काठमाडौं । रितु खरेल पेसाले बीमा अभिकर्ता हुन्। बीमा क्षेत्रमा लागेको छोटो समयमै सफल अभिकर्ता भई नाम र दाम कमाउन सफल भएकी महिला हुन्। छोरी मान्छे आफ्नो खुट्टामा आफैँ उभिनुपर्छ भन्ने भाव बोकेकी व्यक्ति हुन्, रितु।
रितु सानैबाट मेहनती र हरेक कामप्रति लगनशील भएर लाग्ने गर्थिन्। त्यही सानैबाटको लगनशीलताले आज बीमा अभिकर्ता क्षेत्रमा पनि सफलता दिलाएको छ। रितु हाल सिटिजन लाइफको जितपुर शाखा कार्यालयमा एजेन्सी म्यानेजरको भूमिकामा रही काम गर्दै आइरहेकी छन्।
रितु सिटिजन लाइफको प्रतिनिधित्व गर्दै गाउँ–गाउँ, साथीभाइ अनि इष्टमित्रसमक्ष पुग्छिन्। उनी सबैबाट बीमा व्यवसाय ल्याउँछु भन्दा पनि बीमा सबैलाई बुझाउँछु भन्ने हेतुले जान्छिन्।
रितु अभिकर्ता पेसामा मात्रै सीमित भएकी व्यक्ति होइनन्। उनी बीमा अभिकर्ताका साथै विभिन्न सामाजिक संघ–संस्थामा समेत आबद्ध छिन्। उनी जेसिसकी उपाध्यक्षसमेत हुन्। उनलाई सामाजिक कामप्रतिको लगाव पनि अथाह छ। त्यही सामाजिक कामप्रतिको लगावले पनि उनलाई बीमा क्षेत्रमा काम गर्न प्रेरित गरेको बताउँछिन्। अभिकर्ता पेसामा आनुअघि रितुले एनजीओ र आईएनजीओलगायत विभिन्न क्षेत्रमा लामो अनुभव बटेलेकी छन्।
२०४८ सालमा कपिलवस्तुको जितपुरमा जन्मिएकी रितुको बाल्यकाल सुखमय नै बित्यो। बाल्यकालमा पढ्ने, खाने, खेल्ने गरेर दुःख नगरी हुर्किएको रितु बताउँछिन्। सानैबाट पढ्ने पारिवारिक माहोल राम्रो भएको उनले बताइन्। रितुले सोसोलोजीमा स्नाकोत्तरसम्मको अध्ययन पूरा गरेकी छन्।

अभिकर्ताको यात्रा
एनजीओमा काम गरिरहेको अवस्थामा रितुलाई आफ्नै बीमा गर्ने इच्छा जाग्यो। उनले बीमाबारे हल्का बुझेकी थिइन्। बीमा भविष्यको सहारा हो र बीमा गर्नु राम्रो हो भन्ने लागेर उनी बमिा गर्न सिटिजन लाइफको जीतपुर शाखा कार्यालयमा पुगेकी थिइन्। ‘त्यो समयमा सिटिजन लाइफको उक्त ब्रान्चमा अभिकर्ता प्रशिक्षण तथा क्षमता अभिवृद्धि तालिम सञ्चालन भइरहेको थियो’, रितुले भनिन्।
आफ्नो बीमा गर्न भनेर जाँदा त्यहाँका क्षेत्रीय प्रबन्धक लक्ष्मण मरासिनी सरले बीमा पनि गर्नुस् र अभिकर्ता पेसा बनेर काम गर्दा पनि राम्रो छ भन्ने सल्लाह रितुलाई दिए। अनि उनी तालिममा सहभागी पनि भइन्। ‘मलाई बीमा राम्रो हो भन्ने मात्रै थाहा थियो। तर, तालिममा सहभागी भएपछि अभिकर्ता बनेर काम गर्न धेरै राम्रो रहेछ भन्ने लाग्यो’, उनले भनिन्, ‘लक्ष्मण सरले पनि बीमा सामाजिक हितमा जोडिएको पेसा हो धेरै राम्रो छ भन्नु भयो र मलाई पनि काम गरौँ–गरौँ भन्ने भाव जाग्यो र मैले अभिकर्ता बनेर नै आफ्नो बमिा गर्ने निधो गर्दै २०७७ सालमा सिटिजन लाइफबाट लाइसेन्स लिएर काम गर्न थालेँ।’
अभिकर्ताको लाइसेन्स लिएपछि रितुले पहिलो बीमा आफ्नै गरिन्। त्यसपछि नजिकका साथीभाइ र इष्टमित्रलाई प्रस्ताव गरिन्। उनले अभिकर्ता बनेको छोटो समयमै राम्रो व्यापार गरेर एमडीआरटीको लक्ष्यसमेत हासिल गरिन्। रितुले थपिन्, ‘मलाई अभिकर्ता पेसामा भाग्यले साथ दिएको जस्तो लाग्छ। छोटो समयमै राम्रो काम गरेँ। अहिलेसम्म पनि मैले राम्रो बीमा व्यवसाय भित्राइरहेकी छु। मलाई भाग्यले यस क्षेत्रमा साथ दिएको छ। यसमा म धेरै खुसी छु। अभिकर्ता पेसाप्रति धेरै सन्तुष्ट छु।’

तपाइँलाई अभिकर्ता पेसा नै मन पर्नुको कारण के हो भन्ने जिज्ञासा राख्दा रितुले भनिन्, ‘अभिकर्ता पेसा भनेको स्वतन्त्र गर्न सकिने पेसा हो। यस पेसामा न कुनै समय सीमा तोकिएको हुन्छ न कुनै घेराबन्दी, आफ्नो समय मिल्दा फुर्सद हुँदा जति बेला जसलाई प्रस्ताव राखेर गर्न पनि सकियो। आफ्नो घरपरिवार र साथीभाइ सबैलाई समय दिएर स्वतन्त्र हिसाबमा काम गर्न पाइने भएकाले मलाई यो पेसा अरु कामभन्दा उत्कृष्ट लाग्यो।’
अरुले अभिकर्ता पेसा त दलाली पेसा भने पनि आफूलाई केही फरक नपर्ने रितु बताउँछिन्। ‘वास्तविक बीमा बुझेका व्यक्तिहरुले अभिकर्ता पेसालाई बुझेका छन् र बीमा नबुझेर दलाली पेसा भन्नेलाई पनि बीमा बुझाउनु नै हाम्रो धर्म हो’, उनले भनिन्, ‘हरेक जागिर गरेवापत तलब आउँछ हो अभिकर्ता पेसामा पनि काम गरेबापत कम्पनीले छुटाएको पैसा हामीलाई आउँछ। त्यसमा अभिकर्तालाई मात्रै दलालीको संज्ञा दिनु राम्रो होइन।’
रितुको विचारमा अभिकर्ता पेसा भनेको विश्वासको पेसा हो। ‘बीमा क्षेत्र भनेको नै विश्वासको बजार हो। यहाँ अविश्वास र देखावटी चल्दैन अनि टिक्दैन पनि। अभिकर्ता पेसा विश्वासको पेसा भएकाले अभिकर्ताहरुले बीमा सम्बन्धी भ्रामक सूचना नफैलाएर कम्पनीको सत्यतथ्य कुरा बजारमा बिकाएर बीमा गराउनु नै बीमा बजारका लागि दीर्घकालीन व्यवसाय हो’, उनले भनिन्, ‘अभिकर्ता बजारमा जाँदा कम्पनीको बारेमा सही सूचना लिएर बीमा बुझाउनुपर्छ र ग्राहकको क्षमता तथा आम्दानीका आधारमा बीमा गराउनुपर्छ।’
अभिकर्ता पेसामा लागेपछि आफूमा धेरै परिवर्तन आएको रितुको भनाइ छ। ‘अन्य संस्थामा काम गर्दा सीमित मानिसहरुले चिन्थे भने अभिकर्ता भएपछि हरेक तह र तप्काका मानिसहरुलाई चिन्ने मौका पाएँ’, उनले भनिन्, ‘समाजको परिवेशमा भिज्ने मौका पाएँ। आर्थिक रुपमा झन बलियो भएँ। पैसा कमाउनुभन्दा पनि मान, सम्मान र इज्जत पाएँ यसमा नै मलाई गर्व छ।’
रितुको विचारमा प्रतिस्पर्धी बीमा बजारमा सफल अभिकर्ता बन्न विश्वास बेच्न सक्नुपर्छ। ‘ग्राहकले विश्वासकै आधारमा बीमा गर्छन्। अझै पनि बीमा बुझेरभन्दा पनि तपाइँको विश्वास लागेर गरेको भन्ने मानिसहरु धेरै छन्’, उनी भन्छिन्, ‘त्यसकारण सोझा ग्राहकलाई बीमामा सत्यतथ्य कुराहरु बुझाएर बीमा बेचियो भने सफल भइन्छ।’

आफूले पाएको सफलतामा सिटिजन लाइफकै देन रहेको सम्झिँदै रितु भन्छिन्, ‘कम्पनीका टिमले गरेको साथ सहयोगले गर्दा आज हामीले पनि सफलता पाएका छौँ। अनि कम्पनीले पनि एउटा उचाई पाएको छ र ग्राहकहरुले पनि भविष्य सुनिश्चत बनाएका छन्। बीमा क्षेत्रमा प्रवेश गरेपछि म्रैले धेरै सफलता पाएकी छु। यसमा म धेरै खुसी र सन्तुष्ट छु।’
कम्पनीले दिने हरेक लक्ष्य पूरा गर्ने गरेको रितु बताउँछिन्। रितु एमडीआरटीसमेत बन्न सफल भइसकेकी छन्। अब २०२६ का लागि पनि एमडीआरटीको लक्ष्यसहित काम गर्दै आएको उनले बताइन्। रितुले लगातार गोल्डेन क्लबअन्तर्गतका अवार्डहरु हात पारेकी छन्। उनी सिटिजन लाइफबाट दीक्षितसमेत भइसकेकी छन्।


















