IME Life New

जुत्ता व्यवसायसँगै बीमामा सफलताको उचाइ चढ्दै सूर्य, अवार्ड पाउँदा थामिएन आँसु

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । छोटो समयमै बीमा बजारमा अथाह मेहनत र संघर्ष गरेर आफ्नो परिचय बनाउन सफल व्यक्ति हुन्, सूर्यबहादुर नेपाली। साँच्चै उनी आफ्नो पेसाप्रति इमान्दार र मेहनती छन्। त्यही मेहनतको उपज नै सफलता बनेको छ। केवल बीमा पोलिसी बेच्नका लागि सूर्य बिहानबाट बेलुकासम्म बीमा बजारमा लड्भीड गर्छन्। हाल उनी सिटिजन लाइफको भरतपु शाखामा एजेन्सी म्यानेजरको भूमिकामा छन्। बीमा पोलिसी बेच्नभन्दा पनि बीमा बुझाइ सबैमाझ पुगोस् भन्ने सूर्यको सिद्धान्त छ। बीमा बुझेपछि त बीमा गर्छन् भन्ने धारणा उनमा छ। ‘हाम्रो आजको समय भोलि फर्केर आउँदैन र मृत्यु शाश्वत सत्य हो। हामी यो संसारबाट कतिबेला बिदा हुनुपर्ने हो, त्यो थाहा पनि हुँदैन’, सूर्यको धारणा छ, ‘त्यसैले जे गर्नुछ आजै गरौँ र परिवारको खुसी र समृद्धिका लागि जीवन बीमाको सबैले परिकल्पना गरौँ।’

Esewa
Crest

२०४३ सालमा गोर्खाको सिरानचोक गाउँपालिका–२ मा जन्मिएका सूर्यको बाल्यकाल दुःख, कष्ट र संघर्षसहित गरिब परिवारमा बित्यो। ‘बुवा–आमा सामान्य खेती–किसानी गर्नुहुन्थ्यो’, सूर्यले विगत सम्झिँदै भने, ‘मेरो बाल्यकाल सुखद् रहेन। थोरै खेतीबारी थियो। खान लगाउन पनि धौधौ नै थियो। बुवा–आमाले अरुको काम गरेर हामीलाई हुर्काउनुभयो। दुःख गरेर पढाउनुभयो। हामीले पनि दुःख गरेर नै बढ्यौँ। सानैबाट दुःख मेहनत र संघर्षलाई झेलियो। त्यही भएर पनि मैले केही गर्नुपर्छ परिवारका लागि भन्ने सोच सानैबाट राखेर पनि होला आज सफल छु।’

सूर्यले २०५९ सालमा लमजुङबाट आफ्नो एसएलसीसम्मको अध्ययन पूरा गरे। त्यसपछि सूर्यले सुनौलो भविष्यको खोजिमा भरतपुरलाई रोजे। परिवारको दुःखलाग्दो क्षणलाई मनन गर्दै सूर्यले ‘अब म पनि केही गर्छु’ भनेर पढ्दै काम पनि गर्ने सोच बनाए। भरतपुरमा जागिर खोज्ने क्रममा सूर्यले पत्रिका बेच्ने काम पाए। केही नहुनुभन्दा त्यो काम नै उनका लागि उत्कृष्ट भयो। अनि प्लस टु पढ्दै भरतपुरमा सूर्य पत्रिका बेच्न थाले।

प्लस टुको अध्ययन सकेपछि स्नातक तहमा पढ्न सुरु गर्दा सूर्यले एउटा जुत्ता शोरुममा काम पाए। त्यो समयमा सूर्यको जागिरबाट हुने आम्दानी पनि राम्रो थियो। उनी त्यस जुत्ता शोरुममा सेल्स म्यानेजर थिए। उनीले आफ्नो कमाइबाट परिवारको गुजारा खुसीका साथ धानिरहेका थिए।

समय बित्दै गयो। सूर्य स्नातक तह तेस्रो वर्षमा हुँदा अचानक बुवाको दुर्घटना हुन पुग्यो। भनिन्छ नि दशा बाजा बजाएर आउँदैन। हो, सूर्यको जीवनका पनि त्यस्तै भयो। बुवाको दुर्घटनाबाट मृत्यु भएपछि उनको परिवारमा बज्रपात भयो। घरको एक दरिलो खम्बा नै ढलेपछि अब घर सम्हाल्ने जिम्मेवारी सूर्यको काँधमा आयो। त्यसपछि उनले पढाइलाई बिट मार्नुपर्यो। पढाइ अँधुरै रह्यो।

एकातिर बुवा नहुनुको पीडा अनि अर्कोतिर एक्लो मान्छेको कमाइले परिवार चलाउन असहजता। आर्थिक गर्जो टार्न हम्मेहम्मे पर्न थाल्यो। उनीसँग जुत्ता शोरुममा काम गरेको अनुभव थियो। त्यही अनुभवका आधारमा आफ्नै शोरुम खोल्ने निधोमा सूर्य पुगे। जुता शोरुम खोले। अहिले भरतपुर र पोखरामा उनको जुत्ता शोरुम छन्।

आफ्नै व्यवसायमा ध्यानमग्न रहेका सूर्यलाई पुराना साथी प्रेमबहादुर आछामी र ब्रान्च म्यानेजर गोकर्ण कार्कीले ‘तपाइँ त व्यावसायिक मान्छे। जीवन बीमा क्षेत्रमा आउनुस्। राम्रो गर्न सक्नुहुन्छ। बीमा क्षेत्र धेरै राम्रो छ। अरुको जीवनको सुरक्षा गर्नु आफैँमा राम्रो काम हो। भलाइको काम पनि हो’ भनेर बीमासम्बन्धी जानकारी सूर्यलाई दिए।  दुवैजनाले बीमा भनेको के हो ? बीमा गर्ने कामलगायतका विभिन्न बीमासम्बन्धी ज्ञान दिएपछि सूर्यले पनि ‘हुन्छ’ भनिदिए। ‘गरुँ न त। नजिकका साथीहरुले गरिरहेको काम, मलाई पनि गर्न सल्लाह दिएकोले राम्रो होला भन्ने भएर हुन्छ भनेर स्वीकार गरेँ’, सूर्यले भने।

त्यसपछि सूर्यले २०७९ सालमा सिटिजन लाइफको भरतपुर शाखाबाट लाइसेन्स लिएर काम गर्न थाले। सुरुको बीमा आफ्नै छोरीको गराए। त्यसपछिका दिनमा सूर्यले राम्रो व्यापार गर्न थाले। अहिले उनी आफ्ना साथीभाइ अनि इष्टमित्र सबैलाई बीमा बुझाएर बीमाको दायरामा ल्याउने कोसिस गरिरहेका छन्।

आफ्नो व्यवसायले पनि बीमा क्षेत्रमा आफूलाई सहज भएको सूर्यको अनुभव छ। उनी जुत्ता व्यवसायबाट चिनजान भएका साथीभाइलाई बीमाको दायरामा ल्याउने कोसिस गर्छन् भने बीमा क्षेत्रमा चिनजान भएका साथीभाइलाई आफ्नो व्यापारका बारेमा बताउँछन्। यस हिसाबले पनि आफूलाई दोहोरो फाइदा भएको सूर्यको भनाइ छ।

जुत्ता व्यापारमा मात्रै सीमित रहँदा आफूलाई केही कस्टमरले मात्रै चिन्ने गरेकोमा अहिले बीमा क्षेत्रमा जोडिएपछि हजारौँ मानिसले चिनेको सूर्यले बताए। खुसी हुँदै सूर्यले भने, ‘सिटिजन लाइफले मलाई धेरै सफलता दिलाएको छ। आज जुन अवस्थामा छु, सबै सिटिजन लाइफकै कारण छु।’

सिटिजन लाइफमा जोडिएपछि सूर्यमा धेरै परिवर्तन आएका छन्। मासमा बोल्न सक्ने भएका छन्। सबै तह र तप्काका मानिसलाई भेट्ने मौका पाए। शान, मान अनि दाम कमाउन सफल भएका छन्। आर्थिक पाटो सबल बनेको छ।

अभिकर्ता पेसामै जोडिएपछि सूर्यले आफ्नो व्यवसायलाई निरन्तरता दिँदै फुर्सदको समयमा बीमा गरेर आफू परिचित गराउन सफल भएका छन्। ‘म यो पेसाप्रति सन्तुष्ट छु। अभिकर्ता सामाजिक पेसा हो’, उनले भने, ‘बीमा अभिकर्ता पवित्र पेसा हो, अभिकर्ताले कसैको सुरक्षाका लागि काम गर्छ। त्यसैले यो पेसा सामाजिक पेसा पनि हो।’

बीमितलाई बीमा प्रस्ताव लिएर जाँदा सेवाग्राहीको पारिवारिक अवस्था बुझेर जानुपर्ने सूर्यको सुझाव छ। ‘सेवाग्राहीको आर्थिक अवस्था, आम्दानीको अवस्था, परिवारमा पहिले नै बीमा भएको छ छैन र आर्थिक स्रोत के छ हेरेरमात्रै मैले बीमाको प्रस्ताव अघि बढाउने गरेको छु’, उनी भन्छन्।

अभिकर्ता आफ्नो पेसाप्रति लगनशील भएर लाग्नुपर्ने सूर्यको भनाइ बुझाइ छ। ‘निरन्तर रुपमा लागिपर्ने जोकोही पनि यो पेसामा सफल हुन सक्छन्’, आफ्नो अनुभव साट्दै सूर्य भन्छन्, ‘मेहनती, इमान्दार, सहनशीलता, धैर्यता, बीमा बुझाउन सक्ने गुण मुख्य रुपमा बीमा अभिकर्तामा हुनुपर्छ।’

आफू हुँदै र आफूपछि पनि आर्थिक रुपमा आफ्नो सहभागिता जनाई राख्नु बीमा रहेको सूर्य बताउँछन्। ‘बीमा बचतको प्रमुख आधार हो। बीमा सबैका लागि महत्वपूर्ण छ। बीमालाई आधारभूत आवश्यकताजस्तै सबैले गर्नुपर्छ। बीमाले जोखिम बहन गर्छ। भविष्यका लागि सहयोग गर्छ’, सूर्य थप्छन्, ‘यतिमात्रै होइन बीमा भनेको हाम्रो घरको अभिभावक नै हो। त्यसकारण पनि सबैले बीमा गर्न जरुरी छ।’

सिटिजन लाइफले गर्दा नै आज यो स्थानमा पुगेको भन्दै सूर्यले सिटिजन लाइफ परिवारप्रति आभार व्यक्त गरे। ‘मेरो सफलताको सबै श्रेय नै सिटिजन लाइफ हो’, उनले भने, ‘कम्पनीले लक्ष्य पूरा गरेबापत दिइने अवार्डले मलाई रुवाएको छ। मेरो आँखाबाट खुसीका आँसु झरेका छन्। यो पेसाले मलाई पनि यतिसम्म सफलता दियो भनेर आँसु आएको थियो, मैले अवार्ड पाउँदा।’

‘सटिजन लाइफका उच्च व्यवस्थापनले अभिकर्ता, कर्मचारी वा जुनसुकै ठूलो पोस्ट किन नहोस्, सबैलाई सम्मान गरेको छ। काम गर्न होसला दिएको छ। यही कारण पनि हामी सबै अभिकर्ता सफल भएका छौँ’, सूर्य भन्छन्।

छोटो समयमै सूर्यले ‘हिरो अफ द मन्थ’ दुईपटक, ‘हिरो अफ द डे’ एकपटक, सिल्भर क्लब र गोल्ड क्लबजस्ता विभिन्न अवार्ड हात पारेका छन्। कम्पनीले दिने हरेक लक्ष्य पूरा गर्न उनी तल्लीन रहन्छन्।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS