काठमाडौं । जीवन बीमाका लागि बीमा गर्न चाहने प्रस्तावक, मध्यस्थकर्ता अर्थात् अभिकर्ता र बीमा कम्पनी तीनवटै पक्षको सकृय भूमिका आवश्यक हुन्छ।
कुनै पनि व्यक्तिले जीवन बीमा गर्ने सोच बनाएको अवस्थामा वा कुनै अभिकर्ताले बीमाका लागि प्रेरित गरेको अवस्था पछि जीवन बीमाको औपचारिक चरण शुरू हुन्छ।
स्वेच्छा वा अभिकर्ताको सुझावमा कुन कम्पनीबाट कस्तो बीमा योजना खरिद गर्ने भन्ने निर्णय प्रस्तावकले गर्नुपर्छ। यसरी निर्णय लिई सकेपछि आफूसँग सम्पर्कमा रहेको अभिकर्ता वा रोजेको बीमा कम्पनीको शाखा कार्यालयबाट प्राप्त हुने बीमा प्रस्ताव फारम भर्ने चरण पुरा गर्नुपर्छ। प्रस्ताव फारमसँगै ग्राहकले बीमित पहिचान फारम (केवाइसी) समेत आवश्यक विवरण भरेर बीमकलाई दिनुपर्छ।
ग्राहक पहिचानको प्रकृयाः
प्रस्तावसँगै प्राप्त केवाइसी फारमको बीमकले सबैभन्दा पहिले आवेदकको नाम, थर, लिङ्ग, उमेर, ठेगाना, पेशा, इमेल, मोबाइल नम्बर, बैंक खाता नम्बर, नागरिकता वा राष्ट्रिय परिचय पत्र नम्बर सहितको विवरण सफ्टवेयरमा प्रविष्ट गर्ने काम हुन्छ। यति काम सकिएपछि सफ्टवेयरले ग्राहक पहिचान नम्बरजारी गर्छ। र, बीमालेख जारी गर्ने बाँकी प्रकृयासँग सम्बन्धित सबै विवरणलाई यसै पहिचान नम्बरमार्फत एकीकृत हुने गरी सफ्टवेयरमा व्यवस्था गरिएको हुन्छ।
जोखिमाङ्कनको प्रकृयाः
ग्राहकले दिएको प्रस्ताव फारममा उल्लेखित विवरणको आधारमा बीमकको शाखा प्रबन्धक र जोखिमाङ्कन विभागले बीमालेख प्रस्तावमा जोडिएको जोखिमको प्रारम्भिक मूल्याङ्कन गरिदिन्छन् । र तोकिएको मापदण्ड अनुसार स्वास्थ्य परिक्षण प्रतिवेदन आवश्यक पर्ने भए स्वास्थ्य परिक्षणका लागि तोकिएको स्वास्थ्य संस्था वा प्रयोगशालामा जान सुझाव दिन्छन् ।
जोखिमाङ्कन गर्ने क्रममा बीमितको आम्दानीको श्रोत, पेशाको जोखिम, पेशाको स्थायीत्व, उमेर, स्वास्थ्य स्थिति, बीमाको उद्देश्यलगायतको पक्ष मिहिन ढंगबाट केलाएर प्रस्ताव स्वीकार्ने वा नस्वीकार्ने निर्णय गर्ने अभ्यास छ।
बीमकले पूर्व निर्धारित मापदण्ड अनुसार, स्वास्थ्य परिक्षण प्रतिवेदन आवश्यक नपर्ने बीमितको हकमा जोखिमाङ्कन(अण्डरराइटिङ्ग) को प्रकृया सम्पन्न गरिदिन्छ भने स्वास्थ्य परिक्षण प्रतिवेदन आवश्यक पर्ने हकमा प्रतिवेदन प्राप्त भएपछि सोबारे चिकित्सकीय परामर्शको आधारमा बीमा गर्ने वा नगर्ने निर्णय लिन्छन् ।
पुनर्बीमाको प्रकृयाः
जीवन बीमाको जोखिमाङ्कनमा स्वधारण(रिटेन्सन) सीमाभन्दा अधिकको बीमाङ्कको हकमा बीमकले पुनर्बीमकबाट समर्थन प्राप्त गर्नुपर्छ। बीमालेखको जोखिमाङ्कन प्रतिवेदन पुनर्बीमकलाई उपलब्ध गराइए पछि पुनर्बीमकले सहमति दिएको अवस्थामा मात्र प्रस्ताव स्वीकृत हुन्छ। अन्यथा बीमकले बीमा गर्न इन्कार गरिदिन्छ। यसबाहेक बीमकले बीमितलाई बीमाङ्क रकम घटाएर थोरै रकमको मात्र बीमा गर्न सुझाव दिन्छन् ।
बीमालेख जारी गर्ने चरणः
बीमा प्रस्ताव स्वीकार्ने निर्णय भई सकेपछि जीवन बीमकले बीमितलाई प्रथम बीमाशुल्कवापतको रकम जम्मा गर्न सूचना दिन्छ। बीमितले बीमालेखका लागि भुक्तानी गर्नुपर्ने रकम यकीन गरेर बीमकको बैंक खातामा जम्मा गरिदिनुपर्छ वा भुक्तानी दिनुपर्छ। एक लाख रुपैयाँभन्दा थोरै रकमको हकमा नगदै पनि र एक लाख वा सोभन्दा बढी रकमको हकमा बैंक खाता, चेक, डिजिटल भुक्तानी वा अनलाइन ट्रान्सफर गरेर बीमशुल्क भुक्तानी गर्नुपर्छ।
बीमालेख हस्तान्तरणः
बीमाशुल्क भुक्तानी प्राप्त गरेपछि जीवन बीमकले बीमालेख जारी गरिदिन्छ। बीमालेख जारी भएपछि बीमितलाई इमेल र एसएमएसमार्फत बीमालेख नम्बर सहितको जानकारी बीमकले दिएको हुन्छ। बीमालेखको फाइल तयार पारेर बीमित वा प्रस्तावलाई बीमा कम्पनीले प्रथम बीमाशुल्क रसिद र बीमालेख हस्तान्तरण गर्छन् । बीमित टाढा भएको अवस्थामा बीमकको कर्मचारी वा अभिकर्ता स्वयमले बीमितको घरदैलोसम्मै बीमालेख पुर्याई दिन्छन् ।
बीमाका लागि रकम भुक्तानी गरि सकेपछि बीमितले तत्कालै बीमालेखको फाइल बीमक वा अभिकर्ताबाट प्राप्त गर्नुपर्छ। फाइल नपाएको अवस्थामा बीमकको कार्यालयमा सोधीखोजी गरेर माग्नुपर्छ। नगदै भुक्तानी गरेको अवस्थामा कहिलेकाहीँ बीमकको कर्मचारी वा अभिकर्ताले व्यक्तिगत काममा यस्तो रकम प्रयोग गरेको हुनसक्छ, त्यसैले यस्तो हुन नदिन बीमित चनाखो हुनुपर्छ।
बीमालेखको जानकारीः
बीमालेखको फाइल हस्तान्तरण गर्ने क्रममा बीमितलाई बीमालेखको सेवा शर्तहरूको बारेमा विस्तारमा अभिकर्ता वा बीमाका कर्मचारीले जानकारी दिनुपर्छ। साथै बीमाशुल्क कुन कुन मितिमा र कति रकम र कसरी भुक्तानी गर्ने विषयमा पनि सजिलो गरी जानकारी गराइ दिनुपर्छ। यसो हुँदा बीमितले बीमाशुल्क भुक्तानी गर्न बिर्सने वा लाभबाट वञ्चित हुनुपर्ने अवस्था हुँदैन।
बीमावापतको सेवा सुविधाहरू दाबी गर्न बीमालेखको कागजपत्र अत्यावश्यक हुने भएकाले यसलाई बीमितले सुरक्षितरुपमा राख्नुपर्छ।