काठमाडौं । जहाँ चुनौती हुन्छ, त्यहाँ अवसर पनि हुन्छ। कुनै पनि काममा सफलता पाउन चुनौतीसँग डराएर होइन सामना गरेर अगाडि बढ्नुपर्छ। अनिमात्रै सफलता पाइन्छ। मानिसमा चुनौतीलाई सामना गर्ने अटुट विश्वास भयो भने जस्तोसुकै कठीन काममा पनि सफलता पाउन सकिन्छ। यस्तै चुनौतीलाई अवसरका रुपमा लिएर अगाडि बढ्दै सफलता पाएका व्यक्ति हुन्, धर्मदेव दास।
हाल धर्मदेव सिटिजन लाइफको मिर्चौया शाखा प्रमुखको जिम्मेवारी सम्हाल्दै आइरहेका छन्। उनले आफ्नो ब्रान्चको टिम व्यवस्थापन, सबै डिपार्टमेन्टको रेखदेख अनि तालिम, अभिकर्ता, व्यवस्थापन, अभिकर्तालाई तालिमलगायतका यावत जिम्मेवारी पूरा गर्दै आइरहेका छन्। धर्मदेव आफ्नो शाखाको जिम्मेवारीमात्रै होइन बीमा शिक्षा बाँड्न पनि उत्तिकै तल्लीन रहन्छन्।
२०४८ सालमा सिराहाको लक्ष्मीपुर पटारी गाउँपालिका–६ सीतापुरमा जन्मिएका धर्मदेवको बाल्यकाल सामान्य रुपमा नै बित्यो। धर्मदेवले आफू ४ वर्षको हुँदा आमा गुमाए। आमा बिनाको बाल्यकाल बिताउन उनलाई धेरै असहज भयो। आमा बिनाको हुर्काइ र आमाको अभाव झेल्दा–झेल्दै उनको बाल्यकाल बित्यो। धर्मदेव बिहान–बेलुका घरको काम गरेर पढ्न जान्थे। उनले सानैबाट मेहनत र संघर्ष गर्न सिके। ‘आमालाई सानैमा गुमाएँ’, उनले भने, ‘आमाको अभावसँगै सानैबाट दुःखलाई नजिकबाट नियाल्ने मौका पाएँ। त्यही दुःख र संघर्षलाई बाल्यकालमै बुझेको भएर होला अहिले जस्तोसुकै दुःख र चुनौती ठूलो लाग्दैन।’
धर्मदेवले स्नातकसम्मको अध्ययन पूरा गरेका छन्। धर्मदेव मेहनती भएकै कारण आज बीमा क्षेत्रमा सफल छन्। मेहनत र लगनशीलतालाई आफ्नो जीवनको एउटा महत्वपूर्ण पाटो सम्झेर उनी अगाडि बढिरहे। उनको पारिवारिक अवस्था सामान्य नै थियो। तर, ती चुनौतीका बाबजुद पनि उनले पढाइलाई भने निरन्तरता दिएर स्नातकसम्मको अध्ययन पूरा गर्न सफल भए।
धर्मदेव २०७३ सालबाट बीमा क्षेत्रमा प्रवेश गरेका थिए। २०७३ सालमा साविक सूर्य लाइफबाट अभिकर्ताका रुपमा आफ्नो करिअरको यात्रा आरम्भ गरेका धर्मदेव आज शाखा प्रमुख सम्हाल्दै छन्। यो उनको लगनशीलताको प्रतिफल हो। साविक सूर्य लाइफमा काम सुरु गरेको ६ महिनामै धर्मदेवले साविक युनियन लाइफमा शाखा प्रमुख बन्ने अवसर पाएका थिए। त्यसपछि साविक युनियन लाइफमा काम गरेको ११ महिनापछि अर्थात २०७५ भदौबाट सिटिजन लाइफमा शाखा प्रमुख नै भएर काम गर्ने जिम्मेवारी पाएका थिए।
‘नयाँ जोश, नयाँ टिम, नयाँ भिजन र मिसन बोकेर बीमा क्षेत्रमा उदाएको कम्पनी सिटिजन लाइफमा काम गर्ने अवसर पाउनु मेरो भाग्य नै थियो’, धर्मदेवले भने, ‘हामीले काम गर्दा अवसरमात्रै हेर्ने होइन कम्पनीको प्रोमोटर टिम, बीमा बेच्दा बीमितलाई दिने अतिरिक्त सेवा–सुविधा, कम्पनीको बीमा योजना, व्यवस्थापन टिम, बोनसदरलगायतका यावत फ्याक्टर समयसापेक्ष भएको हिसाबले मलाई सिटिजन लाइफ मन पर्यो। त्यसपछि मैले अन्तर्वार्ता दिएँ र पास पनि भएर शाखा प्रमुखका लागि छनोट भएँ। अनि काम सुरु गरेँ। सुरुआती अवस्थामा धेरै चुनौती थियो। भर्खर बजारमा आएको कम्पनी, शाखा प्रमुखको जिम्मेवारी, अफिस व्यवस्थापन नयाँ योजना, नयाँ कर्मचारी, नयाँ अभिकर्ता बनाउनुपर्नेलगायतका विभिन्न चुनौती थिए। तर, त्यसमा मैले संघर्ष गरेर त्यस चुनौतीलाई पार गरेँ।’
बीमा क्षेत्रमा लाग्नुभन्दा अगाडि खेतीकिसानी गरेर सानातिना व्यापार–व्यवसाय गरेर पनि धर्मदेवले आफ्नो गुजारा चलाए। त्यसपछि धर्मदेवले सहकारी संस्थामा व्यवस्थापक भएर काम गरे।
सानैबाट आईटी क्षेत्र एकदमै रुचि राख्ने धर्मदेवलाई समयले बीमा क्षेत्रमा ल्याइपुर्यायो। आईटीमै करिअर बनाउँछु भन्ने सपना बोकेका धर्मदेवले आईटी क्षेत्रमा भविष्य बनाउन नपाए पनि आईटीसम्बन्धी कम्प्युटर कोर्स भने पूरा गरे।
बीमा क्षेत्रमा के कुराले आकर्षित गरायो भन्ने इन्स्योरेन्स खबरको प्रश्नमा धर्मदेवले भने, ‘जुन क्षेत्रमा काम गरे पनि आर्थिक आर्जन गर्न सकिन्छ। काम गरेबापतको पारिश्रमिक पाइन्छ। तर, बीमा क्षेत्र यस्तो क्षेत्र हो कि यसमा काम गरेपछि हामीलाई मात्रै फाइदा हुँदैन। हामीले जसको बीमा गरेका छौँ, उनीहरुको परिवारमा आपद विपद भएको खण्डमा राहात कम्पनीले दिन्छ। हो, कसैको जीवनमा जोखिमका लागि सचेतना दिनु सामाजिक काम हो। मेरो शाखामा ७०० अभिकर्ता हुनुहुन्छ। सक्रिय रहेका ४०० अभिकर्ताले रोजगारी पाएका छन्। आर्थिक रुपमा सबल बनेका छन्। अरुलाई बीमाको दायरामा ल्याउन दिन–रात नभनी समाजकै हितका लागि हिँडेका छन्। यो सामाजिक काम हो। अरुका लागि सेवाको भाव बोकेको पेसा भएकै कारण म आकर्षित भएँ।’
‘सुरुमा म बीमा क्षेत्रमा आउँदै गर्दा १० प्रतिशत मानिसमा पनि बीमा बुझाइ थिएन। त्यो समयमा नेटवर्किङ कम्पनीहरुले समाजमा आफ्नो छाप बनाएका थिए। पछि ती कम्पनीहरु मानिसहरुको पैसा लिएर भागे। त्यसपछि बीमा पनि त्यस्तै होला भन्ने आममानिसको मानसपटलमा रह्यो’, उनले भने, ‘बीमालाई नेटवर्किङ कम्पनीसँग तुलना गर्न लागे। बीमा बुझाउन गाह्रो भयो। पछि मानिसहरुले बीमा फरक रहेछ भन्ने बुझे। अहिले त बीमा नबुझ्ने मानिस नै छैनन् जस्तो लाग्छ। बीमा बुझेका छन्। तर, बीमा गराउन अहिले पनि गाह्रो नै छ।’
अहिले पछिल्लो समय बीमा सचेतनाले गर्दा बीमा बुझाइ फराकिलो भएको धर्मदेवले बताए। ‘हरेक कम्पनीले बीमा सचेतना गर्छन्। बीमा प्राधिकरणले नै विभिन्न स्थानीय तहमा गएर बीमा सचेतना गर्छ। यो बीमा क्षेत्रका लागि राम्रो कदम हो। सिटिजन लाइफले पनि धेरै सचेतनात्मक कार्यक्रम आयोजना गर्छ’, उनले सुनाए, ‘जस्तो– विद्यार्थीसँग बीमा, गुरु सम्मान कार्यक्रमलगायतका विभिन्न कार्यक्रममार्फत सचेतना दिने गरेको छ। हरेक स्कुल–कलेजमा गएर बीमा बुझाउने गरेको छ। जसको उद्देश्य एउटा विद्यार्थीले बीमा बुझेपछि सिंगो परिवारलाई बुझाउँछ।’
बीमा क्षेत्रमा काम गर्न धेरै चुनौती रहेको धर्मदेव बताउँछन्। ‘चुनौतीसँगै अवसर पनि छ। अहिले मेरो ब्रान्च सिटिजन लाइफको टप टेन शाखाभित्र रहेको छ। दिन–रात नभनी हाम्रो टिमले काम गरिरहेको छ’, उनले भने, ‘काम गरेअनुसार नतिजा पनि हासिल गरेका छौँ। यसमा हामी धेरै खुसी छौँ।’
आमसर्वसाधारणलाई बीमा बुझाउन सक्यो भने बीमा सबैले गर्ने धर्मदेवको विश्वास छ। ‘अभिकर्ता कम्पनीका प्रतिनिधि पात्र हुन्’, उनले भने, ‘उनीहरु बीमा शिक्षा, बीमा सचेतना लिएर जसरी सर्वसाधारणसामु प्रस्तुत हुन्छन्। आममानिसले त्यसैगरी बुझ्ने हुन्। राम्रो शिक्षा दिए राम्रैसँग बीमा बुझ्छन्। अभिकर्ता नै कम्पनीका मुख्य पात्र भएकाले अभिकर्तालाई पहिला शिक्षित बनाएर, राम्रो ज्ञान दिएरमात्रै बजारमा पठाउनुपर्छ।’
बीमा क्षेत्रमा जस्तोसुकै प्रवृत्तिका अभिकर्ता भित्रिए पनि अम्पनीले उनीहरुलाई बीमासम्बन्धी ज्ञान दिएर, बीमा बुझाएर दीर्घकालीन टिक्ने गरी अवसर सिर्जना गर्यो भने जस्तोसुकै अभिकर्ता पनि दीर्घकालीन हुने धर्मदेवको भनाइ छ। अभिकर्ता बीमा बजारमा दीर्घकालीन भयो भने बीमा बजार पनि राम्रो हुने उनको बुझाइ छ। कम्पनीले अभिकर्तालाई बीमा बजारमा टिक्ने, टिम वृद्धि गरेर सक्षम बनाएर सबैले आम्दानी गर्नेप्रति अभिकर्तालाई सचेत बनाएर बीमा बजार दीर्घकालीन बनाउनुपर्नेमा उनको जोड छ। नियम–कानुनभित्र बसेर अभिकर्तालाई काम गर्न धर्मदेवले सुझाए। अहिले बीमा ऐनमा अभिकर्तासम्बन्धी आएको नीतिले पनि अब बीमा बजार सुदृढ हुने उनको विश्वास छ।
बीमा क्षेत्रमा नयाँ कर्मचारी भित्र्याउने प्रवृत्तिभन्दा पनि पुराना कर्मचारीलाई प्रोत्साहन गर्नुपर्ने पनि धर्मदेवको भनाइ छ। ‘बीमा क्षेत्र भनेको वित्तीय कारोबार गर्ने मार्केटिङ क्षेत्र भएकाले कामप्रति इमान्दारिता, लगनशी र असल छवि भएका व्यक्ति हुनु आवश्यक छ’, उनी भन्छन्।
धर्मदेवका अनुसार बीमा सबै स्तरको जीवनशैली भएका व्यक्तिलाई आवश्यक छ। ‘तर, सामान्य स्तरका जीवनशैली भएका मानिसलाई बीमा सबैभन्दा धेरै महत्वपूर्ण हुन्छ। किनकि सामान्य काम गरेर आफ्नो गुजारा चलाइरहेको व्यक्तिलाई भोलि केही भइहाल्यो भने उसको सहारा कोही पनि हुँदैन’, उनले भने, ‘त्यसकारण सामान्य आम्दानी भएका व्यक्तिहरुले आम्दानीको सानो रकम बचाएर समयमै बमिा गर्यो भने भोलि आपद–विपद पर्दा राहात दिन्छ। हो, यही सोचेर पनि बीमा सबैले गर्नुपर्छ।’
कसरी हुन्छ सबैलाई बीमाको दायरामा ल्याएर आफ्नो शाखालाई कसरी उत्कृष्ट बनाउने भन्नेमै धर्मदेव केन्द्रित हुन्छन्। कुनै शाखासँग अनहेल्दी कम्पिटिसन नगरी शाखालाई अगाडि बढाउने उनको भनाइ छ। दिएको लक्ष्य पूरा गर्ने, अभिकर्तालाई समयमा तालिम दिनेलगायतका इन्टरनल कुरालाई पनि उनले नियाल्ने गर्छन्। यस मिर्चैया शाखा कार्यलय सिटिजन लाइफबाट नेपाल टप लिर्डस पनि निकाल्न सफल भएको शाखा हो ।
‘हुन त आफूले काम गर्ने कम्पनी सबैलाई राम्रो नै लाग्छ’, धर्मदेवले भने, ‘सिटिजन लाइफमा चाहिँ ग्राहक र समयसापेक्ष प्रडक्ट छन्। त्यसकारण अन्य कम्पनीभन्दा सेवाको हिसाबमा उत्कृष्ट रहेको छ। अहिले सिटिजन लाइफ डिजिटलाइजेसनमा पनि अगाडि नै छ। बीमा गराएपछि हरेक बीमितलाई कम्पनीबाट कल जान्छ। सूचना प्रविधिले ग्राहक वा बीमितलाई सजिलो बनाएको छ।’
सिटिजन लाइफ पनि बीमितकै हितका लागि सधैँ अग्रसर रहनेसमेत धर्मदेवले प्रतिबद्धता जाहेर गरे।