IME Life

दुई दशकदेखि बीमा शिक्षा फैलाउँदै पवित्रा, भन्छिन् अभिकर्ता विश्वासको पेसा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । जीवन बीमा क्षेत्रमा एक साहसी र सफल महिला अभिकर्ताका रुपमा चिरपरिचित छिन्, पवित्रा महत विष्ट। उनी पेसाले सिनियर एजेन्सी म्यानेजर हुन्। हाल ललितपुरमा बसोबास गर्दै आएकी पवित्राको जन्मघर भने काठमाडौंको पुरानो बानेश्वर हो। २०३१ सालमा जन्मिएकी पवित्राको बाल्यकाल भने हेडौँडामा बित्यो। उनले हेडौँडाबाटै आफ्नो इन्टरमिडियटसम्मको अध्ययन पूरा गरिन्। सहरमा जन्मिएर गाउँमा हुर्किएकी पवित्रा जहिले पनि आफूलाई व्यस्त नै राख्न रुचाउँछिन्। यसबीच उनले विभिन्न सामाजिक संघ–संस्थाका साथै अनेक क्षेत्रमा काम गरिन्।

सामान्य बाल्यकाल बिताएकी पवित्राले सानो उमेरमै आफ्नो बुवा गुमाउनुपर्यो। सानैमा बुवाका साथ गुमाएकी पवित्राले धेरै संघर्ष र चुनौतीलाई झेल्दै अगाडि बढ्पर्ने स्थिति थियो। ठूलो परिवारमा हुर्किएकी पवित्रा सानै उमेरबाट सामाजिक काममा रुचि राख्ने गर्थिन्। एलआइसी नेपालबाट आफ्नो करिअर सुरु गरेकी पवित्रा हाल सिटिजन लाइफको इमाडोल शाखामा सिनियर एजेन्सीको भूमिकामा रही काम गर्दै आइरहेकी छन्। पवित्राले नितान्त बीमा पोलिसी बेच्नुलाई भन्दा पनि बीमा शिक्षा, बीमा सचेतना, बीमा जागरणजस्ता कार्यक्रमलाई अगाडि बढाएर टिमलाई फोकस गरी काम गर्ने गरेकी छन्।

SKYWELL
Crest

टिचिङ पेसालाई आफ्नो दैनिकी बनाएकी पवित्रा २०६१ सालबाट बीमा क्षेत्रमा प्रवेश गरेकी थिइन्। समयसीमा नहुने, टिचिङमा भन्दा आम्दानीको हिसाबले सबल, बीमा सचेतना दिन सकिने, सामाजिक क्षेत्रसँग जोडिएको, सेवा गर्न सकिने पेसा नै अभिकर्ता पेसा भएको हुनाले पवित्रलाई यो पेसाले तान्यो। टिचिङ गरिरहेकी पवित्राको दाइ लक्ष्मण महत इन्स्योरेन्स क्षेत्रमा थिए। उनका दाइले ‘बीमा क्षेत्र राम्रो छ’ भने। टिचिङमा भन्दा राम्रो कमाइ, समयसीमा नहुने, आफ्नो फुर्सदमा गर्न सकिने, सामाजिक कर्ममा जोडिएको पेसा हो भनेर बहिनीलाई प्रेरित गरेकाले पवित्रा इन्स्योरेन्स क्षेत्रमा प्रवेश गर्ने निधो गरिन्। अन्ततः पवित्राले २०६१ सालमा एलआइसी नेपालबाट आफ्नो इन्स्योरेन्समा करिअर सुरु गरिन्। ‘एलआइसी नेपालमा प्रवेश गर्दा हाल सिटिजन लाइफका चिफ मार्केटिङ अफिसर भूषण रिमाल सर एलआइसीका ब्रान्च म्यानेजर हुनुहन्थ्यो। भूषण सरले बीमा अभिकर्तालाई तालिम दिनुहुन्थ्यो’, उनले भनिन्, ‘भूषण सर र मेरो दाइको प्रेरणाले म बीमा क्षेत्रमा जम्न सफल भएकी हुँ।’

एलआइसी नेपालबाट इन्स्योरेन्समा होमिएकी पवित्रा अहिले बीमा क्षेत्रमा जमेकी छन्। एलआइसी नेपालमा १४ वर्ष काम गरेर पवित्राले सिटिजन लाइफमा काम गरेको पनि ३ वर्ष भइसकेको छ। एलआइसी नेपालबाटै करिअर सुरु गरेकी पवित्रा लामो समय बिताएको कम्पनी छोडेर सिटिजन लाइफमा आउनुको पछाडि पनि विभिन्न कारण रहेछन्। ‘एलआइसी नेपाल पनि नराम्रो कम्पनी त भनेको होइन तर हरेक कम्पनीको आफ्नो पोलिसी, म्यानेजमेन्ट टिम, व्यवस्थापन र पोलिसीमा घातक रोग सुविधा हुन्छ। यी विविध कुरालाई हेर्दा मैले सिटिजन लाइफमा राम्रो पाएँ’, उनले भनिन्, ‘बीमितहरुले जुन पोलिसी रुचानुहुन्छ, मैले त्यो पोलिसी सिटिजन लाइफबाट पाएको हुनाले मैले सिटिजन लाइफमा मुभ हुने सोच बनाएँ। बीमित भनुँ वा ग्राहक हाम्रा लागि भगवान हुन्। उनीहरुको विश्वासलाई हामीले जित्नुपर्छ। बीमितको भलाइमा हामी अभिकर्ता समर्पित हुने भएकाले बीमितमैत्री पोलिसी सिटिजन लाइफमा भएको हुँदा मैले कम्पनी चेन्ज गरेकी हुँ।’

स्कुल र घरमा मात्रै सीमित रहेकी पवित्रा अभिकर्ता पेसामा जोडिएपछि जीवनशैलीमा धेरै परिवर्तन पाएको बताउँछिन्। अभिकर्ता पेसामा लागेपछि पवित्राको जीवशैलीमात्रै फेरिएन विचार र सोचाइसमेत फेरियो। अभिकर्ता बनेपछि पवित्रा आफैँले आफ्नो जीवन नै परिवर्तन भएको अनुभव सुनाउँछिन्। ‘यो पेसामा प्रवेश गरेपछि कसरी बोल्ने, कसरी हिँड्नेलगायतका धेरै कुरामा परिवर्तन भएको महसुस गरेकी छु’, उनले आफ्नो अनुभव सुनाइन्, ‘यो पेसामा लागेपछि हरेक तह र तप्काका मान्छेसँग भेट हुने हुँदा समाजको अध्ययन गर्ने अवसर पनि पाएँ।’
‘मैले बीमा बेच्नुलाई भन्दा पनि बेरोजगार महिला, जसले रोजगार पाएका छैनन्, जसले जागिर गर्न समय दिन सकेका छैनन्, उनीहरुलाई लक्षित गरी अभिकर्ता बन्न प्रेरित गर्दै रोजगारको दायरामा समेट्न मद्दत गर्दै आएकी छु’, पवित्रा थप्छिन्, ‘जुन दिदी–बहिनी आफ्नो परिवार र बालबच्चा छोडेर विदेश गइरहेका हुन्छन्। हो, ती महिलालाई नेपालमा पनि अवसर छ। परिवारलाई समय दिएर अभिकर्ता पेसा गर्न सक्नुहुन्छ भनी प्रेरित गर्ने गरेकी छु।’

पढेलेखेका तर काम नपाएर चुलो–चौकामा मात्रै सीमित भएका महिलालाई घरबाहिर आएर पो पेसा अपनाउन सकिन्छ भनेर पवित्रा चेतना दिँदै हिँड्ने गर्छिन्। ‘म यस क्षेत्रमा आउनुको कारण नै बीमा गराउने, एजेन्सी बनेर रोजगारी बन्न प्रेरित गराउने र गरी खान सिकाउने हो’, उनले भनिन्।

महिलाका लागि यो पेसा धेरै नै उत्कृष्ट रहेको पवित्राको भनाइ छ। समयसीमा नहुने, थोरै समय दिए पनि पुग्ने भएकाले सबै महिलालाई घरमा बेरोजगार भएर नबसी यस पेसामा आएर २–३ घन्टा समय दिएर आफै सक्षम हुनसमेत पवित्राले आग्रह गरेकी छन्।

शिक्षण पेसामा ८ हजार तलब खाइरहेकी पवित्रा महिनामा १० हजार कमाउन पाए हुन्थ्यो भन्ने सोचेर इन्स्योरेन्स क्षेत्रमा प्रवेश गरेकी थिइन्। तर, इन्स्योरेन्स क्षेत्रबाट पवित्राले नसोचेको मनग्य आम्दानी गर्न सफल भइन्। ‘अभिकर्ता पेसामा मान–सम्मानका साथै आम्दानी पनि हुन्छ’, पवित्राले थपिन्, ‘अभिकर्ता एउटा यस्तो विश्वासको पेसा हो, जहाँ अभिकर्ता विश्वासिलो भएर बीमा बजारमा मेहनत गर्न सक्यो भने सोचेभन्दा राम्रो आम्दानी गर्न सकिन्छ। पैसा कमाउनका लागि विदेश जानुपर्दैन। मेले यो पेसाबाट गाडी किनेकी छु। हरेक काम गर्न सजिलो छैन तर काम गर्दा रमाएर, विश्वासिलो भएर संघर्ष गर्यो भने पक्कै पनि सफलता मिल्दो रहेछ।’

अभिकर्ता पेसामा प्रवेश गर्दा यो पेसा माग्नेको जस्तो पेसा रहेछ भन्ने पवित्रलाई लागेको थियो। तर, गर्दै जाँदा काम गर्न सहज हुनै गएको अनुभव सुनाउँदै पवित्राले भनिन्, ‘बीमा गराउन जाँदा धेरै नमिठा अनुभव पनि छन् तर आफूले बीमा बुझाएर गराउन सक्यो भने बीमितको सुरक्षाका लागि राम्रो हो। हामी त कम्पनीका प्रतिनिधि पात्र हौँ। काम गरेबापत जुनसुकै पेसामा पनि पारिश्रमिक त पाइन्छ नि तर अभिकर्तालाई मात्रै नराम्रो पेसाका रुपमा लिने मान्छेहरु पनि छन्। यद्यपि, बीमा बुझेका मान्छेहरुले फेरि राम्रो पनि भन्नुहुन्छ। धेरै अपमान सहेर पनि आफ्नो संघर्षबाट कहिले पनि ब्याक भइनँ। यो नै मेरो सफलता हो। बीमा गराउन जाँदा ग्राहकबाट नो भन्ने शब्द आयो भने म कहिले पनि निराश भएर फर्किनँ किनकि नो भन्दा नेक्स्ट अपरच्युनिटी हो भन्दै अगाडि बढिरहेँ।’

सुरु–सुरुमा यो पेसामा भिज्न असहज भए पनि गर्दै जाँदा धेरै रमाइलो लागेको पवित्राले सुनाइन्। अभिकर्ता पेसामा प्रवेश गरेपछि आफ्नो जीवनशैलीमा नै परिवर्तन पाएकी पवित्रा यो पेसामा प्रति सन्तुष्ट रहेको बताउँछिन्। सन्तुष्ट नहुन पनि कसरी ? यही पेसाले उनलाई समाजमा हेर्ने दृष्टिकोण फेरिएको छ। त्यतिमात्रै होइन आर्थिक रुपमा सक्षम हुन पुगेकी छन्। ‘अभिकर्ता सामाजिक र पवित्र पेसा हो’, उनी भन्छिन्, ‘अभिकर्ताले कसैको सुरक्षाका लागि काम गर्छ। त्यसैले पनि अभिकर्ता पेसा सामाजिक हितमा रहेको पेसा भएका कारण पनि म यो पेसाप्रति धेरै खुसी छु।’

अभिकर्तामा हुनुपर्ने गुण
एउटा सफल बीमा अभिकर्तामा विभिन्न खालका गुण हुनुपर्ने तर्क पवित्राको छ। अभिकर्ता आफ्नो पेसाप्रति लगनशील भएर लाग्नुपर्ने उनको अनुभव छ। निरन्तर रुपमा लागिपर्ने जोकोही पनि अभिकर्ता पेसामा सफल हुन सक्ने पवित्रा बताउँछिन्। एउटा इन्स्योरेन्स गराउन धेरै पटकसम्म पनि लागिपर्नुपर्ने भन्दै पवित्राले अभिकर्तामा धैर्यता हुनुपर्ने बताइन्। मेहनती, इमान्दार, सहनशीलता, कम्पनीका बारेमा ज्ञान, बीमा पोलिसीका बारेमा ज्ञान र बीमा बुझाउन सक्ने खुबी बीमा अभिकर्तामा हुनुपर्ने गुण रहेको पवित्राको धारणा छ।

अभिकर्ता पेसाका राम्रा पक्ष
जुनसुकै पेसामा पनि राम्रा पक्षका साथै नराम्रा पक्ष पनि हुन्छन्। अभिकर्ता पेसामा पनि राम्रा पक्षका साथमा नराम्रा पक्ष हुने पवित्राको तर्क छ। ‘फाइनान्सियल एकदमै राम्रोसँग ग्रोथ हुनु, समाजमा साथै विश्वमा नै राम्रो परिचय बन्छ, निरन्तर रुपमा लागिपरेर काम गर्ने अभिकर्ताले जे कुरालाई पनि फराकिलो रुपले अध्ययन गर्न सक्षम हुनु, समाजलाई राम्रोसँग बुझन पाउनुलगायत अभिकर्ता पेसाका राम्रा पक्ष हुन्’, उनले भनिन्।

बीमा शब्द धेरैले सुनको तर सबैले बीमा शब्दलाई नबुझेको पवित्राको अनुभव छ। बीमालाई राम्रोसँग बुझाएरमात्रै बीमा गराउन पवित्राले आग्रह गरिन्। बीमितलाई बीमा प्रस्ताव लिएर जाँदा उसको पारिवारिक अवस्था बुझेर जानुपर्ने उनको भोगाइ छ। बीमा प्रस्ताव लिएर जाँदा उसको आर्थिक अवस्था, आम्दानीको अवस्था, परिवारमा पहिले नै बीमा भएको छ वा छैन साथै आर्थिक स्रोत के छ हेरेरमात्रै आफूले बीमाको प्रस्ताव अघि बढाउनुपर्ने उनको भनाइ छ।

नवप्रवेशी अभिकर्तालाई पवित्राको सुझाव
बीमा अभिकर्ता भएर प्रवेश गर्न चाहने नवप्रवेशीलाई लक्षित गर्दै पवित्राले निरन्तर रुपमा लागिपरेर काम गर्दा आम्दानीको हिसाबले उत्कृष्ट रहेको बताइन्। ‘बीमा संसारभरि नै अवलम्बन गरिएको पेसा भएकाले आफ्नो कर्तव्य निर्वाह गरेको खण्डमा मान–सम्मान इज्जत र आम्दानी गर्न सकिने पेसा हो’, उनले भनिन्, ‘समयभन्दा अगाडि नै परिपक्क बनाउने पेसा बीमा अभिकर्ता पेसा हो। आर्थिक रुपमा सबल हुने पेसा हो। थोरै समय दिए पनि हुने, आफ्नो पढाइ, घरपरिवारलाई समय दिएर फुर्सदमा गर्न सकिने पेसा भएकाले धेरै राम्रो पेसा रहेको छ।’
दीर्घकालीन पेसा बनाएर इन्स्योरेन्स क्षेत्रमा प्रवेश गर्दा घर–गाडी जोड्न विदेश जानु नपर्ने भन्दै पवित्राले सबैलाई अभिकर्ता बनेर स्वरोजगार बन्नसमेत सुझाएकी छन्।

सिटिजन लाइफ परिवारप्रति आभार व्यक्त गर्दै पवित्राले यस कम्पनीको व्यवस्थापन टिम, कर्मचारी, उच्च व्यवस्थापन सबैको साथ सपोर्ट र हौसलाले आफू अगाडि बढ्न प्रेरित भएको बताइन्। उनले बीमा रत्न, बीमा श्री, चियर मेन क्लबलगायत कम्पनीले दिने हरेक टार्गेट मिट गर्ने गरेको बताइन्। पवित्रा अभिकर्ता पेसामा सफल हुनुको श्रेय उनको परिवार (श्रीमान, सासु र ससुुरा) को साथ अनी अग्रजहरुको सहयोग रहेको बताइन् । एउटा बुहारीलाई स्वतन्त्र भएर काम गर्न दिने मेरा परिवारले गर्दा आज मैले सफलता पाएँ, ‘अझ मूख्य त मेरो सफलताको पछाडी सासु आमाको ठुलो सहयोग छ ।’

बीमाको महत्व धेरै
‘बीमा आर्थिक सुरक्षा हो, आजको स–सानो बचतले भोलिको ठूलो आर्थिक जोखिम बहन हुन्छ । बीमा भनेको अनिवार्य बचत हो, अरु बचतलाई आवश्यक पर्न साथ चलाइन्छ तर बीमाको बचतलाई चलाइँदैन र अन्तिममा एकमुष्ट रकम प्राप्त हुन्छ । बीमा सुरक्षा पनि हो, कुनै एक व्यक्ति आज बिहानदेखि बेलुकीसम्म खटेर आफ्नो परिवारका लागि काम गरिरहेको हुन्छ । यदि केही गरी उसको परिवारमा त्यो व्यक्ति नै रहेन भने आर्थिक रुपमा परेको भारलाई चाहिँ बीमाले मद्दत गर्दछ ।

‘अहिलेको समयमा बीमा अपरिहार्य छ । आज समाजमा कोही–कसैले पनि सहयोग गर्छ भन्ने छैन’, पवित्राले भनिन्, ‘त्यसैले कुनै एउटा बीमा पोलिसी खरिद गरी राख्यो भने भविष्यमा पर्न सक्ने आर्थिक भारलाई केही हदसम्म बीमाले मद्दत गर्नेछ।’

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS