काठमाडौं । जीवन बीमा व्यवसायको ठूलो बजार बागमती प्रदेश देखिएको छ। अन्य प्रदेशको तुलनामा बागमतीबाट जीवन बीमकले धेरै व्यवसाय भित्र्याएको देखिको हो।
नेपाल बीमा प्राधिकरणका अनुसार १४ वटा जीवन बीमा कम्पनी र ३ वटा लघु जीवन बीमा कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमास (साउन–असोज)सम्म ५८ अर्ब ७२ करोड ९३ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्। बीमकहरुले बागमती प्रदेशबाट मात्रै २६ अर्ब ८८ करोड ५३ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन्। यो कुल व्यवसायको ४५.७८ प्रतिशत हिस्सा हो।
यसैगरी दोस्रो धेरै व्यापार कम्पनीहरुले लुम्बिनी प्रदेशबाट भित्र्याएका छन्। यो प्रदेशबाट असोजसम्म कम्पनीहरुले ८ अर्ब ८४ करोड ११ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन्। यो कुल व्यापारको १५.०५ प्रतिशत हिस्सा रहेको छ।
तेस्रो धेरै व्यापार कोशी प्रदेशमा रहेको देखिन्छ। कम्पनीहरुले कोशीबाट ६ अर्ब ९२ करोड ४८ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन्। यो कुल व्यापारको ११.७९ प्रतिशत हिस्सा हो।
यसैगरी असोजसम्म कम्पनीहरुले गण्डकी प्रदेशबाट ५ अर्ब ८३ करोड १९ लाख रुपैयाँ, मधेश प्रदेशबाट ५ अर्ब १५ करोड ९७ लाख रुपैयाँ, सुदूरपश्चिम प्रदेशबाट ३ अर्ब ३५ करोड ८६ लाख रुपैयाँ र कर्णाली प्रदेशबाट १ अर्ब ७२ करोड ७६ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन्। कुल व्यापारमा गण्डकीको हिस्सा ९.९३ प्रतिशत, मधेश प्रदेशको ८.७९ प्रतिशत, सुदूरपश्चिमको ५.७२ प्रतिशत र कर्णालीको २.९४ प्रतिशत हिस्सा रहेको छ।











