काठमाडौं । नेपाल बीमा प्राधिकरणले इन्जिनियरिङ बीमासम्बन्धी निर्देशनको मस्यौदा तयार गरेको छ।
निर्माण आयोजना तथा पूर्वाधार विकाससँग सम्बन्धित बीमालाई थप व्यवस्थित, पारदर्शी तथा प्रभावकारी बनाउने, इन्जिनियरिङ बीमालेखमा एकरुपता काम गर्ने र बीमितको हित संरक्षण गर्ने उद्देश्यले यो निर्देशन ल्याउन लागिएको प्राधिकरणले स्पष्ट पारेको छ। यो निर्देशनको मस्यौदामा सरोकारावाला निकायहरुको रायसुझाव भएमा ७ दिनभित्र प्राधिकरणको बीमालेख शाखामा पेस गर्न प्राधिकरणले आग्रह गरेको छ।
यो निर्देशनअन्तर्गत इन्जिनियरिङ बीमा गर्नका लागि प्रस्तावकले प्रस्ताव फाराम निर्जीवन बीमकसमक्ष पेस गर्नुपर्नेछ। प्रस्ताव फाराम पूर्ण रुपमा भरेको वा नभरेको बीमकले यकिन गर्नुपर्नेछ। तोकिएको सीमाभन्दा बढी वा कम बीमांकका लागि बीमकले बीमा गरिने विषयवस्तुको स्थलगत निरीक्षण गरी वा गराई जोखिम मूल्यांकन प्रतिवेदन अनिवार्य रुपमा तयार गर्नुपर्ने प्रस्ताव मस्यौदामा गरिएको छ।
प्रस्तावकले बीमाको प्रस्ताव गर्दा सम्झौता कागजातमा रहेको बीमासम्बन्धी व्यवस्थासँग सम्बन्धित कागजात बीमकसमक्ष पेस गर्नुपर्ने व्यवस्था गरिएको छ।
बीमकले प्रस्ताव फाराम, जोखिम मूल्यांकन प्रतिवेदन तथा अन्य आवश्यक विवरणका आधारमा जोखिमांकन गरी बीमालेख जारी गर्नुपर्ने प्रस्ताव मस्यौदामा गरिएको छ। बीमकले बीमालेख जारी गरेपछि एक प्रति बीमितलाई दिनुपर्नेछ। बीमितले प्राप्त गरेको प्रमाण राख्नुपर्नेछ। बीमालेख जारी गर्दा आवश्यकताअनुसार अतिरिक्त जोखिम रक्षावरण, सर्त तथा बन्देजहरु समावेश गर्नुपर्नेछ।
यसैगरी मस्यौदामा बीमालेख अतिरिक्त जोखिम रक्षावरण, सर्त तथा बन्देजमा कुनै व्यवस्था थपघट गरी जारी गर्नुपर्ने भएमा बीमा प्राधिकरणमा स्वीकृतिका लागि पेस गर्नुपर्ने प्रस्ताव गरिएको छ। प्राधिकरणले उपयुक्त ठानेमा स्वीकृति प्रदान गर्नेछ।
बीमकले हुलदंगा तथा आतंकवाद जोखिम बीमितले रक्षावरण गर्ने तथा नगर्ने यकिन गरी बीमालेख जारी गर्नुपर्नेछ। हुलदंगा तथा आतंकवाद जोखिम बीमितले रक्षावरण गर्ने भएमा बीमकले सोबापत लाग्ने थप बीमाशुल्क लिई बीमालेख जारी गर्नुपर्नेछ।
परियोजनाअन्तर्गत ठेक्काको बीमाको हकमा जोखिमको रक्षावरण बीमक र बीमितको आपसी समझदारी अतिरिक्त बीमाशुल्क लिई सम्पुष्टि जारी गर्न सकिने व्यवस्था प्रस्ताव गरिएको छ।
बीमालेखको अवधि
- बीमा गरिने सम्पत्ति तथा परियोजनाको प्रकृतिअनुसार बीमालेखको अवधि एक वर्ष, एक वर्षभन्दा बढी वा कम हुन सक्नेछ।
- परियोजनाअन्तर्गतका ठेक्काको हकमा सम्बन्धित ठेक्काको अवधि र बीमालेखको अवधि बराबर हुने गरी बीमालेख जारी गर्नुपर्नेछ।
- एक वर्षभन्दा कम अवधि कायम गरी बीमा हुने सम्पत्ति वा परियोजनाअन्तर्गत ठेक्का हकमा छोटो अवधिको बीमालेख जारी गर्नुपर्नेछ।
- परियोजनाअन्तर्गतका ठेक्काको हकमा बीमालेख जारी मिति र जोखिम प्रारम्भ मिति फरक गरी बीमालेख जारी गर्न सकिनेछ।
- यसरी जारी हुने बीमालेखको हकमा जोखिम प्रारम्भ मिति सम्झौता कागजातमा उल्लेखित कार्य प्रारम्भ मिति कायम गर्नुपर्नेछ। रक्षावरण प्रारम्भ भएको मितिबाट परियोजनाअन्तर्गतको ठेक्काको अवधि र त्रुटि सच्चाउने अवधि थप गरी बीमा अवधि कायम गर्नुपर्नेछ।












