काठमाडौं । नेपालको बीमा कम्पनीहरूका लागि पहिलो पटक कार्यान्वयनमा ल्याउन लागिएको वित्तीय विवरण सम्बन्धी नयाँ मापदण्ड ‘एनएफआरएस १७’ बमोजिमको वित्तीय विवरणका कारण बीमकको आर्थिक वर्ष २०८२/८३ का लागि साधारण सभा नरोकिने भएको छ।
नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशिल देव सुवेदीले साविकको व्यवस्था अनुसारै बीमकले वित्तीय विवरण स्वीकृति गराएर साधारण सभाको प्रकृया अघि बढाउन सक्नेछन् । एनएफआरएस १७ को वित्तीय विवरणले बीमकको साधारण सभा नरोकिने बताउँदै उनले भने, ऐनको प्रावधान बमोजिम बीमकले साबिककै वित्तीय विवरण स्वीकृति गराएर साधारण सभाको काम अघि बढाउन सक्छन्। एनएफआरएस १७ बमोजिमको वित्तीय प्रतिवेदन भने चैत्र मसान्तभित्र पेश गर्नुपर्नेछ।
बीमकले केही वर्षयता बीमकको वित्तीय विवरण सम्बन्धी निर्देशन २०८० को प्रावधान बमोजिम वित्तीय विवरण तयार पार्दै आएका छन् । एनएफआरएस १७ कार्यान्वयन सम्बन्धी निर्देशिकामा बीमकहरूले २०८२ साउन १ गतेदेखि, बीमा कम्पनीहरूले नियामक निकायको स्वीकृतिका लागि दुई प्रकारका लेखापरीक्षण गरिएको वित्तीय विवरणहरू तयार गरी पेश गर्नुपर्ने व्यवस्था छ। यसमध्ये एउटा एनएफआरएस १७ मा आधारित ‘सामान्य प्रयोजन वित्तीय विवरण’ हुनेछ भने अर्को, प्राधिकरणद्वारा जारी ‘वित्तीय विवरण निर्देशिका, २०८०’ बमोजिमको ‘विशेष प्रयोजन वित्तीय विवरण’ हुनेछ।
बीमा ऐन २०७९ को दफा ८४ को प्रावधान बमोजिम बीमकले प्रत्येक आर्थिक वर्षको लेखापरिक्षण भएको वासलात र नाफा नोक्सानको विवरण तयार गरी अर्को आर्थिक वर्षको ६ महिनाभित्र तोकिएको ढाँचामा प्राधिकरणमा पेश गर्नुपर्ने प्रावधान छ। यो प्रावधान अनुसार, आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन बीमकले आउँदो पुस मसान्तभित्र प्राधिकरण समक्ष पेश गरिसक्नुपर्ने बाध्यता छ।
तर, यसपटक भने बीमकलाई पुस मसान्तभित्र गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतिसँगै साधारण सभा गराउनुपर्ने चटारो मात्र नभएर नेपाल फाइनान्सियल रिपोर्टिङ स्टाण्डर्ड अन इन्स्योरेन्स कन्ट्राक्ट्स (एनएफआरएस १७) बमोजिमको अर्को एउटा वित्तीय विवरण पनि तयार पार्नुपर्ने दबाब छ। नेपालमा पहिलो पटक बीमा कम्पनीहरूका लागि यो वित्तीय विवरण मापदण्ड कार्यान्वयनमा ल्याउन लागिएकाले सम्बन्धित विषयको दक्षता प्राप्त जनशक्ति, अनुभव र प्राविधिक जटिलता लगायतका कारणले बीमकहरूका लागि अवस्था असहज बनेको छ।
नेपाल बीमा प्राधिकरणले जारी गरेको एनएफआरएस १७ कार्यान्वयन सम्बन्धी निर्देशिका बमोजिम बीमा कम्पनीहरूले गत आवको चाैथाै त्रैमासिक प्रतिवेदन देखि नै एनएफआरएस १७ बमोजिमको वित्तीय विवरण तयार पारिसक्नुपर्थ्यो। यद्दपी अझैसम्म कुनै पनि बीमकको एनएफआरएस १७ बमोजिम वित्तीय विवरण सार्वजनिक भइसकेको छैन ।











