्स बढ्ने भइरहेको छ।

बीमा पोलिसी बेचेर आफ्नो साधारण खर्च पनि धान्न नसक्ने परिस्थिति भएर पछि अभिकर्ताले छाड्ने गरेका हुन् कि ?

म यसलाई बुझाइकै कमी मान्छु। १०–५ बजे अफिस जाने आउने रोजगारी र पसल खोलेर बस्नेलाई व्यवसाय मानिएजस्तै अभिकर्ता पनि प्रतिष्ठित पेसा हो। कतिपयले यो कुरा बुझ्नुभएको नै छैन। जीवन बीमा अभिकर्ता विश्वको पाँचौँ उत्कृष्ट पेसाका रुपमा आउँछ। यो भनेको त एकदमै राम्रो हो नि। तर, हाम्रोमा त्यस्तो बुझाइ छैन। त्यसकारण यो बुझाइमा कमी हो।

ह्वारह्वार्ती लाइसेन्स बाडिदिँदा अभिकर्ता पेसा अलि सस्तो जस्तो देखिएको हो कि ?

त्यसो चाहिँ केही हदसम्म ठीक होला। तर, अर्को पाटो तपाइँ मसँग अभिकर्ता बन्न आउनुभयो भने के हेरेर दिने ? के हेरेर नदिने ? हामीले पूर्णकालीन तालिम दिएका हुन्छौँ। स्कुलमा सबै विद्यार्थीलाई एउटै विषय पढाउँदा पनि त कुनै फेल, कुनै पास त कुनै सर्वाधिक नम्बर ल्याएर पास हुने हुन्छन् नि। त्यसरी नै कुनै पनि व्यवसाय सबैका लागि पक्कै हुँदैन। कोही साथीहरुले बुझेर गर्दै जाँदा राम्रो भइरहेको पनि देखिन्छ। अहिले प्रोफेसनल अभिकर्ताहरु जन्माएका छन्।

बीमा भनेको फोर्स सेलिङ हो, संसारभर। कतिपय अभिकर्ताले ५ जनासम्मलाई आग्रह गर्ने वा बीमाका लागि प्रस्ताव गर्नुहुन्छ। त्यसमा सफल हुनुहुन्न। त्यसपछि सकिँदैन भनेर छाडिदिनुहुन्छ। आजको दिनसम्म पनि जीवन बीमा गर्नुभएका धेरैले बीमा गर्नुपर्छ भनेर आफैँ सक्रिय भएर गर्नुभएको छैन। धेरै अभिकर्ता आउनुभयो होला। अनि त्यसपछि अन्तिममा मात्रै बीमा गर्नुभयो।

बीमा अभिकर्ताले बीमा गराउन नागरिकका कागजात ल्याउनुहुन्छ। त्यसपछि तपाइँले के–के हेर्नुहुन्छ बीमा गराउँदा ?

जोखिमका दृष्टिकोणले हामीले हेर्छौं। त्यतिखेर बीमा गर्न चाहने व्यक्तिको पेसा, स्वास्थ्य अवस्था, पारिवारिक अवस्था, प्रस्ताव गरेको बीमांकअनुसारको आम्दानीलगायत कुरा हेरिन्छ। जसलाई मेडिकल तथा फाइनान्सियल अन्डरराइटिङ भनिन्छ। जति बीमांक ठूलो हुँदै जान्छ, त्यति जोखिम बढी हुँदै जाने भएकाले पुनर्बीमाको गाइडलाइनसमेत हामीले हेर्नुपर्ने हुन्छ। तथापि यी कुरा हेर्दा–हेर्दै पनि सरेन्डर र ल्याप्स भइरहेको भने हुन्छ। व्यक्तिलाई उसको आम्दानीका आधारमा बीमा गराउने हो। १८ देखि ३५ वर्षसम्मका मानिसका लागि वार्षिक आम्दानीको ३० देखि ४० गुणासम्म बीमांक रहनेगरी हामीले बीमा गराउँछौँ। नियामकीय प्रावधानअनुसार बीमा गराउँदा कुनै पनि विभागमा कसैको पनि हस्तक्षेप नहुने गरी गराउँछौँ।

दाबी माग्ने बेलामा तपाइँहरु ५० हजारको चेक पनि केन्द्रमा पठाउनुहुन्छ नि ?

हामीले बीमा प्राधिकरणको निर्देशनअनुसार हामीले विकेन्द्रीकरणअन्तर्गत प्रादेशिक तहमा एक, शाखामा एक र उपशाखा कार्यालयमा एक तहको अन्डरराइटिङ अधिकार र छिटो दाबी भुक्तानी गर्ने अधिकार दिएका छौँ, प्रभु महालक्ष्मीमा। उहाँहरुले आफैँ हस्ताक्षर गरेर दाबी भुक्तानी गर्न सक्नुहुन्छ। तथापि हामीले कुनै पनि चीजमा शंका लाग्यो भने हेर्छौं। मेडिकलको पार्टमा चेकअप गराउनुपर्छ।

बीमा बजारमा एउटा भाष्य सिर्जना भएको छ, कम्पनीहरुले लिने बेलामा सहजै लिने तर दाबी भुक्तानीका लागि चाहिने नचाहिने कागजात हेर्न थाल्नुहुन्छ भन्ने।

आमजनमानसमा तपाइँले भनेको भाष्य सही हो। तर, कम्पनीमा बसेर हेर्दा यसका दुईपाटा हुन्छन्। जतिखेर बीमा प्रस्ताव आउँछ नि धेरै चाहिँ अभिकर्ताले नै दुई हस्ताक्षरमात्रै गर्न लगाएको बाँकी आफ्नो अनुकूलता हेरेर आफैँ भरेर ल्याउने गर्नुहुन्थ्यो, विगतमा। आज यो धेरै कम भइसकेको छ। हामीले कतिपय कागजात शंका लागेमा बीमा गर्न लागेको व्यक्तिलाई फोन सम्पर्क गरी सोधपुछ पनि गर्छौं, चेक गर्छौं। यो पेसा तपाइँले गरिरहनुभएको छ कि छैन, तपाइँलाई कस्ता–कस्ता रोग लागेको थियो भन्नेसम्म हेर्छौं। कतिपय अवस्थामा दाबी गर्ने बेलामा आउने कागजातले कस्तो पुष्टि गर्छ भने यो मानिसको बीमा नै हुँदैन थियो। हिजो बीमा गर्दा दिएको कागजातबाट बीमा गर्न अयोग्य भन्ने खुल्दैन। तर, आज दाबीका लागि ल्याइएको कागजातबाट उहाँ बीमा गर्न अयोग्य हुनुहुन्थ्यो भन्ने कागजात खुल्छ। त्यसमा सचेतना हुन कम हुँदा यस्तो भएको हो। यसको दायित्व बीमा कम्पनीको हुन्छ। अब हाम्रो कुरा गर्ने हो भने चाहिँ सबैभन्दा छिटो दाबी भुक्तानी गर्नेमा हाम्रो कम्पनी पर्छ।

फ्रड कसरी हेर्नुहुन्छ ?

फ्रडका लागि सामान्यतया १० वर्ष हाराहारी बितिसकेको बीमालेखमा हेरिँदैन। काम गर्दै जाँदा कहिलेकाहीँ धाकधम्की आइरहेको हुन्छ। हिजोको दाबी आज सेटल गरिदिएन भने तपाइँलाई घर जान पर्छ नि, जाने बाटो त त्यही हो नि भन्ने किसिमका धम्की आउँछन्। विगतका कागजात अध्ययन गर्दै जाँदा उहाँहरुले पेस गरेका कागजातबाटै यो चाहिँ फ्रड रहेछ भन्ने पुष्टि हुन्छ। अस्पताल नै नभएका ठाउँमा उपचार गराएको कागजात पनि आउँछ, बेलाबखत। त्यसबाटै कतिपय फ्रड हो भन्ने थाहा हुन्छ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS