IME Life New

नेको इन्सुरेन्सद्वारा रेडक्रस वाणगंगालाई एम्बुलेन्स सौजन्य, प्रक्रिया सहज बनाइदिएमा सबै प्रदेशमा बाँड्ने प्रतिबद्धता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेको इन्सुरेन्सले वार्षिकोत्सवका अवसरमा लुम्बिनी प्रदेशअन्तर्गत कपिलवस्तुस्थित नेपाल रेडक्रस सोसाइटीको वाणगंगा उपशाखालाई एम्बुलेन्स प्रदान गरेको छ।

कम्पनीले हालै आफ्नो २९ औँ वार्षिकोत्सव सम्पन्न गरेको थियो। वार्षिकोत्सवका अवसरमा सामाजिक उत्तदायित्व कार्यक्रमअन्तर्गत रेडक्रसलाई एम्बुलेन्स सौजन्यस्वरुप प्रदान गरेको हो। आज कम्पनीको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले रेडक्रस वाणगंगा उपशाखाका सभापति शंकर पाण्डेलाई एम्बुलेन्सको साँचो हस्तान्तरण गरेका छन्।

Esewa
Crest

उक्त अवसरमा लुम्बिनी प्रदेशसभाका सांसद विष्णु पन्थी, बीमा प्राधिकरणका निर्देशक सुशीलदेव सुवेदी, कम्पनीका अध्यक्ष रमेशकुमार निरौला, प्रमुख कार्यकारी अधिकृत अशोककुमार खड्काको समेत उपस्थिति थियो।

नेको इन्सुरेन्सले ३ वर्षअगाडि नै ७ वटै प्रदेशमा एक–एकवटा एम्बुलेन्स प्रदान गर्ने निर्णय गरेको थियो। तर, एम्बुलेन्स लिन धेरै प्रक्रिया पूरा गर्नुपर्ने, भन्सार छुटका लागि ३ वटा मन्त्रालयसँग सम्झौता गर्नुपर्नेजस्ता प्रक्रिया पूरा गर्नुपर्ने भएकोले लुम्बिनीबाहेक अन्य प्रदेशमा एम्बुलेन्स वितरण गर्न नसकिएको कार्यक्रममा जानकारी दिइएको छ।

नेको इन्सुरेन्सका अध्यक्ष निरौलाले सातवटै प्रदेशलाई एम्बुलेन्स दिने नेको इन्स्योरेन्सको चाहना प्रक्रियागत असहजताका कारण पूरा नभएकोमा दुःख व्यक्त गरे। ‘एउटा एम्बुलेन्सको कर छुटका लागि हाम्रो कानुनी कठिनाइहरु निकै रहेछन्’, उनले भने, ‘लुम्बिनी प्रदेशमा एउटा एम्बुलेन्स ल्याउन सांसदज्यूलाई ३ वर्ष लाग्यो। त्यसैले यस्ता झन्झटिला प्रक्रियाबारे संसदमै सांसदहरुबाट उठोस् भन्ने हामी सल्लाह छ।’
नेको इन्सुरेन्सले प्रदान गरेको एम्बुलेन्सबाट वाणगंगा नगरपालिकाका सबै स्थानीयलाई छिटोछरितो ढंगले औषधोपचार सेवा पाउन सहजता हुन्छ भन्ने विश्वास रहेको अध्यक्ष निरौलाले बताए। ‘कम्पनी बाँकी ६ प्रदेशमा पनि दिने तयार छ’, उनले भने, ‘कुनै पनि प्रदेशबाट माग भएको र लिन सकेको खण्डमा हामी एम्बुलेन्स बाँड्छौँ।’

प्रदेश सांसद पन्थीले लामो समयको प्रयासपछि आफ्नो प्रदेशमा एम्बुलेन्स भित्र्याउन पाएकोमा खुसी व्यक्त गरे। नेको इन्सुरेन्सबाट प्राप्त एम्बुलेन्स सेवामा सबै स्थानीयको पहुँच पुर्याउने उनले प्रतिबद्धता व्यक्त गरे। ‘यसमा कुनै पक्षपात हुँदैन’, उनले भने, ‘किनकि हामीले दाताबाट प्राप्त चिजको सही सदुपयोग गर्यौँ भनेमात्र दाता खुसी हुन्छ र फेरि पनि दाताको मन हामीप्रति आकर्षित छ।’

बीमा प्राधिकरणका अध्यक्ष सिलवालले कम्पनीले समाजप्रतिको उत्तरदायित्व पूरा गर्दै वाणगंगाको रेडक्रस सोसाइटीलाई एम्बुलेन्स प्रदान गरेकोमा नेको इन्सुरेन्सप्रति आभार प्रकट गरे। ‘सीएसआरका लागि छुट्याइएको १ प्रतिशत रकम कम्पनीले जनताको हित हुने हरेक क्षेत्रमा खर्च गर्न सकिन्छ’, उनले भने, ‘त्यसैले एम्बुलेन्स दिन अप्ठ्यारो भएको अवस्थामा अरु ठाउँका अस्पताल, स्वास्थ्यचौकीलगायतका संस्थामा मेसिनरी सामान वा मेडिकल इक्युपमेन्टका लागि पनि सहयोग गर्न सकिन्छ।’

प्राधिकरणले नै सातवटा एम्बुलेन्स बाँड्न स्वीकृत दिएको अध्यक्ष सिलवालले स्मरण गरे। ‘तर, एम्बुलेन्स वितरणको प्रक्रियागत जटिलका विषयमा मलाई थाहा छैन’, उनले भने, ‘सरकार पनि कन्जर्भेटिभ भएको हो कि जस्तो लाग्छ, त्यसैले ती प्रक्रिया सहज बनाइदिनुपर्छ।’

सीएसआरको पैसा कम्पनीले राखिराख्न नमिल्ने सिलवालले बताए। ‘त्यो पैसा जनता लाभमा खर्च गर्नु पर्छ’, उनले भने, ‘त्यसले कम्पनीको साख बढ्छ।’

देशको बीमा बजारमा विगत २९ वर्षदेखि सेवा प्रदान गर्दै आएको नेको इन्सुरेन्सले व्यवसायका साथसाथै समाज सेवाका लागि विभिन्न सामाजिक उत्तरदायित्वसम्बन्धी कार्यक्रमहरु पनि गर्दै आएको छ। विगतका वर्षहरुदेखि नै आफ्नो सेवा प्रवाहका क्षेत्रमा निरन्तर वृद्धि गर्दै बीमाशुल्क, दाबी भुक्तानी, रोजगारीका अवसर, सरकारलाई कर भुक्तानीलगायतका सूचकांकहरुमा कम्पनीले उल्लेख्य वृद्धि गर्दै आएको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS