काठमाडौं । ग्लोबल आइएमई बैंकमा ०.५% वा सोभन्दा बढी शेयर स्वामित्व ओगट्ने ठूला लगानीकर्ताको संख्या १८ पुगेको छ। बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष २०८२।८३ को वार्षिक वित्तीय विवरणअनुसार व्यक्तिगत, संस्थागत तथा सरकारी कोषहरूको लगानी संरचनामा बैंकको शेयर बाँडफाँट निकै सन्तुलित र स्थिर देखिएको छ।
बैंकको सबैभन्दा ठूलो एकल शेयरधनीका रूपमा कर्मचारी संचय कोष अग्रस्थानमा कायम छ। संचय कोषसँग बैंकको सर्वाधिक ४.७४ प्रतिशत अर्थात् १ करोड ८० लाख ८४ हजार १९ कित्ता शेयर स्वामित्व रहेको छ। यसैगरी आइएमई होल्डिङ्गसको २.७८ प्रतिशत (१ करोड ५ लाख ९० हजार ३३० कित्ता) तथा आइएमई इन्भेष्टमेन्टको २.५१ प्रतिशत (९५ लाख ५४ हजार १६० कित्ता) शेयर हिस्सा रहेको छ।
व्यक्तिगत लगानीकर्तातर्फ भने सुमित कुमार अग्रवाल १.८२ प्रतिशत (६९ लाख ४३ हजार ४७० कित्ता) र विष्णु प्रसाद न्यौपाने १.४१ प्रतिशत (५३ लाख ८३ हजार ५२१ कित्ता) स्वामित्वका साथ अगाडि छन्।













